close

गृहजिल्लामा अर्थमन्त्रीको उद्घोष : निर्वाचन रोक्ने तागत कसको ? 

गृहजिल्लामा अर्थमन्त्रीको उद्घोष : निर्वाचन रोक्ने तागत कसको ? 

Trulli
ADVERTISEMENT

रूपन्देही- अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको दाबी गरेका छन् । भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा प्रेस संगठन नेपालले गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले कतिपयलाई अझै पनि संसद् पुनर्स्थापना हुन्छ कि भन्ने भ्रम रहेको भन्दै संविधानबमोजिम नै प्रतिनिधिसभा विघटन भएकाले पुनर्स्थापना हुनै नसक्ने ठोकुवा गरे ।

 

अर्थमन्त्री पौडेलले भने, ‘मुलुक निर्वाचनतर्फ अग्रसर भइसकेको छ । सबै दलले कुनै भ्रम नपाली निर्वाचनमा जानुको विकल्प छैन ।’


अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेकाले अदालतबाट आउने फैसलालाई भने सम्मान गर्ने बताए । रूपन्देही क्षेत्र नम्बर २ का निवर्तमान सभासद्समेत रहेका पौडेलले तोकिएकै मितिमा निर्वाचन सम्पन्न भई र आफ्नो दल जनताबाट अनुमोदित हुने विश्वास व्यक्त गरे ।

 

‘१७ र २७ वैशाखमा निर्वाचन हुन्छ । यसका लागि कसैले भ्रम पाल्नु जरुरी छैन’, अर्थमन्त्री पौडेलले भने । उनले निर्वाचनको तयारी गर्न अदालतको फैसला कुर्न नपर्ने उल्लेख गर्दै लोकतन्त्रमा विश्वास गर्नेले निर्वाचनको विरोध नगर्ने बताए । 

 

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सडक आन्दोलनमा जानुको कुनै औचित्य नभएको उनको जिकिर छ । 

 

‘सरकारले प्रतिनिधिसभा विघटन गरिसकेपछि परेको मुद्दाको छिनोफानो सर्वोच्चबाट हुने हो । त्यसैले यो विषय सरकारको क्षेत्राधिकारभित्र पर्दैन । अतः सरकार र अदालतविरुद्ध आन्दोलन गर्नु कुनै पनि हिसाबले उचित छैन’, अर्थमन्त्री पौडेलले भने ।

 

निर्वाचन आयोगले चुनावको तयारी अगाडि बढाएको र सुरक्षा निकाय पनि सोहीअनुसार अगाडि बढिसकेकाले अब निर्वाचन रोक्ने तागत कसैसँग नरहेको अर्थमन्त्री पौडेलको दाबी छ ।