close

अमलडाँडा खालधारा खानेपानी आयोजना सम्पन्न

अमलडाँडा खालधारा खानेपानी आयोजना सम्पन्न

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीको मुसिकोट नगरपालिकाको वडा नम्बर ३ तोलादीमा अमलडाँडा खालधारा खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएको छ । लुम्बिनी प्रदेश र मुसिकोट नगरपालिकाको करिब ७२ लाख रुपैयाँको लागतमा उक्त योजना सम्पन्न भएको हो । 


आयोजना सम्पन्न भएपछि १ सय ५६ घरधुरीलाई खानेपानी सुविधा पुगेको छ । डोकोमा पानी बोकेर खोलाखोल्सी धाउनुपर्ने उपभोक्तालाई घर-घरमा धारा पुगेपछि सास्ती हटेको छ ।

 

कार्यक्रममा मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले प्रत्येक घरधुरीमा खानेपानी पुर्‍याउने गरी काम गरिरहेको बताए । मुसिकोटभित्र खानेपानी क्षेत्रमा आमूल परिवर्तन भएको दाबी गर्दै उनले कुवाबाट पाइप र सार्वजनिक धारा हुँदै घरको धारामा पानी पुर्‍याइएको जानकारी दिए ।

 

‘नगरभित्र १८ वटा खानेपानी योजना सम्पन्न भएका छन् भने १४ वटा खानेपानी योजना सञ्चालनमा छन्’, नगरप्रमुख सापकोटाले भने, ‘अबको केही समयभित्रै सबैका घरमा पानी पुर्‍याउन स्थानीयलाई प्राविधिक तालिमसहित खानेपानीको योजनामा काम भइरहेको छ ।’

 

उनले एक घर एक धाराको नीतिअनुसार नगरबासीलाई खानेपानी सुविधा उपलब्ध गराइँदै आएको बताए ।

 

प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले खानेपानी योजनालाई दिगो रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । मुसिकोट नगरपालिका बाँस शाखा प्रमुख सीता भुसालले योजनालाई आगामी दिनमा दिगो र सुरक्षित रूपमा सञ्चालन गर्दै लैजान उपभोक्तालाई आग्रह गरिन् ।

 

नगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष कर्णध्वज जिसीले वडाको योजना औपचारिक उद्घाटन गरिएको पहिलो भएको जानकारी दिए । ‘योजना सम्पन्न भएपछि अब एक घर एक धाराअन्तर्गत अगाडि बढ्छौँ’, उनले भने ।

 

कार्यक्रममा वडाध्यक्षहरू क्रमशः लक्ष्मण खत्री, ओमबहादुर खत्री, नारायण सापकोटा, कर्णध्वज जिसी, वडा सदस्यहरू शकर रायमाझी, गणेश कुँवर, नगरपालिकाका कानुनी सल्लाहकार अनन्तलाल भण्डारीलगायत सहभागी थिए ।