close

चिया गाउँ बन्दै हेलम्बु

चिया गाउँ बन्दै हेलम्बु

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- २ दशकपछि स्याउ फलाएर प्रख्याति कमाएको हेलम्बु गाउँपालिका अब चिया-गाउँ बन्ने भएको छ । २ वर्षदेखि बाँझो जमिनमा चिया खेती सुरु गरेका स्थानीय खेती विस्तार गर्दै स्याउपछि चिया गाउँ बनाउन जुटेका हुन् ।

 

गाउँमै रोजगारी वातावरण सिर्जना गर्दै पर्यटन प्रवर्द्धाका लागि गाउँवासीकै सक्रियतामा चिया खेती लगाइएको हो । २ वर्षअघि हेलम्बुको तिम्बुमा चियाको नर्सरी स्थापना गरी ३३ हजार बिरुवा उत्पादन गरिएको थियो । 

 

गाउँपालिकाले उत्पादन गरेको बिरुवा किसानलाई निःशुल्क वितरण गरिएपछि हेलम्बुमा चिया खेती सुरु गरिएको हो । 


सुरुमा उत्पादित बिरुवा लगेर गाउँपालिकाको वडा नम्बर १,२,४,६ र ७ का किसानले खेती लगाएका थिए । त्यतिबेला २ हेक्टर जमिनमा लगाइएको चिया खेती अहिले करिब ३ सय रोपनीमा थप खेती गरिएको छ ।

 

हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले वडा नम्बर १ मा स्थानीय आमा समूहको अगुवाइमा खेती भइरहेको जानकारी दिए । हेलम्बु गाउँपालिकाको सहयोगमा अर्थाेडक्स चिया लगाइएको हो । 

 

गाउँका किसानले चिया खेतीमा रुचि देखाएपछि गाउँपालिकाले कीर्तिपुरस्थित चिया तथा कफी विकास शाखासँग समन्वय गरी स्थलगत सम्भाव्यता अध्ययन गरेको थियो ।

 

सातासम्म गरेको अध्ययनबाट समुद्री सतहबाट १ हजार २ सय मिटरदेखि २ हजार ३ सय मिटर उचाइसम्म चिया खेती सम्भव हुने पाइएपछि चियाको नर्सरी तयार गरी बिरुवा उत्पादन गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।

 

‘सुरुमै वडा नम्बर १ मा रहेको आमा समूहले मात्रै १२ हजार बिरुवा लगेर खेती सुरु गरिएको थियो । अहिले त्यहाँ थप गरिएको छ,’ उनले भने । चिया खेती थप गर्ने क्रममा रहेकाले गाउँमै प्रशोधन केन्द्र स्थापना गर्ने योजना रहेको उनले सुनाए ।

 

अन्नबालीको उत्पादन कम हुने क्षेत्रमा विकल्पका रूपमा फलफूल तथा अन्य बालीलाई प्राथमिकता दिन थालिएको छ । अन्नबाली नहुने भएपछि जग्गा बाँझो बस्न थालेकाले यो विकल्प अपनाइएको गाउँपालिकाले जनाएको छ ।

 

खेर गएको जमिन सदुपयोग हुने र किसानको आम्दानी वृद्धि हुने हुँदा चिया खेतीमा स्थानीय होमिएका छन् । पालिकाभर चिया खेती विस्तार गरी पकेट क्षेत्र बनाएर पर्यटन प्रवर्द्धनकाे उद्देश्य राखिएको छ ।


क्यामेनिया चाइनेन सीप वैज्ञानिक नामक अर्थोडक्स प्रजातिको यो चिया एउटा बोटबाट १ देखि डेढ केजीसम्म हरियो पत्ता टिप्न सकिन्छ । झन्डै ५ केजी हरियो पत्तालाई प्रशोधन गरेपछि १ केजी तयारी चिया बन्छ ।

 

१ रोपनी क्षेत्रमा ७ सयदेखि ९ सयसम्म बिरुवा रोप्न सकिने यसको बजार भाउ प्रतिकेजी २ हजार ५ सय रुपैयाँसम्म आउँछ । पहाडी क्षेत्रमा रोपिने यो जातको चिया रोपेको ३ देखि ४ वर्षमै उत्पादन दिन थाल्छ । 


‘गाउँमै रोजगारी हुने मात्रै नभई पालिकालाई अर्थतन्त्रमा बलियो बनाउन यसले सहयोग पुर्‍याउने अपेक्षा छ,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमराज कोइरालाले भने ।