close

गण्डकी प्रदेशमा कोरोनाविरुद्धको खोप लगाइँदै

गण्डकी प्रदेशमा कोरोनाविरुद्धको खोप लगाइँदै

Trulli
ADVERTISEMENT

बागलुङ- गण्डकी प्रदेशका ११ जिल्लामा बुधबारबाट कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले ११ वटै जिल्लामा बिहान १० बजेदेखि पहिलो चरणको खोप लगाउन सुरु गरेको हो ।


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहान १० बजे गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खोपको औपचारिक सुरुआत गरे । कोरोना खोप कोभिशिल्ड कोरोना संक्रमण नियन्त्रणको अग्रपंक्तिमा खटिएकालाई लगाउन थालिएको हो ।


खोपको विषयमा जानकारी दिन मंगलबार बागलुङमा आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका अस्पताल विकास महाशाखाका निर्देशक डा. रामबहादुर केसीले खोप दिने र त्यसपछि आउन सक्ने खतरा सामनाका लागि सबै जनशक्ति तयार रहेको बताए ।

 

‘यो खोप अग्रपंक्तिमा रहेकाका लागि स्वेच्छिक हुनेछ,’ केसीले भने, ‘हामी सम्पूर्ण तयारीका साथ लागेका छौँ ।’ 


नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले अनुमति दिएको खोप भएकाले ढुक्क भएर प्रयोग गर्न उनले आग्रह गरे । अन्य खोपमा जस्तै सामान्य प्रतिक्रिया कोभिडको खोपले दिने भए पनि त्यसबाट आत्तिन नहुने उनको सुझाव छ ।

 

बागलुङमा पहिलो दिन बुधबार १ सय ५० जनालाई खोप लगाइँदै छ । खोप लगाइसकेपछि हुन सक्ने परिस्थिति सामना गर्न धौलागिरि अस्पतालका डा. दिवाकार पराजुलीको नेतृत्वमा ६ सदस्यीय व्यवस्थापन समूह गठन भएको छ ।

 

‘आधा घन्टामा खोपको सबै क्रिया-प्रतिक्रिया थाहा हुन्छ । त्यो समय हामी उच्च निगरानीमा राख्छौँ,’ केसीले भने, ‘यदि खोपको नकारात्मक असर देखिए लगाउने अर्को खोप पनि तयारी अवस्थामा छ ।’ 


प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा खोप लगाएपछि आउने सम्भावित परिणामको आँकलन गर्न समन्वय समिति बनाइएको छ । बागलुङमा आउँदो २४ माघसम्म स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, सफाइ मजदुरलगायतलाई खोप लगाइनेछ ।

 
पहिलो दिन बुधबार ७५ जना धौलागिरि अस्पतालका स्वास्थ्यकर्मी र ७५ जना बागलुङ नगरपालिकाका स्वास्थ्यकर्मीलाई खोप लगाइनेछ । ११ दिन चल्ने खोप कार्यक्रममा पालिकाअनुसारको तालिका बनाइएको छ । 


जिल्लाभर पहिलो चरणमा १ हजार ७ सय १४ जना स्वास्थ्यकर्मी तथा स्वयंसेविकालाई खोप लगाइनेछ । यो खोप पहिलो पटक लगाएको १ महिनामा दोस्रो डोज लगाएपछि पूरा हुनेछ ।