close

स्थानीयको अवरोधपछि रोकियो बेनी–दरवाङ सडक निर्माण

स्थानीयको अवरोधपछि रोकियो बेनी–दरवाङ सडक निर्माण

Trulli
ADVERTISEMENT

म्याग्दी– बेनी नगरपालिका–६ डम्मराका बासिन्दाले म्याग्दीका तीन वटा स्थानीय तहलाई सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडक बन्द गराएका छन् । 

ठेकेदारले मर्मत र जोखिममा परेका बस्ती संरक्षणमा बेवास्ता गरेको भन्दै उनीहरूले सडक अवरुद्ध पारेका हुन् ।

ठेकेदारले भत्काएको सडक मर्मत तथा जोखिममा परेको बस्तीको संरक्षणमा बेवास्ता गरेकाले सडक बन्द गराएर आन्दोलनमा उत्रनु परेको स्थानीय विशाल खत्रीले बताए ।

‘जथाभावी सडक निर्माण गरेका कारण दर्जनांै घर भत्कने अवस्थामा छन्,’ उनले भने, ‘हिलाम्मे सडक मर्मतमा पनि वास्ता नगरेपछि बाध्य भएर आन्दोलन गर्नु परेको हो ।’ सडक बन्द हुँदा मंगला, मालिका र धवलागिरी गाउपालिकाका बासिन्दालाई आउजाउका साथै ढुवानी प्रभावित भएको छ । 

बेनी–दरवाङ सडक स्तरोन्नति आयोजना सञ्चालन गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख नारायण पौडेलले ठेकेदार नै सम्पर्कमा नभएकाले मर्मत तथा जोखिमयुक्त ठाउँमा संरक्षणको काम गर्न समस्या भएको बताए ।

‘बल्लबल्ल डोजर अपरेटर खोजेर पल्टिन लागेको पर्खाल हटाउन पठाउँदै छौं,’ उनले भने, ‘लकडाउन भएपछि गएका ठेकेदार सम्पर्कमै छैनन् । पहिरोले छियाछिया बनाएको छ । मर्मत गर्न समस्या भएको छ ।’ 

०६३ मा ट्रयाक खुलेको करिब डेढ दशकसम्म पनि स्तरोन्नतिले पूर्णता नपाउँदा पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको यो सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । 

ट्रयाक खुलेलगत्तै तत्कालीन विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) ले करोडांै खर्चेर सञ्चालन गरेको सडक सुधारको काम प्रभावकारी हुन सकेको छैन ।

२०७४ देखि सडक डिभिजनले कालोपत्रेका लागि सुरु गरेको स्तरोन्नतिको कामले पनि गति लिन सकेको छैन । 

यात्रुहरू साँघुरो, खाल्डाखुल्डी, ग्रेड र मोड सुधार नभएको जीर्ण सडकमा जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् । २४ किलोमिटर दूरीको यो सडक पार गर्न गाडीमा ३ घन्टासम्म लाग्छ । 

बर्खामा हिलो र हिउँदमा धुलोले हैरान बनाएको छ । तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ४ असोज, २०७४ मा बेनीदेखि बाबियाचौर खण्डको १३ किलोमिटर सडक कालोपत्रे गर्न समानान्तर लामा जेभीसँग ४५ करोड ५३ लाख ७२ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । 

सम्झौताअनुसार ४ माघ २०७६ मा सकिनुपर्ने यो आयोजनाको असार मसान्तको भौतिक प्रगति करिब ५०  प्रतिशत छ । संघबाट २०७५ पुसमा प्रदेशको पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण भएको थियो । 

आयोजना ठेकेदारले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्दा काम सुस्त बनेको कार्यालयका प्राविधिकहरूले बताएका छन् । 

११ मिटर फराकिलो बनाइने सडकको सात मिटर चौडाइ कालोपत्रे गर्न लागिएको हो । लाम्पाटादेखि दरवाङ खण्डको ८ किलोमिटर खण्डको सडक कालोपत्रे गर्न २२ करोड ५७ लाख ९३२ रुपैयाँमा ०७६ जेठ ३१ मा ठेक्का सम्झौता गरेको बिरुवा–क्याराभान जेभीले पनि कामलाई गति दिन सकेको छैन ।

सोही सडकको दुखुखोलामा करिब दश वर्षपछि मोटरेबल पुल निर्माण भएको छ । बेनी–दरवाङ सडक कालोपत्रे भएमा आवत जावत र ढुवानी सहज बन्नुका साथै म्याग्दीको पश्चिमी क्षेत्रको पूर्वाधार, आर्थिक सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा छ ।