close

परोपकारी संस्थामा गोलमाल, बाल संगठनमा अनियमितताका चाङ

परोपकारी संस्थामा गोलमाल, बाल संगठनमा अनियमितताका चाङ

Trulli
ADVERTISEMENT

जुम्ला- बालबालिकाको हकहित र कल्याणका लागि काम गर्ने लक्ष्यसहित २०२१ मा नेपाल बाल संगठन स्थापना भएको हो । ५० वर्षको अवधि पार गरेको संगठनको जुम्ला जिल्ला कार्यसमितिले अहिलेसम्म के काम गरिरहेको छ भन्ने कुनै लेखाजोखा छैन । 

 

बालबालिकाको बौद्धिक क्षमता अभिवृद्धि गर्ने लक्ष्य बोकेको संगठन केही व्यक्तिको मागी खाने भाँडो बनेको जुम्लाका समाजसेवी गौरीनन्द आचार्य बताउँछन् ।

 

‘यसले स्थापना कालमा अनाथ, असहाय बालबालिकालाई गास, बास, कपास र शिक्षा प्रदान गर्न सिफारिस गर्ने काम गरेको थियो । त्यसपछिको एक दशकयता यसले कुनै किसिमका काम अगाडि बढाएन,’ आचार्यले भने, ‘सुरुमा यसको आर्थिक स्रोत थिएन । सबैसँग समन्वय गरेर बालबालिकाका लागि काम गरेको थियो । तर, पछिल्लो संगठनको जग्गामा कर्णाली पुस्तकालय भवन बनाइएको छ ।’

 

बालबालिका लागि काम नगर्ने र उठेको रकम खाने मिलोमतो चलेको आचार्यले दाबी गरे । 


स्थानीय धनराज सुनारले भने, ‘बाल संगठन पछिल्लो समय निष्क्रिय बनेको छ । एक दशकको अवधिमा हामीले बाल संगठनको नामै सुनेका छैनौँ । बाल संगठनको ढोका खुलकै देखिन्न । कर्मचारीलाई तलब खाने बेलाबाहेक अघिपछि ढोका खुलेको देखिँदैन ।’ 


खर्चको लेखाजोखा छैन : सभापति खत्री


५० औँ वर्ष पुगेको बाल संगठनको जग्गामा २६ कोठाको भवन बनेको छ । त्यस आसपास ५ वटा टहरा बनाइएका छन् । भवन र टहरा सबै भाडामा दिइएका छन् ।


तर, यसबाट उठेको रकमबारे कुनै लेखाजोखा नभएको नेपाल बाल संगठन जिल्ला कार्यसमिति जुम्लाका सभापति जयबहादुर खत्रीले स्वीकारे । उनले भने, ‘मैले नेपाल बाल संगठनको जिम्मेवारी पाएको ६ पुस २०७७ बाट हो । बाल संगठनको नाममा खोलिएको बैंकको खातामा १ हजार ४ सय २१ रुपैयाँ छ ।’

 

एउटा खाता बाल संगठनको छ भने अर्को खाता कर्णाली पुस्तकालयको नाममा रहेको पाइएको उनले जानकारी दिए ।

 

कर्णाली पुस्तकालयका अध्यक्ष विष्णुबहादुर शाहीले २०७७/७८ को आर्थिक प्रतिवेदन आफूलाई उपलब्ध गराउन बैठक बसी निर्णय गरेको बताए । उनले भने, ‘तर, अहिलेसम्म दिइएको छैन । भवन भाडामा दिएको सम्झौतासमेत उनीहरूले उपलब्ध गरानन् ।’

 

बाल संगठनबाटै सञ्चालित सामुदायिक पुस्तकालयमा दुइटा खाता खोल्नु नै आर्थिक हिनामिना लक्षित रहेको उनको अनुमान छ । उनले थपे, ‘जिल्ला बाल संगठनको आर्थिक प्रतिवेदनको कुरा छाडौँ । कुनै दिन बैठक बसेको माइन्युटसमेत छैन ।’ 

 

आफू बाल संगठनको सभापति भएपछि बारम्बार आर्थिक तथा भौतिक सम्पत्ति विवरण बुझाउन ताकेता गरे पनि सफल नभएको दाबी गरे ।

 

बाल संगठनका २ जना र पुस्तकालयका ३ गरी ५ जना कर्मचारी छन् । यसअघि बाल संगठनका २ जनालाई मासिक ५/५ हजार दिने गरी १० हजार रुपैयाँ तलब तोकिएको थियो । 

 

बाल संगठनका २ कर्मचारी भए पनि बाल शिक्षा पढाउने भनेर राखिएकी महिलाले आफूलाई साउनदेखि तलब नदिएको बताइन् ।

 

त्यस्तै, पुस्तकालयका ३ जना कर्मचारीलाई पनि यसअघि ७ हजार, ८ हजार र ५ हजार रुपैयाँ तलब दिइएको थियो । जयबहादुर खत्री सभापति चुनिएपछि हरहिसाब बुझाउनुको साटो कर्णाली पुस्तकालयका र बाल संगठनका कर्मचारीको तलब बढाएका छन् ।

 

५ हजारबाट तलब बढाएर १४ हजार रुपैयाँसम्म पुर्‍याएको सभापति खत्रीले बताए । ‘बाल संगठनलाई मागी खाने भाँडो बनाइएको छ । यसको कुनै लेखाजोखा छैन,’ उनले भने, ‘बाल संगठनको खातामा महिनामा ४० हजार रुपैयाँ जम्म हुने रहेछ । बैंक स्टेटमेन्ट हेर्दा पुस्तकालयको खातामा ६० हजार रुपैयाँ जम्मा हुने गरेको देखियो । यो रकम कहाँ र कसरी खर्च भयो भन्ने कुनै प्रमाण छैन ।’

 

पूर्वसभापति जगदीश चौलागाईसँग बुझ्दा उनले सबै कुरा पुस्तकालयका अध्यक्ष विष्णु शाही र लेखापाल रत्नचन्द्र आचार्यलाई जानकारी भएको बताए । उनले भने, ‘कर्मचारीलाई पैसा चाहिए चेक आउने गरेको थियो । व्यस्त भएका कारण कार्यालयमै पुगेर हस्ताक्षर गर्दै आएको छु ।’

 

पुस्तकालय तथा बाल संगठनका लेखापाल रत्नचन्द्र आचार्यले पनि संगठनबाट बालबालिका क्षेत्रमा थुप्रै काम भएको दाबी गरे । उनले भने, ‘म यतिखेर जिल्लाबाहिर छु । सबै कामको लेखाजोखा राखिएको छ, तर काम प्रभावकारी भएको छैन ।’

 

मासिक १ लाख उठ्छ तर हरहिसाब छैन

 

बाल संगठनको जग्गामा २६ कोठे भवन र ५ वटा टहरा निर्माण गरिएको छ । ती सबै संरचना भाडामा लगाइएको छ । न्यूनतम ५ सय र अधिकतम १८ हजार रुपैयाँसम्म भाडा तिर्ने गरेको त्यहाँका व्यवसायी बताउँछन् ।

 

उनीहरूले कर्णाली पुस्तकालयलाई दिँदै आएको भाडादरको फेहरिस्त खुलाएका छन् । आरदना जनरल स्टोरले मासिक १८ हजार ५ सय ९५ रुपैयाँ तिर्ने गरेको सञ्चालक गोमा नगरकोटीले बताइन् ।


अनस जनरल स्टोरले १४ हजार ५ सय २० रुपैयाँ, सबैभन्दा सानो टहरामा बस्ने जगशीला खड्काले ५ सय रुपैयाँ तिरेकी छन् । यस्तै, भुवनेश्वरी खाद्य तथा खुद्रा पसलको भाडा ४ हजार रुपैयाँ छ ।

 

दियालो सहकारीले लिएको टहराको भाडा ३ हजार रुपैयाँ छ । मायादेवी जनरल स्टोरले ९ हजार, हिखोला फोटो स्टुडियोले १० हजार ८ सय ९० रुपैयाँ भाडा तिरेका छन् ।

 

रमेश फेन्सी स्टोरले २४ सय, सगुन टेड्रसले जनरल स्टोरले १७ हजार, नजिकै रहेको चिया पसलले ५ हजार, चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले ११ हजार, होटल अनिघरले ४ हजार, नाइस मोबाइल रिपेरिङ सेन्टरले ८ हजार गरी भाडाबापत मासिक १ लाख ७ हजार ९ सय ५ रुपैयाँ मासिक रकम उठ्ने गरेको छ ।

 

भाडाबापत उठाइएको रकमको लेखाजोखा बाल संगठनको कार्यालयमै छैन । यो रकम स्वयं पसल सञ्चालकबाट सोधेर जोडिएको रकम हो । यसको वार्षिक हिसाब गर्दा १ वर्षमा १२ लाख ९४ हजार ८ सय ६० रुपैयाँ हुन आउँछ ।

 

यसरी भाडाबापत उठेको रकममाथि एक दशकदेखि नै अनियमितता भइरहेको सरोकारवाला बताउँछन् । वार्षिक उठ्ने गरेको रकमलाई आधार मानेर हिसाब गर्दा अहिलेसम्म १५ करोड ५३ लाख ८३ हजार २ सय रुपैयाँ उठिसकेको छ ।

 

नियामक र सरोकारवाला मौन बसिदिँदा संगठनको आयमा केही व्यक्तिको हालीमुहाली चलेको हो । संगठनले संरक्षण गर्नुपर्ने असहाय बालबालिका भने होटलमा भाडा मस्काउँदै गरेका देखिन्छन् ।