close

बागलुङ आइपुग्यो कोरोना खोप

बागलुङ आइपुग्यो कोरोना खोप

Trulli
ADVERTISEMENT

बागलुङ– प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रदेशका सबै जिल्लामा कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्ड पठाउन सुरु गरेको छ ।


सोमबार प्रदेशका ४ जिल्लामा खोप पुगेको छ । भारतले सहयोगस्वरूप नेपाल सरकारलाई केही दिन पहिले उपलब्ध गराएको ‘कोभिसिल्ड’ भ्याक्सिन बाग्लुङमा पनि आइपुगेको हो ।


केन्द्रका अनुसार बागलुङ, स्याङ्जा, पर्वत, म्याग्दीमा सोमबार खोप पुगेको हो । प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको भ्याक्सिन स्वास्थ्य कार्यालयको जिम्मामा रहनेछ ।

 
प्रदेश सरकारले बागलुङका लागि पठाएको १ हजार ९ सय ९६ डोज कोरोना भाइरसविरुद्धको भ्याक्सिन सोमबार सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले स्वास्थ्य कार्यालय बागलुङलाई हस्तान्तरण गरे ।


प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले भ्याक्सिन सुरक्षित रूपमा बागलुङ ल्याएको थियो । गण्डकी प्रदेश सरकारले जिल्लाका लागि पठाएको भ्याक्सिन पहिलो चरणमा स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकालाई लगाइनेछ ।


‘जिल्लाभर पहिलो चरणमा १ हजार ७ सय १४ जना स्वास्थ्यकर्मी तथा स्वयंसेविकालाई लगाइनेछ,’ स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत–व्यक्ति देवप्रकाश घिमिरेले भने, ‘अहिले एउटा मात्रै खोप केन्द्र जिल्लामा सञ्चालन हुनेछ ।’


१४ माघदेखि खोप दिन सुरु गरिनेछ । धौलागिरि अस्पताल खोप केन्द्रमा सबै स्वास्थ्यकर्मी र स्वयंसेविकाले खोप लिने उनले बताए ।


स्याङ्जामा १ हजार ४ सय ८६ जनालाई खोप लगाइनेछ । पर्वतमा १ हजार १ सय १९ जना र म्याग्दीमा ८ सय १८ जनालाई खोप लगाउन सोमबार नै खोप त्यहाँ पु¥याइएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काले बताए ।


जिल्लामा पहिलो चरणमा खोप लगाउनेको संख्याभन्दा १० प्रतिशत खोपको मात्रा बढी पठाइएको खड्काले जानकारी दिए । प्रदेशका बाँकी जिल्लामा मंगलबार खोप पुर्‍याइनेछ ।


‘१८ माघभित्र सबै जिल्लामा खोप लगाइन्छ,’ खड्काले भने, ‘खोप केन्द्र निर्धारण भइसकेका छन् ।’ कास्कीमा ४ वटा खोप केन्द्र तोकिएको छ भने बाँकी १० जिल्लामा १–१ वटा खोप केन्द्रमार्फत खोप दिइनेछ ।