close

दिनभरको पालिकाः देशभर कोरोनाको खोप, सवारी करमा लाग्यो रोक (भिडियो खबर)

दिनभरको पालिकाः देशभर कोरोनाको खोप, सवारी करमा लाग्यो रोक (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) कोरोनाविरुद्धको खोप अभियान देशैभरि सुरु, प्रधानमन्त्री केपी ओलीद्वारा भर्चुअल कार्यक्रममार्फत अभियान उद्घाटन ।

 

२) अर्घाखाँचीको शीतगंगा नगरपालिकामा बुबाले गरे आफ्नै छोरीको हत्या, घटनामा संलग्न बाबु २४ वर्षीय सन्तोष घिमिरे प्रहरीको नियन्त्रणमा ।

 

३) कञ्चनपुरको भीमदत्त नगरपालिकामा आफ्नै घरमा डेरा गरी बस्ने किशोरीलाई बलात्कार गर्न खोजेको आरोपमा घरबेटी पक्राउ, पक्राउ पर्नेमा भीमदत्त-३ का पुष्पराज जोशी ।

 

४) सुर्खेतको भेरीगंगा नगरपालिका-२ बाट लु२ख २१० नम्बरको ट्रकमा वीरेन्द्रनगर लगिँदै गरेको १४७ थान सालको चिरान काठसहित १२ जना नियन्त्रणमा, ट्रक र पक्राउ परेका व्यक्ति वन कार्यालयको नियन्त्रणमा ।

 

५) चिसो बढेपछि सिरहा नगरपालिकाका विद्यालय बन्द, बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन थप प्रभावित ।

 

६) नगर विकास कोष र दाङको तुलसीपुर उपमहानगरपालिकाबीच बहुउद्देश्यीय तथा स्थानीय उत्पादन भवन बनाउन ऋण सम्झौता, कोषले कास्कीको पोखरा महानगरपालिकाको निर्मल पोखरी बाघमारा पुडी सहरी खानेपानी संस्थासँग पनि गर्‍यो सम्झौता ।

 

७) छात्रवृत्तिको रकम विद्यालयका प्रधानाध्यापक रामबाबु गिरीले अनियमितता गरेपछि रामेछापको मन्थली नगरपालिकाको स्थानापति माविको कागजात जिल्ला प्रशासन कार्यालयको नियन्त्रणमा, आवश्यक प्रक्रिया अघि बढाइने ।

 

८) पाल्पाको तानसेन नगरपालिकाद्वारा सवारी साधनमा उठाउँदै आएको कर असुली स्थगन, गुल्मीका व्यवसायीको विरोध हट्यो।

 

९) पूर्वाधार विकास कार्यालय म्याग्दीले सवारी साधनको अस्थायी रुट परमिट जारी गर्न थाल्यो, व्यवसायीलाई सहज ।

 

१०) १५ माघदेखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा निर्वाचन नामावली अद्यावधिक हुँदै,  ५ पुसलाई नै मतदाताको उमेर १८ वर्ष पुगेको निर्दिष्ट मिति तोक्ने निर्वाचन आयोगको निर्णय ।

 

११) विदेशबाट फर्किएका युवालाई कृषि पेसामा लगाउन मोरङको लेटाङ नगरपालिकाद्वरा कृषि सामग्री वितरण, ११ जना युवाले पाए सामग्री ।

 

१२) रूपन्देहीको  मंगलापुर-कान्छीबजार सडक स्तरोन्नतिको काम अघि बढ्ने गरी तिलोत्तमा नगरपालिकामा सहरी शासकीय तथा पूर्वाधार आयोजना सुरु, अन्य ३३ वटा नगरपालिका पनि समेटिए ।

 

१३) केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणनाको तथ्यांक संकलनका लागि माग्यो ४७ हजार कर्मचारी, ६० दिनभित्र इच्छुक नेपालीले विभागमा दरखास्त दिनुपर्ने ।

 

१४)  बझाङको छबिसपाथिभेरा गाउँपालिका-३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा सोही गाउँपालिकाका वडा-२ का वडाध्यक्ष विकास ऐडीसहित ४ जना पक्राउ,  विद्यालयमा व्यवस्थापन समिति गठनको विषयमा भएको थियो विवाद ।

 

१५) बागमती प्रदेश सरकारले ९ जिल्लालाई बाँड्यो ७६ हजार डोज कोरानाविरुद्घको खोप, जिल्ला-जिल्लामा खोप लगाउन सुरु ।

 

१६) सिन्धुलीको कमलामाई नगरपालिकाको सामुदायिक टेक्निकल इन्स्टिच्युटद्वारा ३९० घन्टाको छोटो अवधिको सीपमूलक तालिम सुरु, नगरप्रमुख खड्ग खत्रीले गरे तालिम उद्घाटन ।

 

१७) कोरोनाका कारण बन्द भएका म्याग्दीका तातोपानी कुण्ड १० महिनापछि खुला, पर्यटकको चहलपहल बढ्यो ।

 

१८) अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे बुटवल उपमहानगरपालिमा तीन वटा ठूला पक्की पुल, अब आवतजावतमा सहज हुने ।


१९) डडेल्धुरामा अगरगढी नगरपालिकाका प्रमुख विश्वेश्वर ओझाले लगाए पहिलो कोरोनाविरुद्घको खोप, पहिलो चरणमा एक हजार एक सय ३५ जनालाई खोप लगाइने ।


२०) महोत्तरीको गौशाला नगरपालिकाले नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई दिवा खाजाबापत दिएको ८७ हजार रुपैयाँ प्रधानाध्यापक देवनारायण महतोले व्यक्तिगत रूपमा खर्च गरेको खुलासा ।