close

गाेठमा दुहुनाे भैँसी छ भने हातहातै पाइन्छ २० हजार अनुदान

गाेठमा दुहुनाे भैँसी छ भने हातहातै पाइन्छ २० हजार अनुदान

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ सानोसिरुवारीका १ सय २५ किसानले दुहुनो भैँसी पालेबापत अनुदान पाउने भएका छन् ।

 

साना किसानलाई व्यावसायिक बनाउने लक्ष्यअनुरूप वडा कार्यालयले प्रतिकिसान २० हजार रुपैयाँका दरले अनुदान दिन लागेको हो ।


नगरपालिकाले चालू आर्थिक वर्षमा भैँसीपालन अनुदानका लागि विनियोजन गरेको २५ लाख रुपैयाँबाट अनुदान वितरण गर्नेछ । फार्म सञ्चालन गरेर व्यावसायिक भै‌ँसीपालकले मात्रै अनुदान पाइरहेकाले साना किसान मर्कामा परेको गुनासोपछि एउटा मात्रै भैँसी पाल्नेलाई पनि हौसलास्वरूप अनुदान दिने निर्णय गरिएको वडाध्यक्ष उमाप्रसाद दुलालले जानकारी दिए ।


वडा कार्यालयले भैँसीपालक किसानलाई अनुदान रकम दिन गठन गरेको छनोट समिति निर्णयको आधारमा १ सय २५ किसानसँग सम्झौता गरिएको छ । वडाध्यक्ष दुलालले यसबाट वडामा दूधको उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको बताए ।


वडाले गत वर्ष १६ जना र त्यसअघिको वर्षसमेत ४० जना किसानलाई सो अनुदान दिइसकेको छ । ‘यसअघि अनुदान रकम नपाएका किसानलाई यस पटक प्राथमिकता दिइ अनुदान वितरण गर्नेछौँ’, अध्यक्ष दुलाल भन्छन्, ‘अनुदान दिन बाँकी रहेका किसानलाई अर्काे वर्ष प्राथमिकतामा राखिनेछ ।’

 

लैनो भैँसी पालेर डेरीमा वा पसलमा नियमित दूध बिक्री गरिरहेका किसानलाई मात्रै अनुदान रकम दिइएको उनले बताए । वडाभरिमा २ सय १० वटा भैँसी रहेको र ती सबैलाई पालैपालो अनुदानको दायरामा ल्याइने कार्यालयको योजना छ ।


दुधालु भैँसी पालिरहेका किसान यस्तो कार्यक्रमले उत्साह थपेको बताउँछन् । ‘परम्परा धान्न मात्र भैँसी पाल्ने गरेका हामीलाई यस्ता अनुदान कार्यक्रमले व्यावसायिक रूपमै भँैसीपालन गर्न उत्साह दिएको छ,’ स्थानीय किसान यमनाथ दुलालले भने ।


सुरुमा प्रतिभैैैँसी २५ हजारका दरले १ सय वटा भैँसीपालकलाई अनुदान दिइने भनिए पनि किसानको उत्साहजनक उपस्थितिका कारण रकम घटाएर भैँसीको संख्या बढाइएको थियो । अनुदान रकम स्थानीय मैत्री साना किसान सहकारी संस्थामार्फत वितरण हुनेछ ।