close

सुत्केरी बचाउन वडाध्यक्षले आँगनमै उतारे हेलिकप्टर

सुत्केरी बचाउन वडाध्यक्षले आँगनमै उतारे हेलिकप्टर

Trulli
ADVERTISEMENT

कालीकोट– कालीकोटको पलाता गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष वीरबहादुर बमले घरको आँगनमै हेलिकप्टर उतारेर एक सुत्केरी महिलाको ज्यान जोगाएका छन् ।

गाउँपालिकाको दुर्गम वडा नम्बर ५ की २२ वर्षीया निरु विकले बच्चा जन्माउन नसकेपछि अत्यधिक रक्तश्राव भएको थियो । मृत्युको दोसाँधमा रहेकी विकलाई वडाध्यक्ष बमले उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेका हुन् ।

 

पेटमै मरेको बच्चा जन्माएकी निरुको २ दिनपछि अत्यधिक रगत बग्न थालेपछि गाउँमै उपचार सम्भव थिएन । स्वास्थ्य संस्थामा पुर्याइए पनि उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको उनका आफन्तले बताए ।

 

बच्चा जन्माइसकेपछि अत्यधिक रगत बगेर ज्यान जाने खतरा भएसँगै वडाध्यक्ष बमले पलाता वडा नम्बर ५ मा रहेको निरुको घरमै हेलिकप्टर उतारेर उद्धार गरेका हुन् । ‘गृहमन्त्री रामबहादुर थापा सवार हेलिकप्टरबाट सुत्केरीको उद्धार गरिएको हो’, वडाध्यक्ष बमले भने, ‘प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएपछि सुत्केरीको उद्धार सम्भव भएको हो ।’

 

नागरिकको सेवा गर्नु जनप्रतिनिधिको दायित्व भएकाले सुत्केरीको ज्यान बचाउन पहल लिएको वडाध्यक्ष बमले सुनाए । यसअघि कर्णालीमा समयमै उपचार नपाउँदा सयौँ सुत्केरी आमाको ज्यान जाने गरेको थियो । अहिले राष्ट्रपति उत्थान कार्यक्रम आएपछि केही रोकिएको बमले बताए ।