close

म्याग्दीमा एकैसाथ ३ वटा मोटर गुड्ने पुल

धवलागिरि, मालिका र अन्नपूर्णका ग्रामीण बस्तीसम्मै सडक पहुँच 

म्याग्दीमा एकैसाथ ३ वटा मोटर गुड्ने पुल

धवलागिरि, मालिका र अन्नपूर्णका ग्रामीण बस्तीसम्मै सडक पहुँच 

Trulli
ADVERTISEMENT

म्याग्दी- गण्डकी प्रदेश सरकारले म्याग्दीमा एकैसाथ ३ वटा मोटर चल्ने पुल निर्माण सुरु गरेको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत, धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकाको ग्रामीण बस्तीलाई सीधा सडक सञ्जालसँग जोड्न पुल निर्माण सुरु गरिएको हो ।

 

कार्यालयका इन्जिनियर सन्तोष अर्यालले ९ करोड ८० लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेका फरक-फरक निर्माण कम्पनीहरूले पुल निर्माण सुरु गरेको बताए । 

 

‘गत आर्थिक वर्षमै सम्झौता भए पनि कोरोनाको जोखिम र बाढीपहिरोका कारण व्यवसायी कार्यक्षेत्रमा परिचालन हुन सकेका थिएनन्’, उनले भने, ‘हिउँद लागेसँगै पुल निर्माण धमाधम भइरहेको छ । निर्धारित समयभित्रै पुल निर्माण गरिसक्ने तयारीसहित ठेकेदारले उपकरण र मजदुर परिचालन गरेका छन् ।’

 

मालिका गाउँपालिकाको दरबाङदेखि सिरदी हुँदै निस्कोट र मंगलाको अर्मन जोड्ने सडकअन्तर्गत म्याग्दी खोलामाथि ४० मिटर लामो ट्रस प्रविधिको पुल निर्माण गर्न ४ करोड ४५ लाख रुपैयाँमा प्रदीप–जुम्ली जेभीले ठेक्का लिएको छ । 

 

४ साउन २०७७ मा सम्झौता भएको यो आयोजनाको म्याद २ वर्ष छ । खोलाको दायाँ र बाँया किनारमा पहाड भएकाले त्यसैमा खाडल खनेर पिल्लर बनाई पुलको ट्रस जोड्ने र ढलान गर्ने डिजाइन बनेको छ ।  निर्माण कम्पनीका प्रतिनिधि प्रवीन सापकोटाले पुलको जग राख्ने खाडल खन्ने काम सकिएको बताए । 

 

मालिका गाउँपालिका वडा नम्बर ७ बिम र धवलागिरिको वडा नम्बर ६ मराङको सीमा भएर बग्ने अर्गलास्थित मराङ खोलामा २५ मिटर लामो आरसीसी टीबीएम प्रविधिको पुल निर्माणका लागि १२ मार्च सन् २०२० मा फेवा-सावित्री जेभीले ठेक्का सम्झौता गरेको थियो । 


२ करोड ७२ लाख रुपैयाँमा ठेक्का लिएको यो योजनाको म्याद १ वर्षको छ । पुलको जग खनेर पिल्लरको ढलान सुरु गरेको निर्माण कम्पनीका प्रतिनिधि रामचन्द्र कार्कीले बताए । 


यसैगरी अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ र ८ को सीमास्थित संसारे खोलामा १६ मिटर लामो मोटर चल्ने पुल बनाउन २०७६ फागुनमा रायमाझी-हिमालयन जेभीले ठेक्का सम्झौता गरेको थियो । २ करोड ६३ लाख रुपैयाँमा सम्झौता गरेको ठेकेदारले एकातर्फको पिल्लरको ढलान सुरु गरेको छ । यो पुलको म्याद पनि आगामी फागुनसम्म छ । 

 

कार्यालयमार्फत मालिकाको वडा नम्बर ७ भारवाङ र धवलागिरिको वडा नम्बर ७ बगरको सीमा म्याग्दी खोलामा ४० मिटर लामो पुल निर्माणाधीन अवस्थामा छ । भारवाङको पुल निर्माणका लागि २०७६ असारमा देव एन्ड सायर बीएन जेभीले ६ करोड २४ लाख रुपैयाँमा ठेक्का लिएको थियो । कम्पनीका प्रतिनिधि नारायण जिसीले ९ महिनापछि काममा फर्किएर निर्माणलाई तीव्रता दिएको बताए ।


यसैगरी दरवाङ-धारापानी-ताकम-मुना सडकअन्तर्गत गत वर्ष ठेक्का सम्झौता भएको दाङखोलाको मोटर चल्ने पुलको पुनः डिजाइन गर्दा लम्बाइ बढाउनुपर्ने देखिएको इञ्जिनियर अर्यालको भनाइ छ । यसअघि १५ मिटरको पुल बनाउने डिजाइन तयार पारे पनि बाढीले धेरै कटान गरेपछि २५ मिटर लामो बनाउनुपर्ने भएको हो ।

 

८.४ मिटर फराकिलो हुने सबै पुलको ६ मिटरमा ढलान र दायाँबायाँ १.२ मिटरको पैदल हिँड्ने फुटपाथ हुनेछ् । पुल निर्माण भएपछि ग्रामीण सडकमा बाह्रै महिना नियमित सवारी सञ्चालन हुनेछ ।