close

कोरोनाविरुद्धको खोपः लुम्बिनी प्रदेशलाई ३९ हजार डोज 

कोरोनाविरुद्धको खोपः लुम्बिनी प्रदेशलाई ३९ हजार डोज 

Trulli
ADVERTISEMENT

रूपन्देही- लुम्बिनी प्रदेशका लागि कोभिड-१९ विरुद्धको ३९ हजार ४ सय ९५ डोज खोप सोमबार आउँदै छ । भारतले नेपाललाई दिएको १० लाख डोज खोपमध्येबाट साढे ३९ हजार डोज लुम्बिनी प्रदेशका लागि छुट्याइएको हो ।


खोप कार्यान्वयनमा संघीय सरकारको स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य सम्बद्ध निकायबीचमा भर्चुअल माध्यमबाट छलफल भएको थियो ।


छलफलमा हृदयेश त्रिपाठीसहित मन्त्रालयका सचिव, विभागका महानिर्देशक, प्रदेश सरकारका सामाजिक विकासमन्त्री, प्रमुख सचिव, मन्त्रालयका सचिव, स्वास्थ्य निर्देशनालयका अधिकारी सहभागी थिए ।

 

छलफलमा काठमाडांैबाट लुम्बिनी प्रदेशका लागि आवश्यक खोप पठाइसकिएको जानकारी गराइएको थियो । प्रदेशका लागि कोभिड-१९ विरुद्धको भ्याक्सिन काठमाडौँबाट हिँडेको जानकारी गराइएको हो ।


मंगलबार बिहानसम्म खोप आइपुग्ने सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए । ‘यो खोप बुधबारदेखि सबै जिल्लामा पठाउन सुरु गरिनेछ’, डा पौडेलले भने ।


बैठकमा जिल्लामा खोपको आपूर्ति कसरी गर्ने, कसलाई दिने, खोपका कारण केही भवितव्य भइहाले के गर्ने भन्नेबारे समेत छलफल भएको डा. पौडेलले सुनाए ।

 

१४ माघबाट खोप कार्यक्रम सुरु गर्ने संघीय सरकारको तयारी छ । सबै सरकारी अस्पतालको खोप क्लिनिकमा कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाइनेछ ।

 

तर, खोप केन्द्र तोक्ने विषयमा गृहकार्य भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेशका लागि बुटवलमा आएको खोप सुरुमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा राखिनेछ ।

 

नेपालगञ्ज रोडमा रहेको केन्द्रमा आवश्यक चिस्यान मापन गरेर खोप राखिने केन्द्रका निर्देशक दिनेशकुमार चापागाईंले बताए । अनुदानको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रदेशमा पनि संघीय सरकारको निर्देशनअनुसार खोप लगाउने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले बताएको छ ।