close

गुठीगाउँमा आगलागी : राहत लिएर गाउँ पस्यो सरकारी टोली, गैरसरकारी संस्थालाई ‘नो इन्ट्री’

गुठीगाउँमा आगलागी : राहत लिएर गाउँ पस्यो सरकारी टोली, गैरसरकारी संस्थालाई ‘नो इन्ट्री’

Trulli
ADVERTISEMENT

जुम्ला- कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको सरकारी टोली बिहान अग्निपीडितलाई राहत लिएर आगलागी भएको जुम्लाको तिला गाउँपालिका वडा नम्बर ७ गोठीगाउँ पुगेको छ । 

 

मन्त्री भण्डारीसँगै कर्णाली प्रदेशसभा सदस्य दिनबन्धु श्रेष्ठ, पदमबहादुर रोकाया, जुम्लाका समन्वय उपप्रमुख कार्मा बुढा, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढा घटनास्थल पुगेका हुन् । 


मंगलबार साँझ साढे ५ बजे भएको आगलागीबाट विस्थापित पीडितका लागि नेपाली सेनाको हेलिकोप्टरबाट आवश्यक राहत सामग्री लिएर कानुनमन्त्री भण्डारी नेतुत्वको टोली गोठीगाउँ पुगेको हो । 

 

ओढ्ने-ओछ्याउने न्याना कम्बल र कपडा, पाल, भाँडाकुडा, दाल, चामल, नुन, तेललगायत सामग्री आगलागीपीडितलाई वितरण गरिने मन्त्री भण्डारीले जानकारी दिए । 

 

समुद्री सतहदेखि करिब ३ हजार मिटर उचाइमा पर्ने गोठीगाउँबासीका लागि ८९ थान न्याना कम्बल, ७ रोल पि-फर्म, ९ क्विन्टल चामल, २ बोरा नुन, ७ पेटी तेल, १ सय ५० केजी दाल, २० केजी खुर्सानी, बेसार र २८ सेट भाँडाकुडा राहत पठाइएको कानुन मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले बताए ।

 

जुम्लाबाट पनि खाद्यान्न सामग्री, लत्ताकपडा लिएर गोठीगाउँमा राहत वितरण गरिरहेको जिल्ला समन्वय समिति उपप्रमुख कार्मा बुढाले बताए । उनले भने, ‘प्रदेशबाट पर्याप्त सामग्री आएको छ । अब आगलागीपीडितलाई वितरण गर्छाैं ।’

 
गैरसरकारी संस्थालाई ‘नो इन्ट्री’

 

अग्नीपीडितका लागि सरकारका साझेदार गैरसरकारी संस्थाले व्यवस्थापन गरेको राहत सामग्री हेलिकोप्टरमार्फत घटनास्थलमा नलगिदिएको गुनासो गरेका छन् । 

 

गैरसरकारी महासंघ जुम्लाका अध्यक्ष अमर रोकायाले किर्डाक, पेस नेपाल, रेडक्रस संस्थाले अग्नीपीडितका लागि व्यवस्थापन गरेको ४० क्विन्टल चामल, नुन, तेल, भाँडाकुडा, ३० पाल उद्योग वाणिज्य संघमार्फत संकलन गरिएको बताए । संकलित राहत हेलिकोप्टरले लैजान नमानेको उनको भनाइ छ ।

 
आगलागी घटनास्थल पुगेका जिल्ला समन्वय समिति उपप्रमुख बुढाका अनुसार हाइअल्टिच्युटका कारण हेलिकोप्टरबाट धेरै राहत सामग्री ल्याउन नसकिएको हो । 


सुरक्षा अवस्थालाई दृष्टिगत गरेर गैरसरकारी संस्थाका राहत सामग्री नलगिएको उनको भनाइ छ । राहत स्थलमार्ग भएर माग्म बजारबाट वितरण गर्ने तयारी भएको उनले बताए । 

 

आगलागीबाट सवा ३ करोड रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको अनुमान सुरक्षा निकायले गरेको छ ।