close

गुल्मीमा कोरोनोविरुद्धको खोप अभियान सुरु

गुल्मीमा कोरोनोविरुद्धको खोप अभियान सुरु

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीमा कोभिड-१९ विरुद्धको खोप अभियान सुरु भएको छ । गुल्मीमा कोभिड-१९ विरुद्धको पहिलो खोप स्वास्थ्य कार्यालय गुल्मीका उपनिर्देशक डा. भवानी शर्माले लगाए । पहिले १७ माघबाट जिल्लामा खोप अभियान सञ्चालन गर्ने कार्ययोजना थियो । तर, पछिल्लो निर्देशनअनुसार बुधबारबाटै खोप लगाउन सुरु गरिएको उपनिर्देशक डा. शर्माले जानकारी दिए ।


अभियान सुरु गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अवलम्बन गर्न आग्रह गरिन् । 

 

कोरोना खोपको सामान्य असर देखिए पनि आत्तिनु नपर्ने स्वास्थ्यकर्मीले सुझाएका छन् । गुल्मीमा कोभिड-१९ विरुद्धको खोप लगाउँदै गुल्मी अस्पताल तम्घासकी डा. सुष्मा थपलियाले हल्लाका पछि नलाग्न सबैलाई आग्रह गरिन् । ‘पहिलो खोपको शंका आउनु स्वाभाविकै हो । मैले पनि लगाएँ’, उनले भनिन् ।

 

गुल्मीका लागि ४ सय १८ भायल कोरोना खोप आएको छ । यसबाट साढे १९ सय जनाले दुवै डोज लगाउन मिल्ने स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । 

 

पहिलो खोप लगाएको चार सातामा अर्को लगाउनुपर्छ । पहिलो चरणमा सरकारी तथा गैरसकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सहयोगी, महिला स्वास्थ्य स्वयसेविका, फोहोर संकलक तथा सफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक र सहचालक, शव व्यवस्थापनमा खटिएका कर्मचारीले खोप लगाउनेछन् ।


जिल्लामा २४ माघसम्म पहिलो चरणको खोप सञ्चालन हुनेछ । प्रत्येक स्थानीय तहले पहिलो चरणको कोभिड-१९ विरुद्धको खोप लगाउनेको तथ्यांक संकलन गरिसकेका छन् । 

 

अहिले खोप लगाउन आवश्यकमध्ये ५० प्रतिशतलाई मात्र अभियानमा सहभागी गराउने निर्णय कोभिड-१९ समन्वय तथा अनुगमन समितिले गरिसकेको छ ।

 

स्वास्थ्य कार्यालयका सूचना अधिकारी आचार्यका अनुसार १५ माघमा स्वास्थ्य कार्यालय र गुल्मी अस्पतालका स्वास्थ्यकर्मी एवं कर्मचारीले खोप लगाउनेछन् । १६ र १७ माघमा रेसुंगा नगरपालिका, गुल्मी दरबार, छत्रकोट, रुरु क्षेत्र र धुर्कोट गाउँपालिकाका ५ सय १२ जनाले खोप लगाउनेछन् ।

 

त्यस्तै, १८ र १९ माघमा कालीगण्डकी, सत्यवति, चन्द्रकोट, मालिका, मदाने गाउँपालिका र मुसिकोट नगरपालिकाका ४ सय ६८, २० र २१ माघमा रेसुंगा, गुल्मी दरबार, छत्रकोट, धुर्कोट र मदानेका ४ सय ८०, २२ र २३ माघमा कालीगण्डकी, चन्द्रकोट, सत्यवति, इस्मा र मालिका गाउँपालिका तथा मुसिकोट नगरपालिकाका ५ सय १६ जनाले खोप लगाउनेछन् । 

 

जिल्लाभरबाट छुटफुट भएकालाई २४ माघमा खोप लगाउने कार्ययोजना कोभिड-१९ समन्वय तथा अनुगमन समितिले बनाएको छ ।


नागरिकमा आशंका भएकाले अस्पतालका डाक्टरको निगरानीमा खोप लगाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालयमा जिल्लाका राजनीतिक दल, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, पत्रकार र सरोकारवालासँग कोभिड-१९ विरुद्धको खोप र कार्यतालिकाबारे जानकारी गराएर अभियान सुरु भएको हो ।