close

औद्योगिक विकासमा स्थानीय सरकार खोज्दै उद्योगी

औद्योगिक विकासमा स्थानीय सरकार खोज्दै उद्योगी

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देही उद्योग संघका पदाधिकारी औद्योगिक विकासमा स्थानीय सरकारको भूमिका खोज्दै गाउँपालिका भ्रमणमा हिँडेका छन् । ग्रामीण क्षेत्रमा औद्योगिक, कृषि तथा पर्यटन विकासका सम्भावनाको खोजी गर्दै स्थानीय सरकारमा जाने रणनीति बनाएअनुसार उद्योग संघको टोली शुद्धोधनमा पुगेको हो ।

 

राष्ट्रिय पुँजीको संरक्षण गरेर उद्योग स्थापनाको वातावरण मिलाउन स्थानीय तहसँग छलफलका लागि संघका पदाधिकारीले शुद्धोधन गाउँपालिकासँग छलफल सुरु गरेको छ ।

 

रूपन्देही उद्योग संघको आयोजनामा शुद्धोधन गाउँपालिकामा रोजगारी अभिवृद्धि र औद्योगिक, कृषि तथा पर्यटन विकासका सम्भावनाको खोजी गर्ने उद्देश्यले छलफल आयोजना गरिएको हो । 


कार्यक्रममा रूपन्देही उद्योग संघ अध्यक्ष बाबुराम बोहराले मुलुकको आर्थिक समृद्धिका लागि राष्ट्रिय उद्योगको विकास र संरक्षण जरुरी रहेको बताए । 

 

स्वदेशमा रहेका कच्चा पदार्थको सदुपयोग गर्न ग्रामीण क्षेत्रको आवश्यकता र अवस्थासँग मेल खाने उद्योगको स्थापना जरुरी रहेकामा जोड दिए । ‘त्यसका लागि स्थानीय सरकारहरूसँग संघले हातेमालो गर्न चाहन्छ’, बोहराले भने ।


शुद्धोधन गाउँपालिकाका प्रमुख किसुनचन्द्र चौधरीले पालिकामा उद्योग सञ्चालनको सम्भावना भएकाले लगानी गर्न उद्योगीहरूलाई आग्रह गरे । उद्योग सञ्चालनका लागि गाउँपालिकाबाट हुने सक्ने सबै सहयोग उपलब्ध गराइने प्रतिबद्धता उनले गरे ।

 

‘गाउँपालिकाले स्थानीय स्रोत-साधनको परिचालन गरी कृषि, पर्यटन तथा औद्योगिक विकासमा अगाडि बढ्न वार्षिक कार्यक्रम नै बनाएर छलफल चलाएको छ । यस्तो अवस्थामा उद्योगीहरूको साथ र सहयोगको अपेक्षा गरेका छौँ’, अध्यक्ष चौधरीले भने ।

 

नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य तथा संघका पूर्वअध्यक्ष एजाज आलमले गाउँपालिकाहरूले औद्योगिक विकासका लागि आफ्नै लगानी र नियन्त्रणमा रहने गरी यथासम्भव औद्योगिक ग्राम सञ्चालन गरेर उद्योग खोल्ने वातावरण सिर्जना गर्नुपर्ने सुझाव दिए ।

 

गाउँपालिका स्तरमा औद्योगिक ग्राम खोल्न सके सहर केन्द्रित परनिर्भरता हट्ने तथा पुँजी र श्रम पलायन पनि रोकिने हुँदा सहकार्य गर्न तयार रहेको उनको भनाइ छ ।


संघका निर्वतमान अध्यक्ष गणेशप्रसाद अधिकारीले ग्रामीण स्तरमा रोजगारी सिर्जना गर्न उद्योग सञ्चालन एक मात्र विकल्प भएकाले आवश्यक वातावरण तयार गर्ने काम स्थानीय सरकारहरूकै भएको औँल्याए । 


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रप्रसाद चौधरीले पालिकाले उद्यमशीलता विकास, उत्पादन र प्रवद्र्धनात्मक कामलाई तत्कालीन तथा दीर्घकालीन कार्ययोजना बनाएर अगाडि बढेको संघका पदाधिकारीलाई जानकारी दिए । 


कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली, वडा नम्बर ४ का वडाध्यक्ष राजेन्द्र ढकाल, ३ का वडाध्यक्ष हेमबहादुर खड्कालगायत उपस्थित थिए ।