close

प्राविधिक अभावले बागलुङमा पुनर्निर्माण सुस्त

प्राविधिक अभावले बागलुङमा पुनर्निर्माण सुस्त

Trulli
ADVERTISEMENT

बागलुङ- बाग्लुङमा ०७२ को भूकम्पले क्षति भएका संरचना पुनर्निर्माण प्राविधिक अभावका कारण सुस्त गतिमा छ । भूकम्पको ५ वर्ष बितिसक्दासमेत कुल २ हजार ४ सय ८२ लाभग्राहीमध्ये १ हजार ५ सय ७० निजी आवास पुनर्निर्माण भएका हुन् ।

 

बागलुङमा पुनर्निर्माणतर्फ २ हजार ४ सय ८२ र प्रबलीकरणतर्फ १ सय ७१ गरी कुल २ हजार ६ सय ५३ लाभग्रही छन् । जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार बागलुङका निमित्त आयोजना प्रमुख रेणुकाकुमारी पाण्डेका अनुसार पहिचान भएका लाभग्रहीमध्ये पुनर्निर्माणका लागि २ हजार ३ सय १९ र १ सय ३३ जनाले सम्झौता गरेका थियो । 


समग्र पुनर्निर्माणको प्रगति ६८ प्रतिशत रहेको पाण्डेले जानकारी दिइन् । सम्झौता गरेका सबै लाभग्रहीले पहिलो किस्ताबापतको रकम लगे पनि २ सय ४४ जनाले दोस्रो किस्ताको रकम लगेका छैनन् । दोस्रो किस्ताको रकम लैजाने लाभग्रही संख्या १ हजार ८ सय १४ छ ।


घर निर्माणका लागि सम्झौता गरेर पहिलो किस्ताबापतको रकम बैंकमा दाखिला गरे पनि ४३ जना लाभग्रहीले अझै बैंकबाट रकम झिकेका छैनन् । सम्झौताको प्रगति ९४ प्रतिशत, प्रथम किस्ता शतप्रतिशत, दोस्रो किस्ताको प्रगति ७४ प्रतिशत हुँदा समग्र पुनर्निर्माणको प्रगति ६८ मात्र छ । 


प्राधिकरण निर्देशक समितिको निर्णयअनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी २०७८ असार मसान्तसम्म सबै काम सम्पन्न गरिसक्नुपर्नेछ । 

 

नयाँ लाभग्रहीले घर निर्माणका लागि अब सम्झौता गर्न पाउने छैनन् । सम्झौता गर्ने समय गत मंसिर मसान्तमा सकिएको छ । सम्झौता गरेका लाभग्रहीले पहिलो किस्ताबापतको रकम १५ पुससम्म लिनुपर्ने समयसीमा तोकिएको छ ।

 

तेस्रो अर्थात् घर सम्पन्न गरेर तेस्रो अर्थात् अन्तिम किस्ता लिन सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिने समयसीमा आगामी वैशाख मसान्तको समय निर्धारण गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव गोपालप्रसाद अर्यालले जानकारी दिए । 


प्रबलीकरणबाट पुनर्निर्माणमा जान जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनमा आवश्यक कागजात पेस गर्ने समय माघ मसान्तको सीमा तोकिएको छ ।

 

‘जिल्लामा निजी आवास पुनर्निर्माणको अवस्था सन्तोषजनक छैन,’ आयोजना निमित्त प्रमुख पाण्डेले भने, ‘प्राविधिक जनशक्ति पालिकाअनुसार पदपूर्ति नहुनु, पहिले बनेका घरको दोस्रोे किस्ता भुक्तानी भए पनि तेस्रो किस्ता सिफारिस हुन नसक्ने मुख्य समस्या हुन् ।’ यहाँ प्राविधिक पुग्नुअघि ४ सय २९ घर निर्माण भएका थिए । 


पालिकामा प्राविधिक जनशक्ति नहुँदा पुनर्निर्माण कार्य प्रभावकारी, छिटोछरितो हुन नसकेको ताराखोला गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनको भनाइ छ । ‘हाम्रो पालिकामा प्राविधिक नै छैनन् कसरी छिटो काम हुन्छ,’ उनले भने, ‘तत्काल जनशक्ति व्यवस्थापन गर्न सके बाँकी अवधिमा घर निर्माण गर्न सक्छौँ ।’

 

ताराखोला गाउँपालिकामा १ सय ४ लाभग्रही छन् । ७७ जनाले सम्झौता गरे पनि हालसम्म ५५ जनाले मात्र घर निर्माण गरी अन्तिम किस्ताको रकम लिएका छन् ।  प्राविधिक जनशक्ति नभएकै कारण पुनर्निर्माणले गति नलिएको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले बताए ।

 

स्थानीय तहमा प्राविधिक जनशक्ति व्यवस्थापनका लागि आवश्यक पहल गर्ने प्राधिकरणका सहसचिव अर्यालले जानकारी दिए । पुनर्निर्माण सम्पन्न भएका जिल्लामा रहेका प्राविधिक जनशक्ति समायोजन गर्न सकिने उनको भनाइ छ ।