close

देशैभर कोरोना खोप : कहाँ कसले लगाए ?

देशैभर कोरोना खोप : कहाँ कसले लगाए ?

Trulli
ADVERTISEMENT

काठमाडौं– आज देशभर एकसाथ कोरोनाविरुद्धको खोप लगाउन सुरु भएको छ ।  केन्द्रमा टेकु अस्पतालका चिकित्सकले खोप लगाएर सुरु गरेको अभियान स्थानीय तहसम्म पुगेको छ ।


सरकारले फ्रन्टलाइनरलाई मात्र खोप लगाउने भने पनि अधिकांश प्रदेश र स्थानीय तहमा भने मन्त्री र पालिका प्रमुखले पहिलो डोज लगाएर सुरुवात गरेका छन् ।

 

डडेल्धुरामा नगरप्रमुख ओझाले लगाए पहिलो खोप

 

 डडेल्धुरामा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । बुधबार अमरगढी नगरपालिका प्रमुख विश्वेश्वरप्रसाद ओझालाई खोप लगाएर अभियान सुरु भएको हो ।

 

कोरोनाविरुद्धको खोप लगाउन डराउनुपर्दैन भन्ने सन्देश दिन आफूले डडेल्धुरामा सुरुमै खोप लगाएको नगरप्रमुख ओझाले प्रतिक्रिया दिए ।

 

स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले पहिलो चरणमा १ हजार एक सय ३५ जनालाई खोप लगाइने जानकारी दिए । उनका अनुसार डडेल्धुरा अस्पताल डडेल्धुरालाई खोप केन्द्र तोकिएको छ । बुधबारदेखि १८ माघसम्म पहिलो चरणमा कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लगाइनेछ ।

 

प्रमुख श्रेष्ठका अनुसार कोरोना खोप बुधबार स्वास्थ्य कार्यालय, डडेल्धुरा अस्पताल, जिल्ला प्रशासन कार्यालय, अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, कर्मचारी र अमरगढी नगरपालिकाबाट कोरोनाका क्षेत्रमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लगाइनेछ ।

 

यस्तै, बिहीबार कोरोनाका क्षेत्रमा खटिएका गन्यापधुरा र नवदुर्गा गाउँपालिकाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लगाइनेछ । १६ माघमा अजयमेरु र भागेश्वर गाउँपालिकाका चिकित्सक तथा स्वास्थ्यकर्मी, १७ मा आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका चिकित्सक तथा स्वास्थ्यकर्मी र १८ माघमा छुट भएका सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लगाइने उनले बताए ।

 

सुदूरपश्चिमका कुन जिल्लामा कति खोप

 

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले प्रदेशका लागि १६ हजार २ सय ९३ जनालाई पुग्ने ३६ हजार डोज खोप आइपुगेको जानकारी दिए ।

 

धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा राखिएको खोप ९ वटै जिल्लामा पठाइसकिएको कार्कीले बताए । उनका अनुसार कैलालीको सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पताललाई खोप केन्द्र तोकिएको छ ।

 

प्रदेशका बाँकी ८ वटा जिल्लाका जिल्ला अस्पतालमा खोप केन्द्र तोकिएको छ । ५ दिनभित्र खोप लगाइसक्नुपर्नेछ । कैलालीमा ३ हजार ७ सय ३७, कञ्चनपुरमा २ हजार ५ सय ४५, बैतडीमा १ हजार ९ सय ९६, अछाममा १ हजार ८ सय ७१ र डोटीमा १ हजार ४ सय ६१ जनालाई पहिलो चरणको खोप लगाउने तयारी छ ।

 

यस्तै, बझाङमा १ हजार ४ सय ९, दार्चुलामा १ हजार २ सय ५१, डडेल्धुरामा १ हजार १ सय ३५ र बाजुरामा ८ सय ९० जनालाई खोप लगाइने प्रवक्ता कार्कीले बताए ।

 

शरीरमा एलर्जी भएका, गर्भवती, सुत्केरी र १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई खोप नलगाइने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


लुम्बिनी प्रदेशमा झन्डै ४० हजारले खोप लगाउने

 

कोरोनाविरुद्धको खोप अभियान लुम्बिनी प्रदेशमा पनि बुधबारबाट सुरु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको उपस्थितिमा खोप अभियान सुरु गरिएको हो ।

 

पहिलो खोप लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनालले लगाए । लुम्बिनीमा ३९ हजार ४ सय ९५ जनालाई खोप दिइनेछ भने ८ हजार ७ सय ६८ भयल भ्याक्सिन प्रदेशमा आइसकेको छ ।

 

२ चरणको अभियानमा खोप वितरण गरिनेछ, जसमध्ये प्रदेशका तराईका ६ जिल्लामा १४ माघदेखि ३० हजार ८ सय जनालाई दिइनेछ । यसका लागि हरेक जिल्लामा १ खोप केन्द्र स्थापना गरिएको छ भने बाँकी केही ठाउँमा आवश्यकताबमोजिम खोप केन्द्र निर्माण गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले बताएको छ ।

 

यस्तै दोस्रो चरणमा पहाडका ६ जिल्लामा १७ माघदेखी खोप दिन सुरु गरिनेछ । दोस्रो चरणमा ८ हजार ६ सय ९५ जनालाई खोप दिने तयारी छ । त्यसका लागि ७ वटा खोप केन्द्र निर्धारण भइसकेका छन् ।

 

केन्द्र अपुग भए थप ५ अस्पतालमा खोप केन्द्र सञ्चालन गरिनेछ । प्रत्येक खोप केन्द्रमा तालिम प्राप्त १ जना चिकित्सकसहित ३ जना स्वास्थ्यकर्मी रहनेछन् भने स्वास्थ्य जोखिम व्यवस्थापनका लागि सम्बन्धित अस्पतालमा चिकित्सक समूहको व्यवस्था गरिनेछ ।


स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारी, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, एम्बुलेन्स चालक, स्वयंसेवक कर्मचारी, अन्तर्राष्ट्रिय प्रवेश बिन्दुमा कार्यरत कर्मचारी, महिला कर्मचारी, कैदीबन्दीलगायतलाई पहिलो चरणमा खोप लगाइनेछ ।अस्पतालका फार्मसी अधिकृत पदम खनाल र नासु श्रीराम पाण्डेले पनि लगाएको खोपले १ घन्टासम्म कुनै प्रतिक्रिया नदेखिएको बताए ।

 

लुम्बिनी प्रादेशिक अस्पतालले दैनिक १ हजारभन्दा धेरैलाई खोप वितरण गर्ने लक्ष्य रहेको बताएको छ । लुम्बिनी प्रदेशमा हालसम्म कोरोनाका कारण ३ सय ८२ जनाको निधन भइसकेको छ भने २७ हजार २९ भन्दा बढी संक्रमित भएका छन् ।

 

जनकपुरमा कानुनमन्त्री र पर्सामा मुख्यमन्त्रीले लगाए खोप

 

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा पनि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा खोप लगाएर अभियान सुरु गरेका हुन् ।

 

प्रदेश २ का ३ ठाउँमा बुधबारबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको छ । ‘खोप निकै सुरक्षित र भरपर्दो रहेको वैज्ञानिक पुष्टि भएकाले ढुक्क भएर लिनुस्’, कानुन मन्त्री यादवले भने, ‘प्रदेशका सबै नागरिकलाई खोप उपलब्ध भए निःशुल्क रूपमै वितरण गर्ने योजना छ ।’

 

प्रदेशिक अस्पतालदका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोदकुमार यादवले यो खोपको कुनै साइड इफेक्ट नभएकाले निर्धक्क भएर खोप लगाउन आग्रह गरे । निःशुल्क खोप कार्यक्रममा प्रादेशिक अस्पतालका मेसु डा.प्रमोदकुमार यादवलगायतले खोप लगाएका थिए ।

 

पर्सामा मुख्यमन्त्री राउत सहभागी


पर्साको नारायणी उपक्षेत्रीय अस्पतालमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र गजेन्द्रनारायण सगरमाथा अस्पतालमा प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले अभियान सुरु गरे ।

 

प्रदेश २ मा ३४ हजार ४ सय २ र धनुषामा ९ हजार १ सय ८२ खोप नेपाल सरकारले पठाएको छ । पहिलो चरणमा खोप दिने समूहमा परेकामध्ये ३१ हजारले नाम दर्ता गराएका छन् । स्वास्थ्यकर्मी, सफाइ, स्वयंसेविका तथा शव व्यवस्थापनमा संलग्नलाई पहिलो चरणमा खोप दिने कार्यक्रम रहेको छ ।

 

बाजुरामा ३५ सयलाई कोरोनाविरुद्धको खोप लगाइँदै

 

बाजुरामा पहिलो चरणमा ३ हजार ५ सय जनालाई कोरोनाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जिल्ला अस्पताल बाजुरामा १५ माघदेखि ३५ सय जनालाई खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए ।

 

जिल्ला अस्पताल बाजुरामा मात्र खोप केन्द्र रहेकाले सबैलाई जिल्ला अस्पताल बाजुरामै खोप लगाइने भएको छ । पहिलो चरणमा कोरोना नियन्त्रणको अग्रपंक्तिमा खटिएकालाई खोप लगाइनेछ ।

 

स्थानीय तहका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्थाका अन्य कर्मचारी, कोरोना संक्रमितबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, स्थानीय तहमा सफाइमा खटिने कर्मचारीलाई पहिलो चरणमा खोप लगाइने कार्यालय प्रमुख पन्तले जानकारी दिए ।

 

अभियानको पहिलो दिन १५ माघमा १ सय २२ जनालाई खोप लगाइनेछ । कार्यालय प्रमुख पन्तका अनुसार जिल्ला अस्पतालका ६७ जना, स्वास्थ्य कार्यलय बाजुराका १७ जना, जिल्ला आयुर्वेद केन्द्र बाजुराका १३ जना र २५ जना सुरक्षाकर्मीलाई खोप लगाइनेछ ।


दार्चुलामा स्वास्थ्य कार्यालय प्रमुख भट्टले लगाए

 

कोरोनाविरुद्धको पहिलो खोप स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जनस्वास्थ्य अधिकृत जयराज भट्टले लगाएर अभियान सुरु भएको छ । काठमाडौंबाट प्रधानमन्त्री केपी ओलीले भर्चुअल विधिबाट खोप अभियान सुरु गरेलगत्तै दार्चुलामा स्वास्थ्य प्रमुख भट्टले पहिलो खोप लगाएका हुन् ।

 

पहिलो चरणमा १४ बाट १८ माघसम्म सञ्चालन गरिने कोरोनाविरुद्धको खोप अभियानका लागि दार्चुलामा १ हजार ३ सय ९० डोज खोप ल्याइएको छ ।

 

जिल्ला अस्पताल दार्चुलाबाट पहिलो चरणमा दार्चुलाभरिका स्वास्थ्यकर्मी, सफाइकर्मी तथा कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई खोप लगाइनेछ ।


दार्चुलामा १ हजार १ सय ५० जनालाई कोरोनाको खोप लगाइने स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्रसिंह कार्कीले जानकारी दिए । जिल्लाभरिका स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्थाको कामकाज प्रभावित नहुने गरी ५ दिनसम्म खोप लगाइनेछ । खोप लगाउन जिल्ला अस्पताल दार्चुलालाई कोरोना खोप केन्द्र तोकिएको छ ।


जुम्लामा १४ सयको लक्ष्य  

 

कोरोनाविरुद्धको खोप जुम्लामा पनि लगाउन सुरु गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा खोप केन्द्र स्थापना गरी खोप लगाउन सुरु गरिएको हो ।

 

स्वास्थ्यकर्मी, सफाइकर्मी र एम्बुलेन्स तथा शव वाहन चालकलाई कोरानाविरुद्धको खोप लगाउन थालिएको जनस्वास्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाले बताए । उनले भने, ‘बुधबार र बिहीबार गरी २ दिन खोप क्लिनिक सञ्चालन गरिनेछ ।’

 
चन्दननाथ नगरपालिकाका ५ सय १० जना, पातारासीका १ सय १५ जना, गुठीचौरका ८४ जना, कनकासुन्दरीका १ सय ५२ जना, सिंजाका १ सय जना, हिमाका १ सय ४३ जना, तिलाका १ सय १८ जना, तातोपानी गाउँपालिकाका १ सय १४ जना र ६३ जना थप गरी १ हजार ४ सय जनालाई खोप दिइनेछ ।

 
कर्णालीका ८ जिल्लामा पनि

 

कर्णाली प्रदेशका १० जिल्लामध्ये ८ वटा जिल्लामा बुधबारदेखि कोरोनाभाइरसविरुद्धको खोप लगाउन थालिएको छ । त्यसका लागि सम्बन्धित जिल्लाका जिल्ला अस्पतालमा खोप पुर्‍याइसकिएको छ ।


खोप हवाई तथा स्थल मार्गबाट पुर्‍याइएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । हिमाली जिल्ला डोल्पा र हुम्लामा भने बुधबार मात्र खोप पुग्ने र बिहीबारदेखि खोप लगाइनेछ ।


कर्णाली प्रदेशको मेडिकल स्टोर नेपालगञ्जमा राखिएको खोप जुम्ला र मुगुमा विमानमार्फत र कालीकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यानमा स्थलमार्गबाट पठाइसकिएको निर्देशनालयका निर्देशक डा. रवीन खड्काले जानकारी दिए ।


कोरोना खोपका लागि कर्णालीमा १२ वटा खोप केन्द्र तोकिएको छ । प्रदेशभरका १२ वटा अस्पतालबाट बुधबार बिहान १० बजेदेखि खोप लगाउन सुरु गरिएको हो । डा. खड्काका अनुसार ८ जिल्लाका लागि १२ वटा कोरोना खोप केन्द्र तोकिएको छ ।

 

८ वटा जिल्ला अस्पताल, २ वटा सामुदायिक अस्पताल, एउटा शिक्षण अस्पताल र एउटा प्रदेश अस्पताललाई खोप केन्द्रको रूपमा तोकिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्ला, प्रदेश अस्पताल सुर्खेत, मेहलकुना सामुदायिक अस्पताल सुर्खेत र चौरजहारी सामुदायिक अस्पताल रुकुम पश्चिमबाट कोरोनाविरुद्धको खोप लगाइनेछ ।

 

त्यस्तै मुगु, कालीकोट, हुम्ला, डोल्पा, जाजरकोट, रुकुम पश्चिम, सल्यान र दैलेख जिल्ला अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम छ ।


‘पहिलो चरणको खोप करिब १० दिनभित्र लगाइसक्ने गरी हामीले तयारी थालेका छौँ,’ डा.खड्काले भने । पहिलो चरणमा कोरोना नियन्त्रण तथा उपचारका लागि फ्रन्टलाइनमा खटिएर काम गर्नेेलाई खोप लगाइनेछ ।

 

कसले कति पाए डोज ?

कर्णालीलाई सुरुमा पहिलो चरणका लागि साढे ११ हजार खोप भनिए पनि ११ हजार ७ सय ८० डोज खोप दिने बताइएको छ । यसमध्ये सुर्खेतमा सबभन्दा बढी २ हजार ७ सय ८१, दैलेखमा २ हजार, जुम्लामा १ हजार ७ सय २, कालीकोटमा १ हजार २१, जाजरकोटमा १ हजार १ सय ५, सल्यानमा १ हजार १ सय २३, मुगुमा ५ सय ४७, डोल्पामा ५ सय ११, रुकुम पश्चिममा ५ सय र हुम्लामा ४ सय ५० डोज खोप बाँडफाँट गरिएको निर्देशनालय बताएको छ । दोस्रो चरणका लागि २४ हजार डोज खोप माग गरिएको निर्देशनालयको भनाइ छ ।


बागमती प्रदेशले ९ जिल्लालाई बाँड्यो ७६ हजार डोज


बागमती प्रदेशले ९ जिल्लालाई ७६ हजार डोज कोभिसिल्ड कोरोना खोप वितरण गरेको छ । हेटौंडास्थित बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्राप्त गरेको ७ हजार ६ सय भाइल अर्थात् ७६ हजार डोज खोप सोमबारदेखि जिल्लामा वितरण सुरु गरेको छ । खोप पाएका जिल्लाले बुधबारदेखि खोप लगाउन सुरु गरिसकेका छन् ।


प्रदेश राजधानी हेटौंडाबाट कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रवीण श्रेष्ठ र स्वास्थ्य निरीक्षक भोला चौलागाईंलाई खोप हस्तान्तरण गरे । अस्पतालका मेसु श्रेष्ठले कोरोनाविरुद्धको पहिलो खोप लगाउँदै अभियान सुरु गरे ।


बागमती प्रदेशका १३ मध्ये ३ वटा जिल्लालाई खोप वितरण गरेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख वसन्त अधिकारीले जानकारी दिए । यसैगरी केन्द्रले प्रदेश २ का ६ वटा जिल्लालाई पनि खोप वितरण गरेको अधिकारीले बताए ।

 

केन्द्रबाट बागमतीको मकवानपुर, चितवन, सिन्धुलीमा खोप पठाइएको हो । प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषालाई खोप दिइएको छ ।


केन्द्रले पठाएका खोप सम्बन्धित स्वास्थ्य कार्यालयले आफ्नो स्टोरमा सुरक्षितसहित राख्ने अधिकारी बताउँछन् । उनका अनुसार सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयले तोकिएको मितिमा खोप लगाउनेछन् । ‘मंगलबार केन्द्रलाई तोकिएको सबै जिल्लामा खोप पुगिसकेको छ’, अधिकारीले भने ।

 

केन्द्रका अनुसार मकवानपुरमा ४ सय १८, सिन्धुलीमा २ सय ९९, चितवनमा ८ सय ५७ भाइल खोज पठाइएको हो । बारामा ५ सय ३२, पर्सामा १ हजार १ सय ४, रौतहटमा ८ सय १, सर्लाहीमा १ हजार ५९, महोत्तरीमा ४ सय ६ र धनुषामा २ हजार ३ भाइल खोप पठाइएको अधिकारीले बताए । खोप स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सफाइकर्मी र सुरक्षाकर्मीलाई पहिलो चरणमा लगाइने केन्द्रले जनाएको छ ।

 

भोजपुरमा पहिलो दिन एक सयलाई

 

भोजपुरका एक हजार बढीले कोभिडको खोप पाउने भएका छन् । आजबाट शुरु भएको कोभिड विरुद्धको खोप अभियानमा एक हजार ३३५ जनालाई खोप दिइने स्वास्थ्य कार्यालयका सूचना अधिकारी  सुरेन्द्र बुढाथोकीले जानकारी दिए ।

 

आज अभियानको पहिलो दिन जिल्ला अस्पताल भोजपुरका मेडिकल अधिकृत, स्वस्थ्यकर्मी, , स्वयमसेविका,सरसफाईकर्मी लगाएत गरी १२८ जनालाई खोप लगाइएको स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ ।  खोपको पहिलो डोज लगाएर दोस्रो डोज चार सातापछि लगाएसंंगै मात्रा पुरा हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।  

 

कोभिसिल्ड कोरोनाविरुद्धको खोप जिल्लामा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, सामुदायीक स्वास्थ्य स्वयंसेविका, सरफाईकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, सहचालक र कोरोना भाइरसबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई खोप दिइने जनाइएको छ ।

 

आज प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले जिल्ला अस्पताल भोजपरका डाक्टर पवित्रा श्रेष्ठलाई खोप कार्ड हस्तान्तरण गरेर खोपको शुभारम्भ गरे । अभियान १० दिन अर्थात २३ गतेसम्म चल्ने जनाइएको छ ।