close

कठ्यांग्रिँदो चिसोमा त्रिपाल र छानामुनि बास    

कठ्यांग्रिँदो चिसोमा त्रिपाल र छानामुनि बास    

Trulli
ADVERTISEMENT

कालीकोट- कालीकोटको नरहरिनाथ गाउँपालिकाका बाढीपीडितले ६ महिना बित्दा पनि सुरक्षित बास पाउन सकेका छैनन् । गत १३ साउनको बर्खे पानीले गाउँमा पहिरो गएपछि २ सय ६ घरधुरी घरबारविहीन भएका थिए ।

 

पहिरो गएको ६ महिना बितिसक्दासमेत सुरक्षित बास नभएपछि पीडितहरू विकल्पमा नजिकैको सुगुँर खालस्थित एक सामुदायिक जंगलमा हिँउदको कठ्यांग्रिँदो चिसोमा त्रिपालमा बस्न बाध्य हुन् ।

 

१३ साउन राती गएको पहिरोले गाउँपालिकाको वडा नम्बर ४ र ७ का २ सय ६ घर क्षतिग्रस्त भएपछि गाउँपालिकाले पीडितको व्यवस्थापनका लागि सामुदायिक वनमा अस्थायी टहरा बनाएर बसालेको थियो । 


माघको कठ्यांग्रिँदो चिसोमा त्रिपाल अनि खरको छानामा बस्नुपर्दा बालबालिका र वृद्धवृद्धालाई निकै असहज भएको बाढीपीडित रतन बुढाको गुनासो छ ।

 

उनले भने, हामीहरूको छिट्टै व्यवस्थापन गरिदिए बाँच्न सकिन्थ्यो कि ? ६ महिना बितिसक्यो तर कसैले सहयोग गरेनन् ।’ हिउँद महिनामा बालबालिका र वृद्धवृद्धालाई बचाउन कठिन परेको उनको भनाइ छ । उनले भने, ‘केही त्रिपालमा छन्, केही खरको छानामा बस्न बाध्य छौँ । गाउँपालिकाले अस्थायी टहरा बनाएर बसालेको छ । प्रदेश सरकारले घर बनाइदिने भने पनि अहिलेसम्म केही गरेन ।’

 

बुढाको मात्र यस्तो गुनासो छैन । जंगलको कठ्यांग्रिँदो चिसोमा बसिरहेका बाढीपीडित धनबहादुर सहकारीको पनि वेदना उस्तै छ । उनले भने, ‘प्रदेश सरकारले दिने भनेको १ लाख रुपैयाँ राहत पनि अहिलेसम्म पाएका छैनौँ । ३ महिना भयो चेक दिएको । अझै खातामा पैसा हालेको छैन तर हाल्छौँ भनिरहन्छ ।’

 

पीडितलाई खाली चेक दिएर झुक्याइएको उनको गुनासो छ । जंगलमा त्रिपाल हालेर चिसोमा बस्न बाध्य भए पनि स्थानीय र प्रदेश सरकारले आफूहरूको समस्यामा ध्यान नदिएको धनबहादुरले आरोप लगाए ।


गाउँपालिका भन्छ : बाढीपीडितका लागि जग्गा छुट्याइसक्यौँ 

 

पालिकाका २ सय ६ घरधुरी बाढीपीडितका लागि जग्गा छुट्याइसकेको गाउँपालिकाले जनाएको छ । जिल्ला वन कार्यालयसँग सहयोग मागेर २ सय ६ बाढीपीडितका लागि सोही वडामा रहेको सार्वजनिक ८३ हजार ५ सय २० वर्ग मटर जग्गा अमिनको टोलीले नापिसकेको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए ।