close

जुम्ली सिंहदरबारका मुकाम तोकिँदै 

जुम्ली सिंहदरबारका मुकाम तोकिँदै 

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाका स्थानीय तहले गाउँ तथा नगरपालिकाभित्रका मुकाम तोक्न थालेका छन् । हिमा गाउँपालिकाले लामो समयको विवादपछि आठौँ हिउँदे गाउँसभाबाट मुकाम टुंगो लगाएको हो ।


गाउँपालिकाको आठौँ सभाले पालिकाको मुकाम बाजागाडा तोकेको हो । गाउँपालिका अध्यक्ष रजबहादुर शाही नागरिकलाई समावेशी रूपमा सेवा लिने हिसाबले गाउँसभा यो निर्णयमा पुगेको बताए । 


प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर रावलका अनुसार गाउँपालिकाको वडा नम्बर ५ को बाजागाडामा जग्गा लिने तयारी भइरहेको छ । यस प्रक्रियामा जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयको सहयोग अपेक्षा रहेको उनको भनाइ छ । 


त्यस्तै, गाउँसभाले वडा नम्बर १ को केन्द्र देवारगाउँमा सार्ने निर्णयसमेत गरेको छ । वडा नम्बर १ का ४ जना सदस्यले वडाको केन्द्र सार्ने विषयमा असहमत रहेको बताएका छन् । असहमति जनाए पनि गाउँपालिकाले भने वडा नम्बर १ मा ३ वटा गाउँबस्ती छन् । बड्की देवारगाउँ र आचार्यलिही हुन् । 

 

यिनै ३ गाउँबस्ती बीचमा देवार गाउँ पर्छ । ३ वटै गाउँबस्तीका नागरिकलाई सेवा लिन सहज हुने भएकाले देवारगाउँमै वडा कार्यालय स्थापना गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत रावलले जानकारी दिए । 

 

यस्तै, चन्दननाथ नगरपालिकाले सदरमुकाम खलंगा मुकाम तोकेको छ भने तातोपानी गाउँपालिकाले वडा नम्बर ३ तिलाकोट, सिंजा गाउँपालिकाले नगराकोट र तिला गाउँपालिकाले डुन्डेली तोकेको हो । गुठीचौराले यहाँको धौलमुडी तोकेको गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । 

 

जुम्लाका ८ मध्ये ६ स्थानीय तहले मुकाम तोकिसकेका छन् भने कनकासुन्दरी र पातारासी गाउँपालिकाले मुकाम तोक्न सकेका छैनन् । यिनै २ गाउँपालिकाको मुकाम तोक्ने विषयमा भने विवाद छ ।