close

मायादेवीमा वातानुकूलित खोप केन्द्र

मायादेवीमा वातानुकूलित खोप केन्द्र

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको मायादेवी गाउँपालिकाले वडा नम्बर ८ बसडिलवामा वातावरण अनुकूल कक्ष (एसी) सहितको खोप केन्द्र सञ्चालनमा ल्याएको छ । गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले उक्त खोप केन्द्रको शुभारम्भ गरे ।

 

गाउँपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, खोप केन्द्र, गाउँघर क्लिनिक सञ्चालनमा रहेको उनले जानकारी दिए । स्थानीय तहको खोप केन्द्र वातानुकूल बनाइएको यो नेपालकै पहिलो केन्द्र रहेको मायादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले दाबी गरे ।  

 

जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले खोप केन्द्र समयसापेक्ष बनाइनु सकारात्मक रहेको बताउँदै कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्य सेवा प्रवाह गर्दा स्वास्थ्य सतर्कता अपनाएर काम गर्नुपर्नेमा उनले जोड दिए ।

 

खोप अधिकृत भेषराज शर्माले खोप लगाउने कक्ष वातानुकूल हुँदा नवजात शिशुदेखि अन्य बालबालिकालाई सुविधा हुने बताए । ‘सुविधासम्पन्न निजी तथा सरकारी अस्पतालको खोप लगाउने स्थानमा वातानुकूल सुविधा होला तर देशभरका स्थानीय तहको खोप केन्द्रलाई वातानुकूलित बनाइएको यो सम्भवतः पहिलो नै हो’, शर्माले भने ।


गाउँपालिकाको ८ वटा वडामा १७ वटा खोप केन्द्र र १७ वटा गाउँघर क्लिनिक सञ्चालनमा रहेको र मायादेवीको वडा नम्बर ८ को यो खोप केन्द्र प्रत्येक महिनाको १० गते सञ्चालन हुनेछ । मायादेवीका सबै वडामा रहेका खोप केन्द्र १० देखि १४ माघसम्म र गाउँघर क्लिनिक हरेक महिना १९ देखि २३ गतेसम्म सञ्चालन हुनेछन् ।


खोप केन्द्र शुभारम्भको पहिलो दिन ५९ जना शिशु एवं बालबालिकाले खोप लगाएको खोप केन्द्रमा कार्यरत अनमी अनुराधा चौधरीले बताइन् ।

 

कार्यक्रममा मायादेवी गाउँपालिका उपाध्यक्ष तारादेवी यादव, वडा नम्बर ८ का वडाध्यक्ष चोकबहादुर थापा, लेखा अधिकृत ओमेशकुमार गैरे, कोटहीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मानबहादुर कुँवरलगायतले खो पकेन्द्रमा सेवाग्रहीलाई थप सुविधा दिइनुपर्ने आवश्यकता औँल्याए ।