close

कोरोना खोपः कसलाई कति ? 

कोरोना खोपः कसलाई कति ? 

Trulli
ADVERTISEMENT

काठमाडौं- हिजोबाट सुरु भएको कोरोनाविरुद्धको खोप अभियान देशभर जारी छ । टेकु अस्पतालका निर्देशकले पहिलो खोप लगाएर सुरु गरेको अभियान देश्व्यापी बन्दै जाँदा नागरिकमा उत्साह थपिएको छ । 

 

मुगुलाई पहिलो चरणमा २ सय डोज 

 

हिमाली जिल्ला मुगुमा कोभिड-१९ विरुद्ध कोभिसिल्डको पहिलो खोप जिल्ला अस्पताल मुगुका डा. कवीर पौड्याल आफैंले लगाएर अभियान सुरु भएको छ । बुधबार पहिलो दिन डा. पौड्यालसहित ४० जना स्वास्थ्यकर्मीले खोप लगाएका हुन् । 


सरकारले पहिलो चरणमा कोरोना खोप स्वास्थ्यकर्मी तथा सफाइकर्मी, सुरक्षाकर्मी, कोभिड-१९ महामारीविरुद्धको अग्रपंक्तिमा खटिनेलाई लगाउने निर्णय गरेसँगै मुगुमा पनि पहिलो खोप डा. पौड्याल र अर्र्का डा. निर्मल नगरकोटीसहित अन्य स्वास्थ्यकर्मीले लगाएको जिल्ला अस्पताल मुगुले जनाएको छ । 

 

जिल्ला अस्पताल मुगुमा ४० जनाले कोरोना भाइरसको कोभिसिल्ड खोप लगाए । जिल्लामा प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य इकाइलगयात अन्य गरी ७ सय ९४ जना स्वास्थ्यकर्मी रहेको जिल्ला अस्पताल मुगुका डा. नगरकोटीले जानकारी दिए । 

 

उनले भने, ‘मुगुमा २ सय डोज मात्र खोप आएको छ । यो खोप यहाँका स्वास्थ्यकर्मीलाई लगाउन पुग्दैन । थप १ हजार ५ सय खोप आवश्यक रहेकाले केन्द्रसँग माग गर्ने तयारीमा छौँ ।’ 

 

बुधबार खोप लगाउन छुटेकालाई बिहीबारदेखि छायानाथ रारा नगरपालिका र सोरु, खत्याड, मुगुम कार्मारोङ गाउँपालिकाका स्वास्थ्य कर्मचारीलाई लगाइनेछ । 

 

उदयपुरले पायो पहिलो चरणमा २ हजार ५ सय डोज 


कोरोना भाइरसविरुद्धको खोप अभियानअन्तर्गत पहिलो दिन बुधबार उदयपुरमा स्वास्थ्य कार्यालय प्रमुख मोहनप्रसाद सुवेदी र अस्पतालका मेडिकल सुपरटेन्डेन्ट जीवनारायण मण्डलबाट सुरु गरिएको छ । पहिलो खोप सुवेदी र दोस्रो खोप मण्डलले लगाएर अभियान सुरु भएको हो । 

 

उदयपुरमा पनि कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्य कार्यालयका कर्मचारी, अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सफाइकर्मी, एम्बुलेन्स÷शव वाहन चालक, कोभिड–१९ को कारण मृत्यु भएका ब्यक्तिको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई खोप लगाउन सुरु गरिएको हो ।

 

बुधबार पहिलो दिन ३३ जनाले खोप लगाएको खोप सुपरभाइजर चिरञ्जीवी निरौलाले जानकारी दिए । अस्पतालकी सिनियर अनमी टीकामाया श्रेष्ठ नेतृत्वको टोलीले खोप लगाएको थियो ।

 

स्वास्थ्य प्रमुख सुवेदीले कोरोनाविरुद्धको खोपबारे बाहिर आएका भ्रम चिर्न आफूले पहिलो खोप लगाएको प्रतिक्रिया दिए ।

 

सरकारले पहिलो चरणमा उदयपुरलाई २ हजार ५ सय डोज खोप उपलब्ध गराएकामा कम्तीमा १ हजार २ सय जनालाई पुर्‍याउने लक्ष्य लिइएको स्वस्थ्य प्रमुख सुवेदीले बताए । 

 

इलाममा १७ सयलाई 


इलाममा कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत बुधबार १ सय ४६ जनाले खोप लगाएका छन । इलामका ३ केन्द्रबाट १ सय ४६ जनाले खोप लगाएको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको हो । 

इलाम नगरपालिकाको इलाम अस्पताल, सूर्योदय नगरपालिकाको फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र र देउमाई नगरपालिकाको मंगलबारे प्राथमिक स्वाथ्य केन्द्रबाट खोप दिइएको थियो ।

 

इलाम अस्पतालमा ४६ महिला, ४२ पुरुष गरी ८९ जना, फिक्कलबाट ११ महिला, १९ पुरुष गरी ३० जना र मंगलबारेबाट १४ महिला, १३ पुरुष गरी २७ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयका खोप सुपर भाइजर विष्णु बस्तीले बताए ।

 

कोभिसिल्ड नामक कोरोनाविरुद्धको खोप सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, सहयोगी कर्मचारीले लगाएका छन् । 

 

पहिलो चरणमा सामुदायिक स्वास्थ्य स्वयंसेविका, सफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, सहचालक र कोरोना भाइरसबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई खोप दिइएको जनस्वास्थ्य प्रमुख बृजकुमार दासले जानकारी गराए । 

 

५ दिनसम्म लगाइने खोप इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रभु साहले लगाएर अभियान सुरु भएको हो । जिल्लामा १७ सयलाई कोरोनाविरुद्धको खोप दिइनेछ ।