close

ताप्लेजुङका गाउँ-गाउँमा चुनावी चटारो (भिडियाे खबर)

ताप्लेजुङका गाउँ-गाउँमा चुनावी चटारो (भिडियाे खबर)

ADVERTISEMENT

ताप्लेजुङ- सरकारले ५ पुसमा प्रतिनिधिसभा विघटन गर्दै वैशाखमा मध्यावधि चुनावको घोषण समेत गर्‍यो । त्यसको विरोधमा राजनीतिक दल र वकिलले विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा दर्ता गरे भने अहिले संवैधानिक इजलासमा बहज जारी छ ।

 

संसद् पुनर्स्थापना हुन्छ-हुँदैन टुंगो नलागिसक्दै ताप्लेजुङका गाउँ-गाउँमा भने चुनावको तयारी सुरु भएको छ । ताप्लेजुङमा सर्वदलीय बैठक बसेर मतदान केन्द्र थपघट गर्ने बहस र छलफल हुन थालिसकेको छ । 


ताप्लेजुङका राजनीतिक दलले फुङलिङ नगरपालिकासहित ९ मध्ये ८ पालिकामा साविक कायम रहेका मतदान स्थल र केन्द्र थपघटका लागि प्रस्ताव गरेपछि जिल्ला निर्वाचन कार्यालयले त्यसका लागि प्रकृया अघि बढाएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदान स्थल र केन्द्र थपघटका लागि दलले गरेको प्रस्तावमा परेका पालिका र वडालाई पायक पर्ने केन्द्रबारे छलफल गर्न परिपत्र गरेको हो ।

 

जिल्ला निर्वाचन अधिकारी मोहनप्रसाद कोइरालाले दलहरूले मतदान स्थल र केन्द्र थपघटका लागि दिएको परामर्शका आधारमा स्थानीय स्तरमा छलफल गर्न पालिका केन्द्रमा पत्र पठाएको जानकारी दिए ।

 

सरकारले प्रतिनिधिसभा विघटन गरेर १७ र २७ वैशाखमा निर्वाचन घोषणा गरिसकेपछि मतदान स्थलबारे जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले आयोजना गरेको सर्वपक्षीय छलफलमा दलहरूले मतदान स्थल-केन्द्र थपको प्रस्ताव गरेका थिए ।

 

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार मैवाखोला गाउँपालिकाबाहेक यहाँका अरू ८ वटै स्थानीय तहका विभिन्न स्थानमा मतदान स्थल/केन्द्र थपका लागि दलहरूले प्रस्ताव गरेका छन् । निर्वाचन आयोगले स्थानीय तहरूलाई पत्र पठाएपछि मतदान केन्द्र थपघटका लागि पालिकाले पनि वडागत रूपमा छलफल थालेका छन् । 

 

फुङलिङ नगरपालिकामा ३ मतदान स्थल थपको प्रस्ताव गरिएको छ । फुङ्लिङ नगरपालिकाले जिल्लाभरमै सबैभन्दा बढी मतदाता भएको स्थानीय तह हो । दलहरूले मतदान केन्द्र थपघटका लागि गरेको प्रस्तावअनुरूप नगरपालिकामा वडागत रूपमा छलफल भइरहेको फुङ्लिङ नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष भीमादेवी ओझाले जानकारी दिइन् । 


मैवाखोला गाउँपालिका बाहेक अरू सबै पालिकामा मतदान  स्थल-केन्द्र थपघटका लागि दलहरूले प्रस्ताव गरेका छन् । सिरिजंघा गाउँपालिकामा रहेको १ मतदान स्थल हटाई ३ मतदान स्थल-केन्द्र थप गर्न प्रस्ताव गरिएको छ ।

 

आठराई त्रिवेणी गाउँपालिकामा २, मेरिङ्देन गाउँपालिकामा १ हटाएर २ र पाथीभरा याङ्बरक गाउँपालिकामा १ मतदान स्थल केन्द्र थपको प्रस्ताव गरिएको छ । मिक्वाखोला गाउँपालिकामा २, सिदिङ्वा र फक्ताङ्लुङ गाउँपालिकामा १/१ वटा हटाएर नयाँ २/२ मतदान स्थल र केन्द्रको प्रस्ताव गरिएको छ ।