close

ससुराली गाउँ पुगेर माधव नेपालले भने : ओली झुटको पुलिन्दा 

ससुराली गाउँ पुगेर माधव नेपालले भने : ओली झुटको पुलिन्दा 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड-माधव समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई बदनामी कामबाट चम्किने असफल प्रयास गरेको आरोप लगाएका छन् ।

 

नेपालको ससुराली गाउँ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर ३ हाङ्पाङ हो । प्रतिनिधिसभा विघटनविरुद्ध ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ताप्लेजुङ मदन भण्डारीलाई जन्माउने जिल्ला भएर चर्चित बनेको र अर्को छिमेकी तेह्रथुमले केपी ओली नामक नवसामन्तवादी जन्माएर चर्चामा रहेको आरोप लगाए ।

 

‘कहिले राम्रा काम र विषयका कारणले चर्चा पाउँछ, कहिले नराम्रो काम र विषयले चर्चा पाउँछ’, नेता नेपालले भने, ‘ओली नराम्रा काम, झुटको पुलिन्दा, जनविरोधी, लोकतन्त्र विरोधी र नवसामन्तवादका कारण चर्चामा छन् । त्यो चर्चा अब केही दिनबाटै हराउनेछ ।’ 

 

नेता नेपालले ओलीकै कारण गणतन्त्र जोखिममा र संघीयता संकटमा परेको दाबी गरे । ओलीका पछि लाग्नेहरू केही दिनभित्रै पछुताउन थाल्नुपर्ने उनको दाबी छ ।

 

कम्युनिस्ट आन्दोलनको हुर्कंदै गरेको ज्वाला निभाउने काम गरेर ओलीले जनता, राष्ट्र र नेपालको कम्युनिस्ट आन्दोलनलाई धोका दिएको उनले आरोप लगाए । जनताको बहुदलीय जनवाद र पूर्वएमाले ब्युँताउनेजस्ता ओलीको प्रचार गलत भएको उनले ठोकुवा गरे । 

 

सम्बोधनको सबै समय ओलीमाथि खनिएका नेता नेपालले प्रधानमन्त्रीको सर्मथन गर्नेहरूका पनि दिन सकिएको भन्न भ्याए । ‘ओलीको पतन सुरु भइसकेको छ । खाली घोषणा मात्र बाँकी छ’, नेता नेपालले भने ।

 

नेता नेपालले निर्वाचन आयोगले दिएको पछिल्लो निर्णयले अब प्रचण्ड र आफूले नेतृत्व गरेको पार्टी नै नेकपाको आधिकारिक दल भएको दलील प्रस्तुत गरे । उनले सूर्य चिह्नमा दाबी गर्ने अधिकार ओलीलाइ नभएको बताए ।

 

‘पार्टी सदस्य नै नरहेको व्यक्तिले आफूलाई अध्यक्ष भनिरहन्छ भने त्यो कति हास्यास्पद हुन्छ ?’ उनको प्रश्न थियो । निर्वाचन आयोगको फैसलाले नेकपाको आधिकारिता र सूर्य चिह्न प्रचण्ड-माधव समूहले पाइसकेकाले नअलमलिन कार्यकर्तालाई आश्वस्त पारे ।


उपप्रधानमन्त्री ईश्वर पोखरेलप्रति इंगित गर्दै नेता नेपालले प्रचण्डले पेस गरेको पत्र फिर्ता लिए पार्टी मिल्न सकिने भनेर दिएको अभिव्यक्तिको अब कुनै तुक नभएको बताए । 

 

निर्वाचन आयोगले २३ जेठ २०७५ मा आयोगमा पेस भएको कमिटी र सोही विधानलाई मात्र पार्टीको आधिकारिकताको आधार बनाउने भनिसकेको अवस्थामा अब ओली पक्षले पार्टीको आधिकारिता र सूर्य चिहन् पाउँछन् भन्नु भ्रममा मात्र पर्नु रहेको नेता नेपालको जिकिर थियो ।

 

नेकपाका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री गृहमन्त्री जनार्दन शर्माले ओलीले ठूलो भ्रष्टाचार गर्ने नियतले चुनावको प्रोपोगान्डा सिर्जना गरेको बताए । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई उल्टाउने विश्वास व्यक्त गरे ।

 

अदालतले प्रभावमा परेर निर्णय गरे जन प्रदर्शन र जनताको बलबाटै संसद् पुनस्र्थापना गराइछाड्ने उनको उद्घोष छ । पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री ओलीकै कारण ताप्लेजुङका जनताले कम्युनिस्ट पार्टीका प्रतिनिधिलाई विजयी नगराएको बताए ।