close

ताप्लेजुङका जनतालाई ४ हजार डोज

ताप्लेजुङका जनतालाई ४ हजार डोज

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङमा पहिलो चरणका लागि ३ हजार ९ सय २० जनालाई पुग्ने कोरोनाविरुद्धको खोप आइपुगेको छ । यो खोपमध्ये पहिलो चरणमा कोरोनाविरुद्ध अग्रभागमा खटिने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी, एम्बुलेन्स चालक÷सहचालक र सफाइ कर्मचारीलाई खोप लगाइनेछ ।

 

स्वास्थ्य कार्यालयले १५ देखि २४ माघसम्म स्वास्थ्यकर्मीलाई खोप लगाउने योजना बनाएको छ । मंगलबार बसेको खोप समन्वय समिति बैठकले ताप्लेजुङ जिल्ला अस्पतालमा रहेको संस्थागत खोप केन्द्रमार्फत पहिलो चरणको कोरोनाविरुद्धको खोप लगाउने गरी कार्यतालिका तयार गरेको हो ।

 

निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेलका अनुसार जिल्ला अस्पतालको खोप केन्द्रबाहेक अन्य केन्द्र निर्धारण गर्नुपर्ने भए स्वास्थ्य कार्यालयल र जिल्ला अस्पतालले यसको निक्र्योल गर्ने जिम्मेवारी पाएका छन् । पोखरेलका अनुसार ताप्लेजुङमा स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, एम्बुलेन्स चालक÷सहचालक गरी १ हजार ५ सय ५ जनाको अभिलेख तयार भएको छ ।


८ सय ५५ जना महिला स्वास्थ्य स्वयंसेविका छन् । प्रारम्भिक अभिलेख मात्र तयार भएकाले स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, एम्बुलेन्सका चालक÷सहचालकको संख्यामा केही घटबढ हुन सक्ने निमित्त स्वास्थ्य प्रमुख पोखरेलले जानकारी दिए ।

 

खोपको समन्वय तथा सहजीकरणका लागि जनस्वास्थ्य अधिकृत प्रतिमा खरेल र ताप्लेजुङ जिल्ला अस्पतालका कृष्णभक्त श्रेष्ठलाई जिम्मा दिइएको छ । पहिलो चरणमै खोप लगाउनुपर्ने प्राथमिकतामा परेका सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको संख्या एकिन गर्ने कार्यसमेत सुरु भएको छ ।

 

जनस्वास्थ्य अधिकृत खरेलले पहिलो चरणमा खोप लगाउने सुरक्षाकर्मीको संख्या अद्यावधिक कार्य बुधबारभित्र पूरा हुने जानकारी दिइन् । उनका अनुसार १ भाइलमा १० जनालाई लगाउन मिल्ने खोपको मात्रा हुन्छ । यो भाइल खोलेको बढीमा ६ घन्टाभित्र लगाइसक्नुपर्ने भएकाले प्रत्येक १० जनाको टोली तयार भएपछि खोप प्रयोग गरिनेछ ।

 

यसबाहेक एउटा केन्द्रमा दैनिक बढीमा १ सय ५० जनालाई मात्र खोप लगाउन सकिने भएकाले खोप केन्द्र थपघटको निर्णय तोकिएका २ जना सम्पर्क व्यक्तिको समन्वयमा स्वास्थ्य कार्यालय र ताप्लेजुङ जिल्ला अस्पतालले गर्नेछन् ।