close

निर्माण सकिएको ३ वर्षसम्म मजदुरका गोजी रित्तै

निर्माण सकिएको ३ वर्षसम्म मजदुरका गोजी रित्तै

Trulli
ADVERTISEMENT

दैलेख– सदरमुकाम दैलेख बजारमा खानेपानी समस्या समाधानका लागि २०६९ मा २४ करोड रुपैयाँमा ख खानेपानी आयोजना सम्झौता भयो ।

 

दैलेखको गौरवका योजनामा समेटिएको साहारे खानेपानी आयोजना २०७५ मा सम्पन्न भए पनि मजदुरले अहिलेसम्म ज्याला पाएका छैनन् । साहारे खानेपानीमा काम गरेका मजदुरले चार वर्षदेखि ३० लाख रुपैयाँ ज्याला नपाएका हुन् ।


मजदुरको मात्र नभई विभिन्न व्यवसायीलगायतको हिसाब जोड्दा झन्डै ६० लाख रुपैयाँ आयोजना निर्माण कम्पनीले उपलब्ध गराएको छैन । निर्माण कम्पनीले काम लगाइदिएको भन्दै घरको भैँसी बेचेर ठेकेदारलाई सहयोग गरेका दैलेखको नारायण नगरपालिका वडा नम्बर ६ बिजौराका कुलबहादुर थापाले १ लाख ९२ हजार रुपैयाँ ४ वर्षदेखि नपाएपछि अहिले सडकमा भौँतारिनु परेको छ ।


जिल्ला प्रहरी कार्यालय दैलेखमा ७ महिनाअघि रकम असुलउपर गराइदिन भन्दै उजुरी दर्ता गरे पनि अहिलेसम्म सुनुवाइ नभएको कामदार कमल कोइरालाको गुनासो छ । ‘आयोजनामा ७ वर्षदेखि पलम्बरको काम गरेँ । मैले मात्रै ६ लाख रुपैयाँ पाउनुपर्नेछ ।’

 

खानेपानी समस्याले व्याकुल दैलेख बजारमा पानी ल्याउन ज्यानको बाजी राखेर भीर खोपेर मजदुरले काम गरे पनि ठेकेदारले लाखौँ रकम ठगी गर्दासमेत सम्बन्धित निकाय मौन बसेको कोइराला सुनाउँछन् ।

 

नारायण नगरपालिका वडा नम्बर ४ मा अवस्थित खानेपानी आयोजना सम्पन्न गर्न करिब २ सय मजदुरले काम गरेका थिए । निर्माण कम्पनी सुमेकचन्द्र एन्ड वसन्त जेभी ज्याला तिर्ने विषयमा गैरजिम्मेवार बनेको मजदुरको गुनासो छ ।


आयोजनाका लागि स्थानीय उपभोक्ताले समेत प्रतिघर ५ देखि १५ हजार रुपैयाँसम्म रकम तिरेका छन् । २०७५ मा काम सम्पन्न भए पनि जिल्लाका विभिन्न स्थानका धारामा अझै पानी पुगेको छैन ।

 

आयोजना सञ्चालक साहारे खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सदस्यका अनुसार अन्तिम चरणका धेरै काम बाँकी छन् ।
मजदुरले ज्याला नपाएपछि जिल्ला प्रहरीमा निवेदन दिएलगत्तै केही दिन आयोजनाको जिम्मा लिएको कम्पनीलाई प्रहरीले ताकेता गरेको थियो । कम्पनीले केही दिनभित्रै समस्या समाधान गर्ने जवाफ दिएपछि प्रक्रिया रोकेको थियो ।

 

जिल्लामा प्रहरी प्रमुख फेरिएसँगै ओझेल परेको ठगी विषय नयाँ प्रहरी प्रमुखलाई जानकारी गराउने र सुनुवाइ नभए अदालत जाने तयारीमा मजदुर छन् ।  


आयोजनाका साइड इन्चार्ज प्रवीण खत्री रकम दिने भन्दै बारम्बार प्रक्रियाको कुरा गरिरहे पनि कम्पनीले हिसाबकिताब नगर्दा समस्या देखिएको बताउँछन् ।

 

‘म कामविशेषले बाहिर छु । अब १ साताभित्र हिसाब हुन्छ होला । कम्पनीले समेत दैलेखमा रहेको साहारे खानेपानी समितिमा धरौटी राखेको ५४ लाख रुपैयाँ लिन बाँकी छ,’ खत्रीले भने ।

 

तत्कालीन काम सुरु गरेको खानेपानी कार्यालयसँग करिब २ करोड रुपैयाँ बढी रकम लिन बाँकी रहेकाले कार्यालयबाट रकम प्राप्त हुनासाथ भुक्तानी गरिने उनको दाबी छ ।