close

हेर्दाहेर्दै यसरी खरानी भए तिलाका ३२ घर, क्षणभरमै खरानी भयो सवा ३ करोड 

हेर्दाहेर्दै यसरी खरानी भए तिलाका ३२ घर, क्षणभरमै खरानी भयो सवा ३ करोड 

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको तिला गाउँपालिका वडा नम्बर ७ गोठीगाउँका बरब रोकायाको घरबाट खाना पकाउने चुलोको पाइपबाट एक्कासि सल्किएको आगोले गाउँ नै खरानी बनाएको छ । १३ माघ बेलुका साढे ५ बजेदेखि एउटा घरमा सल्किएको आगोले ५४ घरमध्ये ३२ घर जलेर नष्ट भएका हुन् । 


वडा सदस्य परिमल रोकायाका अनुसार गाउँ नै आगलागीबाट खरानी भएपछि ३२ घरधुरीका २ सय ५६ घरपरिवार विचल्लीमा परेका छन् । सदरमुकाम खलंगादेखि पश्चिमतिरको दक्षिणी भेगमा पर्ने गोठीगाउँमा ४५ मिनेट सवारी साधन र त्यसपछि ३ घन्टाको पैदलमा पुगिन्छ । 


आगलागीबाट विचल्लीमा परेका बालबालिका, ज्येष्ठ नागरिक माइनस डिग्रीको कठ्यांग्रिँदो जाडोका कारण समस्यामा परेको उनले बताए । वडा सदस्य रोकायाले भने, ‘बाँकी बचेखुचेका घरमा कोचिने र खुला आकाशमुनि बस्नुको विकल्प छैन । कोही (पाटा) बारीमा पाल टाँगेर बसेका छन् भने कोही नजलेका घरछेउको आड लिएर बसिरहेका छन् ।’

 

गोठी गाउँमा रहेका ५४ मध्ये ३० घर जलेर पूर्ण रूपमा नष्ट र २ घर आंशिक क्षति भएका छन् । अन्य २४ घर बचाउन सफल भएको घटनास्थलमा पुगेका प्रहरी निरीक्षक नवीन थापा मगरले जानकारी दिए । प्रहरी मुचुल्काअनुसार गोठीगाउँ आगलागीबाट मानवीय क्षती नभए पनि करिब ३ करोड १८ लाख बराबरको भौतिक धनमालमा नोक्सानी पुगेको छ । 


३२ घरभित्र राखिएका अन्नपात, लत्ताकपडा, भाँडावर्तन सबै जलेर नष्ट हुँदा ३ करोड १८ लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक थापा मगरले बताए । चुल्होको पाइपबाट आगोको झिल्को बाहिर गएर छतमा राखिएको घाँसबाट आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । 


मंगलबार राती नै १८ जना जनपद र ९ जना सशस्त्र प्रहरीको टिम घटनास्थल पुगेर छरछिमेकसमेत सहभागी भई आगलागी नियन्त्रणको प्रयास भए पनि पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको स्थानीयले बताए । आगो निभाउने कुनै स्रोत नभएपछि आँखै अगाडि घर खरानी भएको हेर्न बाध्य भएको स्थानीय गोविन्द रोकायाको गुनासो छ ।


जलेरै मरे १३२ पशुचौपाया 


आगलागीबाट ९२ गाईगोरु, ४० भेँडाबाख्रा, २० वटा खरायो र २६ कुखुरा जलेर मरेको स्थानीयले बताए । त्यस्तै, २ सय ४८ क्विन्टल अन्नपात, ६ लाख ४७ हजार बराबरको लत्ताकपडा जलेर नष्ट भएको स्थानीय परबहादुर रोकायाले जानकारी दिए । 

 

यस्तै, गोठीगाउँमा पानी संकलन पोखरीको निर्माण सामग्री जलेर नष्ट भएको आयोजना उपभोक्ता समिति अध्यक्ष धर्मराज रोकायाले बताए । उनले भने, ‘साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्लाको सहयोगमा पानी संकलन पोखरीका निर्माण सामग्री जलेर नष्ट भएका छन् । ५० प्याक ओपीसी सिमेन्ट, १६ एमएमको ५ बन्डल फलामे छड र २ सय प्याक बालुवा नष्ट भएको छ ।’

 

त्यस्तै, सिँचाइ आयोजनाको कर्णाली दिगो विकास प्रतिष्ठान (कास्डा) जुम्लाको २० एमएमको १५ सय मिटर पोलोथिन पाइप र सीआईपी, २ सय एमएमको ३ सय मिटर पोलोथिन पाइप पनि जलेर नष्ट भएको छ । स्थानीय लालबहादुर रोकायाको किराना पसलको २ लाख ५० हजार बराबरको सामग्रीमा क्षति पुगेको छ । 


एकद्वार प्रणालीबाट राहत वितरण


गोठीगाउँका अग्निपीडितलाई एकद्ववार प्रणालीबाट राहत वितरण गर्ने निर्णय भएको छ । स्थानीय गैसससँग समन्वय गरेर अग्निपीडितलाई राहत दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

 

उनले भने, ‘बुधबार बिहानै विपद् व्यवस्थापन समितिको बैठक बसेर प्रशासनबाट ५ जनासम्मको परिवारलाई १५ हजार र ५ जनाभन्दा बढी परिवार भएकालाई २० हजार रुपैयाँका दरले तत्काल राहत उपलब्ध गराउने निर्णय भएको छ ।’

 

बिहीबारदेखि गोठीगाउँमै पुगेर नगद राहत वितरण गरिने प्रजिअ थापाको भनाइ छ । खाद्यन्न लिएर गाउँमै जान सडकको पहुँच नभएकाले अग्निपीडितलाई नजिकको सेरी बजार बोलाएर सहयोग दिइनेछ ।


कर्णाली प्रदेश सरकारका मन्त्रीको टोली ले बुधबार नै हेलिकप्टरमार्फत जुम्ला आएर राहत दिने भने पनि समय अभावका कारण आउन नसकेको कानुन मन्त्रालयका कानुन अधिकृत एकराज चौलागाईंले बताए ।

 

उनका अनुसार मन्त्रीसहितको टोली ३० घरलाई तत्काल पुग्ने खाद्यान्न, नुन तेल, भाडा, कम्बललगायतको राहत बोकेर बिहीबार जुम्ला आउने कार्यक्रम छ ।


गाउँमा पुग्ने कच्ची सडक खनिए पनि तिला नदीमा पुल नहुँदा सवारी साधन चन्दैनन् । छिटोछरितो आगो नियन्त्रण गर्न दमकलको पहुँच छैन । सुक्खा खडेरी र पानीको स्रोत पर्याप्त नहुँदा समयमै आगलागनी नियन्त्रणमा आउन नसकेपछि ३२ घर जलेर नष्ट भएको स्थानीय धर्म रोकायाले बताए ।