close

सीपमूलक र क्षमता विकास कार्यक्रम सञ्चालन गर्दै सिरिजंघा

सीपमूलक र क्षमता विकास कार्यक्रम सञ्चालन गर्दै सिरिजंघा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– सीपमूलक र क्षमता विकास कार्यक्रम सञ्चालन गर्न ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले विषयविज्ञ प्रशिक्षक मागेको छ । विभिन्न ११ वटा तालिम सञ्चालनका लागि गाउँपालिकाले प्रशिक्षकको सूचीमा सूचीकृत हुन आह्वान गरेको हो । 

 

आवश्यक योग्यता भएका इच्छुक व्यक्तिले २१ माघभित्र गाउँपालिकाको रोजगार शाखामा विषयविज्ञ प्रशिक्षकका लागि सूचीकृत भइसक्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।

 

गाउँपालिकाले ३० दिने स्थानीय खाँडी, अल्लो तथा ढाका कपडा उत्पादन, बुनाइ तालिमसम्बन्धी तालिम, फर्निचर तालिम, मोबाइल मर्मत, स्थानीय छालाजन्य सामग्री प्रयोग गरी जुत्ताचप्पल उत्पादन, विद्युत् वायरिङ तालिम र स्थानीय कृषिजन्य औजार उपकरण खुकुरी, कुटो–कोदालो, चुलेसी आदि उत्पादनसम्बन्धी तालिम रहेका छन् ।

 

यस्तै, ७ दिने नेतृत्व तथा क्षमता विकाससम्बन्धी तालिम र मेलमिलापकर्ता लक्षित मेलमिलापसम्बन्धी आधारभूत तालिम र १५ दिने स्थानीय सीप तथा सामग्री प्रयोग गर्दै स्यानिटरी प्याड उत्पादनसम्बन्धी तालिमका लागि विज्ञ प्रशिक्षकलाई सूचीकृत हुन आह्वान गरिएको हो ।

 

गाउँपालिकाको नियमित गाउँसभा अधिवेशनले चालू आर्थिक वर्ष २०७७/७८ मा सीपमूलक क्षमता विकास तालिम सञ्चालनका लागि बजेट व्यवस्था गरेको थियो ।