गरे के हुन्न ? यी हुन् ‘मधेशकी बुहारी’ (भिडियो खबर)


  • change font
  • change font
  • change font

सर्लाही- एकातिर देशमा बढ्दै गएको बेरोजगारी, अर्कोतर्फ स्वदेशमै केही गर्नुको सट्टा सम्पत्ति धितो राखेरै भए पनि ऋण लिएर विदेश जानेको ताँती । यो बीचमा स्वदेशमै केही गरौँ भन्ने मान्छे बिरलै फेला पर्ने गर्छन् । तर, मिहिनेत र इमानदार भएर गरे जुनसुकै पेसा पनि ठूलो हुन्छ भन्ने उदाहरण दिएकी छिन्, सर्लाहीको हरिवनकी एक उद्यमी महिलाले । 


घरभरि असरल्ल छरिएका विभिन्न साइज र डिजाइनका जुत्ता-चप्पल । अनि तिनै जुत्ता-चप्पललाई सँगालेर राखेकी मधेसकी बुहारी । समुदायको हिसाबले कोइरी अर्थात खेतीपाती उनको पुर्ख्याैली पेसा हो । 

 

घरको आँगनमा अन्नको बिस्कुन सुकाइएको छ । तर, जुत्ता-चप्पल ! यो सोचभन्दा पनि बाहिरको कुरा हो । तर, सत्य यही हो । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ४ गेल्हाकी निर्मला महतो कोइरी ३ वर्षदेखि यही पेसामा रमाइरहेकी छिन् ।

 

३ वर्षको संघर्षको कथा सम्झँदा सपनाजस्तै लाग्ने उनी सुनाउँछिन् । आफ्नो एक्लो जिद्दी र आर्थिक अभावले आफूलाई उद्यमी बनाएको उनी बताउँछिन् । खेतीपाती गर्ने प्रशस्त ठाउँ भए पनि नगद आर्जनबिना जीवन चलाउन नसकिने बुझेकी उनले गाउँमा एक संस्थाले ल्याएको तालिमलाई सदुपयोग गरेर उद्यमी बनेको बताइन् ।

 

सुरुमा हारगुहार गरेर लिएको १ लाख ऋणबाट सुरु गरेको उद्योग अहिले ५५ लाख रुपैयाँ हाराहारीमा पुगेको निर्मला महतोले जानकारी दिइन् ।


जुत्ता सिलाउने काम गर्दा उनलाई छिमेकीले घरमा आउन र उनको परिवारले छोएकोसमेत खान छाडे । तर, निर्मला आफ्नो पेसाबाट पछि हटिनन् । निरन्तर आफ्नो उद्देश्यमा लागिरहेपछि अहिले सीप सिकाइदिन गुहार गर्नेको लाइन लाग्न थालेको महतोले बताइन् ।


सुरुमा सहयोग गर्न अनकनाएका उनका श्रीमान् उमेश महतोसमेत खोतीपाती छाडेर यसै पेसामा लागेका छन् । निर्मलाले घरमा उत्पादनको काम हेर्ने र आफूले बजार र कच्चा पदार्थ ल्याउनेलगायतको कम गरिरहेको श्रीमान् उमेश महतोले बताए ।


सामान्यतया महिलाहरू उद्यममा बिरलै फेला पर्छन् । त्यसमा पनि तराई मधेस । यहाँ त झनै महिलामाथिको नियन्त्रण र बन्देजको सीमा, महिलाले उद्यम सोच्नु पनि गैरसमाजिक कार्य मानिन्छ ।

 

त्यसैलाई चिर्दै निर्मलाले देखाएको आँट सराहनीय छ । सबैले यसलाई प्रेरणाको रूपमा लिएर अघि बढ्न सके मधेसमा कोही पनि महिला घरमै सीमित हुनु पर्दैन थियो कि !