close

इस्माका ५ वटा वडामा सुविधासम्पन्न स्वास्थ्य चौकी

इस्माका ५ वटा वडामा सुविधासम्पन्न स्वास्थ्य चौकी

Trulli
ADVERTISEMENT

गुल्मी– गुल्मीको इस्मा गाउँपालिकाका ५ वटा वडामा सुविधासम्पन्न स्वास्थ्य चौकी निर्माण भएका छन् । वडा नम्बर ३ र ४ मा निर्माण गरिएका २ स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ ।

 

वडा नम्बर १, ३, ४, ५ र ६ मा नयाँ स्वास्थ्य चौकी भवन निर्माण भएका छन् । वडा नम्बर २ को स्वास्थ्य चौकी भवन छैन । अहिले वडा कार्यालयबाटै स्वास्थ्य चौकी सञ्चालन भएको गाउँपालिका प्रमुख लक्ष्मण विष्टले बताए ।

 
पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरे । विगतमा सिटामोल खान ५ घन्टा हिँडेरै तम्घास पुगेको स्मरण उनले गरे । देशभरका १ सय स्वास्थ्य चौकीको कोटा हुँदा १ निर्वाचन क्षेत्रका प्रत्येक वडामा स्वास्थ्य चौकीका भवन योजना समावेश गरिएको उनको भनाइ छ ।

 

दर्लामचौर स्वास्थ्य चौकी भवन काठमाडाैं–सिद्धबाबा जेभीले २ करोड ३४ लाख रुपैयाँमा निर्माण गरेको स्वास्थ्य चौकी इन्चार्ज गोकर्ण थापाले जानकारी दिए ।


त्यस्तै, दोहली स्वास्थ्य चौकी श्रेष्ठ कन्स्ट्रक्सनले १ करोड ३१ लाख रुपैयाँमा पूरा गरिएको निर्माण व्यावसायी हरिकुमार श्रेष्ठले बताए । कोरोना संक्रमण भए पनि समयमै स्वास्थ्य चौकी निर्माण गरेको भन्दै श्रेष्ठलाई स्वास्थ चौकीका तर्फबाट पूर्वमन्त्री विष्टले सम्मान गरे ।

 

भवन निर्माण अभावमा दुबै वडाका स्वास्थ्य चौकी जीर्ण थिए । दर्लामचौर स्वास्थ्य चौकीमा सोमबार नै सुत्केरी भएकी महिलालाई सुत्केरी भत्ता वितरण, जग्गा प्रदान गर्ने परिवार र महिला स्वयंसेविकालाई पनि सम्मान गरियो ।

 

सोही अवसरमा इस्मा गाउँपालिका वडा नम्बर ३ का गोकर्ण नेपालीले निर्माण गरेको नेता विष्टको स्केच हस्तान्तरण गरिएको थियो । कार्यक्रममा पूर्वमन्त्री विष्टले आफूहरु नै संस्थापन पार्टी भएको जिकिर गरे । ४ सय ४१ जना केन्द्रीय सदस्यले पार्टी र सूर्य चिह्न पाएकाले बाँडिएका केन्द्रीय सदस्यसहितको समूहको विरुद्धमा निर्वाचन आयोगले फरक फैसला गरिदिएको उनले बताए ।

 

उनले भने, ‘७० वर्ष लडेर निर्माण गरेको पार्टी र लोकतन्त्र कुनै व्यक्ति विशेषबाट मर्न दिँदैनौँ ।’ केपी ओली नेतृत्वको सरकाले संविधानमा नभएको अधिकार हातमा लिएर प्रतिनिधिसभा विघटन गरेको आरोप विष्टको छ ।