close

मेथिनकोट अस्पतालमा कोरोनोविरुद्धको खोप अभियान

मेथिनकोट अस्पतालमा कोरोनोविरुद्धको खोप अभियान

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट अस्पतालमा कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम सुरु भएको छ । शुक्रबार मेथिनकोट अस्पतालबाट पहिलो चरणमा खोप लगाउन सुरु गरिएको हो । 


काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र नमोबुद्ध नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको उपस्थितिमा मेथिनकोट अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामशरण श्रेष्ठले पहिलो खोप लगाएर अभियान सुरु गरे ।

 

श्रेष्ठलाई मेथिनकोट अस्पतालमा कार्यरत अनमी कौशल्या न्यौपानेले पहिलो खोप लगाइदिएकी थिइन् । त्यसअघि प्रमुख जिल्ला अधिकारी पोखरेल र जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले नगरप्रमुख तिमल्सिना र डा. श्रेष्ठलाई खोप हस्तान्तरण गरेका थिए ।


मेथिनकोट अस्पतालबाट नमोबुद्ध नगरपालिका, तेमाल गाउँपालिका, रोशी गाउँपालिका र महाभारत गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक, सफाइकर्मी तथा स्वास्थ्य क्षेत्रमा कार्यरत सुरक्षाकर्मीलाई खोप लगाइनेछ । 

 

यसमध्ये नमोबुद्धका स्वास्थ्यकर्मी, स्वयंसेविका, एम्बुलेन्स चालक, सफाइकर्मीलगायत २ सय ३० जना, रोशीका १ सय ५०, तेमाल गाउँपालिकाका १ सय १९ र महाभारत गाउँपालिकाका ९३ जना छन् ।

यसमा केही पालिकामा कार्यरत स्वास्थ्य क्षेत्रको सुरक्षामा संलग्न सुरक्षाकर्मी, सफाइकर्मी र एम्बुलेन्स चालकको संख्या थप हुने मेथिनकोट अस्पतालका हेल्थ असिस्टेन्ट शोभाकान्त आचार्यले बताइन् । पहिलो चरणको खोप अभियान २१ माघसम्म सञ्चालन हुनेछ । 


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पोखरेलले ढुक्क भएर कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरे । उनले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाकै कारण स्वास्थ्य क्षेत्रको अवस्थामा सुधार आएकाले पहिलो चरणमा उनीहरू प्राथमिकतामा परेको र क्रमशः सबै जनताले खोप सुविधा पाउने जानकारी दिए ।

 

कार्यक्रममा नमोबुद्ध नगर प्रमुख तिमल्सिनाले स्वास्थ्यकर्मी, जनप्रतिनिधिलगायत सबै क्षेत्रको सक्रियताका कारण काभ्रेमा कोरोनाका कारण धेरै क्षति पुग्न नपाएको दाबी गरे । खोप कार्यक्रमले स्वास्थ्यकर्मीको आत्मबल थप बलियो हुने विश्वास उनको छ ।

 

मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा स्तरोन्नति गरिएको र अब ट्रमा सेन्टरको रूपमा अघि बढाउन पहल भइरहेको उनले जानकारी दिए ।

 

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाले काभ्रेका स्वास्थ्यकर्मी, सफाइकर्मीलगायत कोरोना रोकथामको फ्रन्ट लाइनमा खटिनेलाई पहिलो चरणमै सबैलाई समेटिने बताए ।

 

मेथिनकोट अस्पताल व्यवस्थापन समिति अध्यक्ष एवं नमोबुद्ध वडा नम्बर ४ का वडाध्यक्ष उद्धवप्रसाद काफ्लेले खोप कार्यक्रमका लागि मेथिनकोट अस्पताललाई छनोट गरिएकामा सबैप्रति आभार प्रकट गरे ।

 

मेथिनकोट अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामशरण श्रेष्ठले खोप अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न अस्पतालको सिंगो टिम लागिपरेको जानकारी दिए ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी भूपेन्द्रबहादुर खत्री, नमोबुद्धका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, जिल्ला समन्वय अधिकारी केशवप्रसाद रिजाललगायत उपस्थित थिए । 

 

यसअघि काभ्रेको धुलिखेलस्थित धुलिखेल अस्पतालबाट बुधबार खोप कार्यक्रम सुरु गरिएको थियो । काभ्रेमा पहिलो चरणमा ३ हजार ५ सय ८१ जनालाई कोरोनावरुद्धको खोप लगाइनेछ ।