close

पातरासीको पटमारा स्वास्थ्य चौकीमा प्रसूतिगृह 

पातरासीको पटमारा स्वास्थ्य चौकीमा प्रसूतिगृह 

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको पातारासी गाउँपालिकाको उर्थुचौतारको पटमारा स्वास्थ्य चौकीमा प्रसूतिगृह सञ्चालनमा आएको छ । स्थानीय सरकार सञ्चालन भएयता दुर्गमका गाउँ-गाउँमा पूर्वाधारसहितको गुणस्तरीय स्वास्थ्यको पहुँच वृद्धि गर्ने उद्देश्यले प्रसूतिगृह सञ्चालनमा ल्याइएको हो । 


खकार, रगत, दिसापिसाबलगायत २०/२१ प्रकारका समस्याको परीक्षण गाउँकै स्वास्थ्य चौकीमा हुने भएपछि स्थानीयलाई उपचारमा सहज भएको स्वास्थ्य चौकी इन्चार्ज कृष्ण बुढाले बताए ।

 

प्रसूतिगृह भवन निर्वामाणका लागि निःशुल्क ७६ वर्गमिटर जग्गा उपलब्ध गराउने स्थानीय तुलवीर विष्टलाई पनि सम्मान गरियो । जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख कार्मा बुढा र पालिका अध्यक्ष लछिमन बोहराले ल्याब सेवा र बर्थिङ सेन्टरको संयुक्त रूपमा उद्घाटन गरे ।


जिसस कावा प्रमुख बुढाले दुर्गमका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन यस्ता सेवाले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

उनले भने, ‘गाउँकै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नहुँदा सदरमुकाम जानुपर्ने बाध्यता थियो । यसले अधिकांश महिला घरमै सुत्केरी हुने गर्थे । सदरमुकाम गए पनि महँगो खर्च लाग्थ्यो । तर, अब गाउँमै ल्याब, बर्थिङसेन्टर सञ्चालन भएपछि नागरिकले राहत महसुस गर्नेछन् ।’

 

गाउँमै बर्थिङ सेन्टर हुँदा, आमा तथा बच्चाको सुरक्षासँगै शिशु मृत्युदर घटाउने सरकारको लक्ष्य पनि सफल हुने उनको भनाइ छ । पातारासीको प्राथमिकता भनेकै स्वास्थ्य, पर्यटन कृषि र जलविद्युत् क्षेत्र रहेको गाउँपालिका अध्यक्ष बोहराले जानकारी दिए ।


पूर्वाधार, जनशक्ति तथा उपकरणसहितको ल्याब र बर्थिङ सेन्टर सञ्चालनमा आएकाले अब पातारासीका नागरिकलाई सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको अध्यक्ष बोहराले बताए ।


पालिकाभरिका करिब ३४ सय घरधुरीलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने गरी काम भइरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक रतन बुढ्थापाको भनाइ छ ।