close

जुम्लामा स्याउकाे बिरुवा रोप्ने चटारो

जुम्लामा स्याउकाे बिरुवा रोप्ने चटारो

Trulli
ADVERTISEMENT

जुम्ला- यतिबेला जुम्लाका स्याउ कृषक बगैचा व्यवस्थापनमा जुटेका छन् । यहाँ माघ महिनादेखि स्याउका बिरुवा रोप्ने सिजन सुरु भएको छ ।

 

स्याउका बिरुवा जिल्लाभित्र र बाहिर निर्यात हुन थालेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन जुम्ला र बागवानी अनुसन्धान केन्द्र राजीकोट जुम्लाले बिरुवामा हुनुपर्ने गुणस्तरबारे मापदण्ड तय गरेको हो ।


हिउँदे फलफूल नर्सरी तथा व्यवस्थापन मापदण्ड, २०७७ अनुसार मापदण्ड पुगेका बिरुवा मात्र खरिद बिक्री गर्न कृषकलाई आग्रह गरिएको स्याउ सुपरजोन जुम्लाका प्रमुख नवराज भण्डारीले बताए । 


यस्तो छ मापदण्ड 


बिरुवाको उचाइ कम्तीमा ६० सेन्टिमिटर हुनुपर्ने, बिरुवाको मोटाइ कम्तीमा ३ सेन्टिमिटर भएको हुनुपर्ने र कलमी गरेको भागको उचाइ जमिनी सतहबाट कम्तीमा १० सेन्टिमिटर भएको हुनुपर्नेछ । 


त्यस्तै, रुटस्टक र सायन जडान भएको स्थानको घाउ ३-४ सेन्टिमिटर हुनुपर्ने, स्पष्ट रूपमा स्याउको जात खुलेको हुनुपर्ने र बिरुवाको जरा कुहिएको हुन नहुने मापदण्ड छ ।

 

भुवादार लाही किराको आक्रमणले जरामा तिर्खा भएको हुन नहुने, बोक्रा खुइलिनेलगायत अन्य रोग तथा किरा लागेको हुन नहने मापदण्ड रहेको प्रमुख भण्डारीले जानकारी दिए । 


५० प्रतिशत गुणस्तरहीन बिरुवा 


१ सय १० वटा नर्सरी रहेको जुम्लामा ७५ नर्सरीले सक्रिय रूपमा स्याउ बिरुवा उत्पादन गरिरहेका छन् । सुपरजोन जुम्लाका प्रमुख भण्डारीका अनुसार जुम्लामा स्थानीय जातको स्याउका ७ लाख बिरुवा छन् । तर, यसमा ५० प्रतिशत बिरुवा गुणस्तरहीन भेटिएका छन् ।


गुणस्तरहीन बिरुवाले ५ वर्षपछि कृषकलाई नै घाटा हुने हुँदा अहिले नै सचेत हुन आवश्यक रहेको उनको सुझाव छ । स्याउ बिरुवा स्थानीय कृषकको प्रमुख आम्दानीको स्रोत रहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए ।

 

हाल जिल्लाको सिंजा र गुठीचौर क्षेत्रबाट स्याउ निर्यात भइरहेको छ । ३ हजार ८ सय हेक्टरमा स्याउ खेती थालिएकामा १ हजार ५ सय हेक्टरका स्याउले फल दिन थालेका हुन् ।