close

२५ हजार नहुँदा टुटेको वडाध्यक्षको संगीत

भन्छन्ः पहिला संगीतको मायाले बाँचे, अहिले फाेटाे र जनताको

२५ हजार नहुँदा टुटेको वडाध्यक्षको संगीत

भन्छन्ः पहिला संगीतको मायाले बाँचे, अहिले फाेटाे र जनताको

Trulli
ADVERTISEMENT


 

 

डडेल्धुरा– देशमा संघीयता लागू आएपछि निर्वाचनको माहोल तात्यो । थुप्रै रोजगारी छाडेर निर्वाचनमा होमिए । कोही निर्वाचन जितेर विभिन्न पदका ओहोदामा पुगेका छन् भने कतिपय अब आउने चुनावको तयारीमा जुटेका छन् ।


डडेल्धुरामा पनि शिक्षक, विद्यार्थी, पत्रकार, कलाकार तथा विभिन्न संघसंस्थामा आबद्ध नागरिक चुनावमा उमेदवार बनेका थिए । त्यसैमध्येका सांगीतिक क्षेत्रमा बिट मार्दै राजनीतिमा आएर वडाअध्यक्ष बनेका हुन्, अमरगढी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मनोरथ खडायत ।


खडायत सुदूरपश्चिमका चर्चित देउडा गायक हुन् । सुदूरपश्चिम र कर्णाली प्रदेशको मौलिक पहिचान बोकेका दर्जन बढी देउडा गीतमा उनले आवाज दिएका छन् ।


खडायतका ‘माघ छाडी फागुनका मैना, पीपल पाते लै लै, सिमल फुल्लै रन्छ सुवा, भेट होला कि कैलै’, ‘ओ बउजु तमरा माईत आम पाक्या गल्गली’, ‘चेतकी कात्तरी रैगै अईल पडी फाम’, ‘अग्गास उडन्या मौरी फूल पाया बसिजा’ लगायत गीत चर्चामा छन् ।


देउडाबाटै सुदूरपश्चिमबासीको मनमुटुमा बस्न सफल खडायतले पछिल्लो समय भने गीत बजारमा ल्याएका छैनन् । गीत बजारमा नल्याएपछि पछिल्लो समयका पुस्ताले उनलाई कलाकार भन्दा पनि वडाध्यक्षको रूपमा चिन्ने गरेका छन् ।


सांगीतिक क्षेत्रबाट चर्चामा आएका खडायत एकाएक हराएपछि उनका गीतपारखीले खोजिरहेका छन् । लामो समयसम्म गीत बजारमा नआएपछि अहिलेका पुस्ताले मलाई कलाकार हो र भनेर प्रश्नसमेत गर्न थालेको स्वयं खडायत बताउँछन् ।


२०५३ देखि गायन क्षेत्रमा लागेका खडायतका दर्जनभन्दा बढी गीत बजारमा आएका छन् । उनले यो क्षेत्र छाडेको १५–१६ वर्षभन्दा बढी भइसकेको छ । उनी आर्थिक अभावका कारण कलाकारिता छाडेको बताउँछन् ।

 

गाउँको सामान्य गरिब परिवारमा जन्मिएका थिए, खडायत । बुबाआमाले खेती किसानी गरेर साँझ–बिहानको छाक टार्थे । सांगीतिक क्षेत्रमा लागे पनि गीत रेकर्ड गर्ने पैसा नभएर कतिपय गीत रेकर्डसमेत गर्न नसकेको विगत उनीसँग छ ।


आर्थिक अभावका कारण सांगीतिक क्षेत्र छाडेको उनले बताए । ‘डडेल्धुराबाट गीत रेकर्ड गराउन काठमाडौं जाँदा पैसा नभएर अरूसँग मागेर चलाउनुसमेत प¥यो’, उनले भने ।


गीत गाउन पहिलोचोटि काठमाडौं आएका खडायत बबरमहल नजिकै रहेको रिमा स्टुडियोमा पसे । बजारमा गीत आउला र सबैले चिनून् भनेर मनमा सोचे । डडेल्धुराबाट काठमाडौं जाँदा २ हजार ५ सय रुपैयाँ बोकेका उनलाई स्टुडियो मालिकले गीत रेकर्ड गराउन २५ हजार रुपैयाँ लाग्छ भनेपछि खडायतको सपना छिनभरमै चकनाचुर भयो ।

 

डडेल्धुराको भागेश्वरका भेषराज पन्तका एक जना साथी काठमाडौंमा पढिरहेका थिए । पन्तले उनलाई सहयोग गरे । एक दिन काठमाडौंको टुँडिखेलमा द रेयुकाइ संस्थाको कार्यक्रम थियो । त्यस कार्यक्रममा खडायतले गीत गाउँदा सुदूरपश्चिमका थुप्रै साथीहरूले ताली बजाएको उनी सुनाउँछन् ।

 

त्यसपछि खडायतको स्वर सुनेर उनलाई गीत गाउन हौसला दिए । सबैले गीत निकाल्न आर्थिक सहयोग गरे । त्यसैको प्रतिफल थियो– ‘पीपलपाते लै लै’ बोलको गीत, जुन बजारमा पनि ल्याए ।

 

थुप्रै गीत बजारमा ल्याउँदा पनि घरपरिवारको आर्थिक खर्च नचल्ने भएपछि उनले व्यवसाय गर्ने विचार गरे । आर्थिक समस्याकै कारण उनले पढाइ पनि बीचमै छाडे ।

 

घरपरिवारको सबै कुरा चलाउन समस्या भएपछि व्यवसायमा लागेका उनी विस्तारै सांगीतिक क्षेत्रबाटै हराए । खडायत भन्छन्, ‘इच्छा हुँदाहुँदै पनि आर्थिक अभावका कारण सांगीतिक क्षेत्र छाड्न बाध्य भएँ ।’

 

आर्थिक अवस्थाले कलाकारिता क्षेत्रमा धेरै ठूलो प्रभाव पार्ने उनी बताउँछन् । पैसा, सवारी साधन र राम्रो कोट लगाए मात्र सबैले विश्वास गर्ने उनको भोगाइ छ । ‘सामान्य ज्याकेट लगाएर स्टेजमा जाँदा दर्शकले गीत नै सुन्दैनन्’, उनी भन्छन्, ‘आफूसँग जस्तोसुकै प्रतिभा भए पनि पैसा छैन भने काम छैन ।’


सांगीतिक क्षेत्र छाडेको १५–१६ वर्षपछि फेरि उनलाई बजारमा गीत ल्याउने रहर जागेको छ । आफूले गाएका पुराना गीतलाई फेरि रेकर्ड गरेर नयाँ तरिकाले भिडियोसहित बजारमा ल्याउने योजना रहेको खडायतले सुनाए ।

 

‘मनोरथ खडायत अहिले पनि जिउँदै छ । अमरगढी वडा नम्बर २ का वडाध्यक्ष भएर जनताका लागि काम गरिरहेको छ’, उनले भने, ‘मेरो गीतको पर्खाइमा बसेका श्रोताका लागि भए पनि बजारमा गीत ल्याउँछु,’ उनले भने ।

 

अहिले सुदूरपश्चिमका मेला, महोत्सवमा समेत स्थानीय देउडा भाका गाउने कलाकारको संख्या ह्वात्तै घटेको उनी बताउँछन् । त्यतिबेलाका गीत म्युजिकबिनाका हुने भए पनि सुनौँ–सुनौँ लाग्ने किसिमका भएको उनको अनुभव छ ।


गायकबाट फोटो व्यवसायी


डडेल्धुराको अमरगढी वडा नम्बर ५ भीमदत्त चोकमै उनले कोनिका फोटो स्टुडियो सञ्चालन गरी सफल युवा व्यवसायीको रूपमा चिनिन थालेका छन् । सांगीतिक क्षेत्र छाडेर व्यवसायतिर लागेका उनले आफ्नो घरपरिवार त्यसैबाट धानिरहेका छन् ।


उनले व्यवसाय सँगसँगै राजनीतिक यात्रासमेत सुरु गरेका छन् । जिल्लामा सबैभन्दा उत्कृष्ट फोटो खिच्ने स्टुडियो भनेर पनि उनको कामको तारिफ हुने गरेको छ ।


सांगीतिक क्षेत्र छाडेपछि उनले आफ्नो जीविकोपार्जनदेखि लिएर सम्पूर्ण परिवारको जीवन यसैबाट चलाइरहेका छन् । खडायत भन्छन्, ‘देख्नेले मलाई धेरै धनी भनेर सोच्ने गर्छन् तर अरूले सोचेजस्तो धनी म छैन ।’


स्थानीयले विकासको अनुभूति गर्न पाए


संगीत र व्यवसाय मात्र होइन, उनी राजनीतिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । खडायत लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध छन् । उच्च राजनीतिक चरित्र भएका इमानदार नेताका रूपमा डडेल्धुरामा चिनिने गरेका छन्, खडायत ।


व्यक्तिगत स्वार्थलाई बिर्सेर राजनीतिमा सक्रिय खडायतले जिल्लामा लोकप्रिय छवि बनाएका छन् । उनले देशमा आएका हरेक राजनीतिक परिवर्तनमा जिल्लामा बसेरै नेतृत्वदायी भूमिका खेलेका छन् ।


व्यक्तिगत जीवनभन्दा जनसेवालाई नै महत्त्व दिने उनी २०७४ को स्थानीय तहको चुनावमा कांग्रेसबाट वडाध्यक्ष पदका लागि निर्वाचन लडेका थिए । खडायतले तत्कालीन नेकपा एमालेका नेतालाई भारी मतले पराजय गरेर अमरगढी नगरपालिका वडा नम्बर २ का वडाध्यक्षमा विजय भएका थिए ।


वडाध्यक्ष भएर आइसकेपछि स्थानीयले विकासको अनुभूति गर्न पाएको दाबी खडायतको छ । ‘अहिले वडामा रहेका प्रत्येक गाउँमा बाटो निर्माण भएको छ । वडालाई तरकारी पकेट क्षेत्रको रूपमा चिनाउन कृषिलाई पहिलो प्राथमिकता दिएर अगाडि बढेका छौँ’, उनले भने ।


अमरगढी वडा नम्बर २ को लेकाली बस्ती मडुवामा यातायात र उत्पादित वस्तु बजारमा ल्याउन समस्या देखिएपछि सडकलाई पहिलो प्राथमिकता दिएर त्यस क्षेत्रमा सडक निर्माण गर्ने योजना बनाएको उनको धारणा छ ।


अहिले जनप्रतिनिधिले सडक निर्माणलाई प्राथमिकता दिने गरे पनि आफूले अन्य आवश्यकतातिर पनि ध्यान दिने गरेको दाबी खडायतको छ । देशमा युवा बेरोजगारी समस्या रहेकाले आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम दिँदै आएको उनले बताए ।