close

गौर नगरका वडावडामा स्वास्थ्य सेवा (भिडियो)

गौर नगरका वडावडामा स्वास्थ्य सेवा (भिडियो)

ADVERTISEMENT

रौतहट- घरदैलोमै प्राथमिक स्वास्थ्य सुविधा पाइने भएपछि गौर नगरपालिका स्थानीय खुसी छन् । नगरपालिकाको प्रत्येक वडामा स्थापना भएका प्राथमिक स्वास्थ्य केन्द्रले सहज रूपमा स्वास्थ्य सेवा दिन थालेपछि गौरका स्थानीय हर्षित भएका हुन् ।

 

जनसहभागितासहित करिब ३६ लाख ६० हजार रुपैयाँ लागतको दरले पछिल्लो १ वर्षभित्र गौर नगरपालिकामा निर्माण भएका स्वास्थ्य केन्द्रका भवन सञ्चालनमा आउँदा प्रारम्भिक उपचारका लागि अन्यत्र अस्पताल पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । 


२०४८ को परिवर्तनसँगै संविधानले किटान गरेबमोजिम प्रत्येक निर्वाचन क्षेत्रमा १-१ वटा प्राथमिक स्वास्थ्य सेवा केन्द्रको विस्तार अभियान सुरु गरिएको थियो । उक्त अभियानलाई अझ विस्तार गर्दै ३ देखि ५ वटा गाविसको बीचमा पायक पर्ने ठाउँमा इलाका स्वास्थ्य चौकी र प्रत्येक गाविसमा १-१ वटा उपस्वास्थ्य चौकी स्थापना भए । 

 

हाल सबै उपस्वास्थ्य चौकीलाई स्तर वृद्धि गरी सबै वडामा (साविकको गाविसमा) १-१ वटा स्वास्थ्य चौकीबाट जनतालाई आधारभूत प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइँदै आएको छ । 


सोहीअुनसार रौतहटको प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण भएका छन् । ग्रामीण क्षेत्रका स्थानीयले सामान्य स्वास्थ्य जाँचका लागि केन्द्र धाउनुपर्ने बाध्यता हटेको छ ।

 

गौर नगरपालिकाको कार्यालयले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथिमिकतामा राखेर काम गर्दा अन्य वडामा पनि स्वास्थ्य चौकी सञ्चालनमा ल्याउने तयारी गरेको छ । हाल २ वडा मात्रै स्वास्थ्य चौकीविहीन रहेको गौर नगरपालिका प्रमुख अजय गुप्ताले बताए ।


स्थानीयले सामान्य रुखाखोकी, झाडापखाला, टाउको दुख्ने, विभिन्न खोप लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । टोलमै सेवा-सुविधा पाएपछि सहज भएको स्थानीय प्रकाश केशरी सुनाउँछन् ।

 

स्वास्थ्य चौकी इन्चार्जले जिम्मेवारीअनुसारको काम गर्दै आएको बताएका छन् । हाल नेपालभरका सबै स्वास्थ्य चौकीहरू सीमित स्रोत-साधनबाट एउटै प्रणालीमा चलिरहेका छन् ।

 

जनताले राज्यले लगानी गरेअनुसारको सेवासुविधा पाउन सकिरहेका छैनन् । यसतर्फ तीनै तहका सरकारले ध्यान दिन आवश्यक छ ।