close

गुल्मीमा सुरु भयो गरिबी पहिचान अभियान (भिडियाे खबर)

गाउँ-गाउँ पुग्दै गणक तथा सुपरिवेक्षक 

गुल्मीमा सुरु भयो गरिबी पहिचान अभियान (भिडियाे खबर)

गाउँ-गाउँ पुग्दै गणक तथा सुपरिवेक्षक 

ADVERTISEMENT

गुल्मी- गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका, २०७५ अनुसार गरिब पहिचानका लागि आवश्यक तथ्यांक संकलन तथा विशलेष गर्ने र गरिब परिवारको रूपमा पहिचान भएका परिवारलाई परिचयपत्र वितरण गर्ने व्यवस्था गरेको छ ।

 

अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेका छन् । सोहीअनुसार गुल्मीमा पनि असार मसान्तसम्म परिचय वितरण गर्ने तयारी सुरु गरिएको छ ।

 

गुल्मीमा गरिब परिचय-पत्र वितरण हुने भएको छ । आगामी असार मसान्तसम्म जिल्लाका सबै पालिकामा परिचयपत्र वितरण हुने भएको हो ।

 

त्यसका लागि सम्बन्धित स्थानीय तहमा गई तथ्यांक संकलन गर्न प्रत्येक पालिकामा सुपरिवेक्षक तथा गणक छनोट गरिएको छ । सैद्धान्तिक, प्रयोगात्मक र प्राविधिक विषयमा प्रशिक्षण पाएपछि नयाँ ऊर्जाका साथ गणक तथा सुपरिवेक्षकले ११ माघबाट गाउँ-गाउँमा काम थालेको मुसीकोट नगरपालिकाकी सुपरिवेक्षक समीक्षा कँडेलले बताइन् ।


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत जिल्ला समन्वय समितिले जिल्लामा गरिब पहिचान कार्यक्रम सञ्चालन गरेको छ । प्रत्येक पालिकामा ४ देखि ७ जनासम्म गणक र १÷१ जना सुपरिवेक्षक नियुक्त गरिएको छ ।

 

गणकले सफ्टवेयरमार्फत हरेक परिवारको विभिन्न विवरण संकलन गर्छन् । प्रत्येक परिवारको घरमूलीसँगबाट परिवारका सदस्य, आम्दानी, बचत, आम्दानीको स्रोत, रोजगारीलगायत विषयवस्तुको तथ्यांक लिइने सहजकर्ता सञ्जीवनी अर्यालले जानकारी दिइन् ।

 

गरिब तथा विपन्न वर्गको तथ्यांक नहुँदा राज्यका तर्फबाट राहत तथा सहुलियतका कार्यक्रम सञ्चालन गर्न समस्या भएको र वितरण पनि उपलब्धिपूर्ण एवं प्रभावकारी हुन सकिरहेको छैन ।

 

गरिब घरपरिवार परिचयपत्रले लक्षित एवं विपन्न वर्गलाई राहत, सहुलियत, रोजगारी, सामाजिक सुरक्षालगायतमा विशेष सहयोग पुर्‍याउने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको भनाइ छ । तथ्यांक संकलनपछि अति गरिब परिवारले रातो कार्ड, मध्यम गरिब परिवारले पहेँलो तथा गरिब परिवारले हरियो कार्ड पाउनेछन् ।