close

गाउँका डाेजरः थाेरै विकास, धेरै विनाश

गाउँका डाेजरः थाेरै विकास, धेरै विनाश

Trulli
ADVERTISEMENT

म्याग्दी -  वातावरणीय अध्ययन नगरी डोजर र स्काभेटरको प्रयोगले जथाभावी खनिएका सडकका कारण बर्सेनि धनजनको क्षति हुनुका साथै प्राकृतिक स्रोत विनास हुनेक्रम बढ्दै गएको छ ।
    
हिमाली जिल्ला म्याग्दी र मुस्ताङमा राष्ट्रिय गौरवको आयोजना, कृषि सडक, चुनावी प्रतिबद्धता तथा स्थानीयको मागका आधारमा सडक विस्तार भइरहेको छ । सडक विस्तार गर्दा न वातावरणीय अध्ययनको मूल्यांकन गरिन्छ, न त दक्ष प्राविधिकको सुझाव नै लिइन्छ । पश्चिम र उत्तरी म्याग्दीमा गत असारयता गएका पहिरोले पु-याएको मानवीय तथा भौतिक क्षतिको प्रमुख कारण जथाभावी खनिएका सडक नै भएको वन तथा वातावरण संरक्षणको क्षेत्रमा लागेका सरोकारवालाहरूको बुझाइ छ । 


वातावरणविद् चन्द्रमणि सापकोटाका अनुसार दिगो विकासका न्यूनतम मापदण्ड पालन नगरी ठूला उपकरणको प्रयोग गरेर सडक खनिँदा बर्सेनि बाढीपहिराको प्रकोप बढ्दै गएको हो । वातावरणविद् सापकोटाले भने, ‘मानवीय क्रियाकलाप नै बाढीपहिरोको प्रमुख कारण हो । यहाँको भूगोल पनि कमजोर हुनु, भिरालो क्षेत्र र सोही क्षेत्रको सिरान र पुछारमा  खनिएका मोटरबाटो विपत्तिका कारक हुन् ।’ सापकोटाका अनुसार सडक विकासको मेरुदण्ड भए पनि निर्माण गर्दा केही निश्चित सर्तहरू पालना गर्नैपर्छ ।

 

ग्रामीण क्षेत्रका अधिकांश भूभाग भिरालो भएकाले त्यहाँ सडक खन्दा साना र हलुका इक्युपमेन्टको प्रयोग गर्नुपर्छ । तर, सस्तो र छिटो मोटरबाटो निर्माण गर्ने होडमा हेभी इक्युपमेन्ट प्रयोग गर्दा त्यसले जमिन खल्बलाइदिने र पानी पर्दा बग्ने समस्या रहन्छ ।

 

त्यसैगरी सडक खनेपछि सडकको दुवैतर्फ पानीको निकास दिने, वृक्षारोपण गर्ने, फिलिङ गर्ने, सडकको कटिङ गर्दा प्राविधिक सल्लाह लिनुपर्छ । ग्रामीण सडकमा न्यूनतम मापदण्ड पूरा नगरिएको उनको भनाइ छ ।  डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख सन्तोष खनालले म्याग्दी जिल्ला तीन वटा ठूला जलप्रवाहको जलाधार क्षेत्र भएकाले यहाँको माटो बलौटे हुँदा बाढीपहिराको उच्च जोखिममा रहेको बताए । उनले जथाभावी खनिएका सडकका कारण प्राकृतिक स्रोतको विनास भए पनि म्याग्दीको हकमा भने वन क्षेत्र नघटेको र यसले वन पैदावर र जंगली जनावरलाई क्षति नपुगेको तर्क गरे ।

 

वन क्षेत्रमा नोक्सानी नभए पनि ग्रामीण क्षेत्रमा कृषि, जडीबुटी, बुट्यान र रुख बिनाप्रयोजन नष्ट गरिएको उनले बताए । भिरालो भूगोल, कमजोर भूबनोट, छोटो अवधिमा हुने अधिक मनसुनी वर्षाजस्ता प्राकृतिक कारण क्षति पुगेको वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेल बताउँछन् । उनले अवैज्ञानिक भूउपयोग, संरक्षण एवं वातावरणमैत्री विकासको अवधारणाविपरीत जथाभावी सञ्चालन गरिने विकास निर्माणका कार्य, वनजंगलको विनाश, जनचेतनाको कमी आदि मानवीय कारणले गर्दा नेपालका गाउँबस्ती र कतिपय सहरबजारसमेत हरेक वर्ष बाढीपहिरोको चपेटामा परी धनजनको क्षति हुँदै आएको बताए ।

 

राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजना विसं ०७४ देखि सुरु भएको हो । त्यतिबेला आयोजनाका इञ्जिनीयर र प्राविधिकको वैज्ञानिक सडक सर्भे अध्ययन अभावका कारण बेनी-जोमसोम सडकको विभिन्न स्थानमा वर्षैपिच्छे बर्खायाममा वातावरणीय विनास हुँदै आइरहेको छ ।