close

प्रधानमन्त्री ओलीले गरे राप्ती पुलको उद्घाटन

प्रधानमन्त्री ओलीले गरे राप्ती पुलको उद्घाटन

Trulli
ADVERTISEMENT

रूपन्देही- प्रधानमन्त्री केपी ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण सम्पन्न पुलको उद्घाटन गरेका छन् । ओली नेपाली सेनाको हेलिकप्टरबाट पुल उद्घाटनका लागि राप्तीको सिसहनिया पुगेका थिए । 

 

प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, मन्त्री, प्रदेशसभा सदस्य र प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य तथा सुरक्षा निकायका उच्च अधिकारीले स्वागत गरेका थिए ।

 

प्रधानमन्त्री ओलीले राप्ती नदीमा निर्मित पुलको अवलोकनसमेत गरे । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुल उद्घाटन भएको हो ।

 

पूर्वनिर्धारित समयभन्दा ४ महिना अगाडि नै निर्माण भएको पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । करिब १ अर्ब रुपैयाँ लागतको सो पुल ४ वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । पुल निर्माणपछि देउखरी क्षेत्रका सिसहनिया-महदेवा वारपार गर्न सहज भएको छ ।

 

यसअघि बर्खायाममा स्थानीयले जोखिम मोलेरै राप्ती नदीमा डुंगाबाट वारपार गर्नुपर्ने बाध्यता थियो । पुल निर्माणसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज हुनेछ ।

 

पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । पछिल्लो समय पुल पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । 

 

दाङका मात्रै नभएर बाहिरी जिल्लाबाट समेत आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् ।

 

गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट आउँदा कालाकाटे-भालुवाङ हुँदै करिब डेढ घन्टाको सवारी साधनबाट यात्रा गर्नुपर्ने अवस्था थियो । पुल निर्माणसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिनेछ ।

 

बर्दियाको गेरुवा नदीमा पुल बनाएकै कम्पनी द एएनके लुम्बिनी वाइपी जेभीले देउखुरीको राप्ती नदीको पुल बनाउने जिम्मा पाएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २२ मंसिर २०७३ मा पुल शिलान्यास गरेका थिए ।

 

पुल उद्घाटनपछि प्रधानमन्त्री ओलीले राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।