close

प्रतिनिधिसभा पुनर्स्थापना र चुनाव दुवै द्वन्द्वका कारक : जसपा अध्यक्ष ठाकुर 

प्रतिनिधिसभा पुनर्स्थापना र चुनाव दुवै द्वन्द्वका कारक : जसपा अध्यक्ष ठाकुर 

Trulli
ADVERTISEMENT

धनुषा- गत ५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्ता पक्ष र विपक्षबीच आरोप-प्रत्यारोपकाे शृंखला चलिरहेको छ । नेकपाको सरकारविरोधी समूह, विपक्षी कांग्रेस र जनता समाजवादी पार्टीले विभिन्न चरणमा विरोधका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

 

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरूले माग गर्दै आएको संविधान संशोधनको मुद्दा सल्टिए मात्र राजनीति स्थिर हुने दाबी गरेका छन् ।

 

‘राजनीति संकट समाधानका लागि संविधान संशोधन आवश्यक नभइहुन्न’, अध्यक्ष ठाकुरले भने । ठाकुरले जनकपुरमा आयोजित एक कार्यक्रममा संसद् पुनर्स्थापना र चुनावले राजनीति संकट समाधान नहुने दाबी गरे ।

 

प्रतिनिधिसभा पुनस्र्थापना र चुनावले मुलुकमा नयाँ द्वन्द्व सुरु हुने उनले ठोकुवा गरे । ‘प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधिसभा पुनस्र्थापनाले मुलुकको संकट समाधान हुन सक्दैन’, अध्यक्ष ठाकुरले भने, ‘चुनाव भए पनि कानुनी रूपमा नेकपाका कारण अर्को द्वन्द्व सुरु हुन्छ ।’

 

शनिबार जनकपुरमा जसपा सम्बद्ध राष्ट्रिय इन्जिनियर संघको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष ठाकुरले सत्ताधारीले नै मुलुकमा राजनीति संकट निम्त्याएको बताए ।

 

कार्यक्रममा जसपा नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीले प्रतिगमनमाथि प्रतिगमन गरेको बताए । ‘संविधान जारी गर्दा पहिलो प्रतिगमन भएको थियो’, महतोले भने, ‘जबर्जस्ती जारी भएको संविधानलाई टेकेर ओलीले प्रतिनिधिसभा विघटन गरी प्रतिगमनमाथि प्रतिगमन गरे ।’

 

गलत ट्रयाकबाट संविधान आएकाले मुलुकमा नतिजा पनि गलत आएको महतोको तर्क छ । 

 

महतोले भने, ‘संविधान बनाउँदा ब्यानर मात्रै फेरियो । विचार र व्यवहार फेरिएन । व्यवस्था मात्रै फेरेर संविधान टिक्दैन । मुलुकमा राजनीति संकटले गर्दा चुनाव सम्भव छैन ।’

 

अर्का नेता शरतसिंह भण्डारीले शक्तिशाली पार्टीबाट प्रधानमन्त्री भएका ओलीको संसद् भंग गर्ने कदम प्रतिगमन भएको टिप्पणी गरे । जसपा चुनावका लागि पनि तयार रहेको उनको दाबी छ ।

 

कार्यक्रमा राजकिशोर यादव, अनिल झा, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनललगायत सहभागी थिए ।