close

यो वर्ष लुम्बिनीमा ९९ खानेपानी आयोजना बन्दै

यो वर्ष लुम्बिनीमा ९९ खानेपानी आयोजना बन्दै

Trulli
ADVERTISEMENT

नवलपरासी- लुम्बिनी प्रदेश सरकारले खानेपानीको लागि विनियोजन गरेको बजेटबाहेक थप २ अर्ब ८० करोड रुपैया थप गरे यसै वर्ष प्रदेशमा ९९ वटा ठूला खानेपानी आयोजना निर्माण हुने भएका छन् ।


आइतबार पश्चिम नवलपरासीको बर्दघाट वडा नम्बर १५ पृथ्वीबस्तीमा दाउन्नेदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको खानेपानी ट्यांकी शिलान्यास कार्यक्रममा प्रदेश सरकारका भौतिक विकास तथा पूर्वाधारमन्त्री बैजनाथ चौधरीले यस्तो जानकारी दिएका हुन् ।


मन्त्री चौधरीले लुम्बिनी प्रदेशमा ३६ अर्बको बजेट रहेकामा ८ अर्ब रुपैयाँ थप्न  संघीय सरकारसमक्ष आग्रह गरिएको बताए । उनले यस वर्ष करिव ४२ अर्बको काम गरेको दाबी गर्दै आगामी वर्ष यसलाई बढाएर ५० अर्ब रुपैयाँको पुँजीगत खर्च गर्ने गरी अघि बढेको जानकारी दिए ।


गत वर्ष कोभिड-१९ का बेलासमेत नेपालका ७ वटै प्रदेशमध्ये सबैभन्दा बढी ८६ प्रतिशत पुँजीगत बजेट खर्चिन सफल भएको दाबी उनको छ ।


कार्यक्रममा बर्दघाट नगरपालिका प्रमुख धीरज शर्मा बस्यालले बर्दघाट नगर सुगम क्षेत्रमा रहेको नगर भएर पनि सर्वसुलभ शुद्ध खानेपानी नगरका करिब ७० प्रतिशत भूगोलमा मात्र भएको जानकारी दिए । बाँकी ३० प्रतिशत भूगोलमा सहज खानेपानी पुर्‍याउने काम भइरहेको उनको भनाइ छ ।

 

दाउन्नेदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष एकदेव पाण्डेले वडाबासीलाई शुद्ध पानी खुवाउने लक्ष्य पूरा हुन लागेकामा खुसी व्यक्त गरे ।