close

जब जुम्लाका सीडीओ मापसे चेकजाँचमा निस्किए‍...

जब जुम्लाका सीडीओ मापसे चेकजाँचमा निस्किए‍...

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापासहितको सुरक्षाकर्मीको टोली विपन्न परिवारलाई राहत वितरण गरी सिंजा क्षेत्रबाट सदरमुकाम खलंगा फर्कने क्रममा शनिबार बेलुका चन्दननाथ नगरपालिका वडा नम्बर ९ उमगाडमा मापसे गरेका मोटरसाइकल चालक भेटिए । 

 

प्रमुख जिल्ला अधिकारीले आधा घन्टा गाडी रोकेर ट्राफिक चेकजाँच गर्दा अधिकांश चालक मापसे गरेका भेटिएका हुन् । कर्णाली राजमार्गको जुम्ला खण्डमा सञ्चालन हुने ठूलासाना सवारीका अधिकांश चालकले रातीको समय मापसे गरेरै सवारी चलाउने गरेको पाइएको हो ।

 

अनुगमनका क्रममा मापसे गरी सवारी चलाएका ५ जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक नवीन थापा मगरले बताए । उनले भने, ‘शनिबार राती मापसे गरी जिप, अटो तथा मोटरसाइल चलाएका ४ जना र १ जना मापसे गरेका यात्रुलाई नियन्त्रणमा लिएका छौँ । प्रशासनमा प्रतिव्यक्ति १ हजार रुपैयाँ र ट्राफिकमा मापसे गरी सवारी चलाएबापतको जरिमाना बुझाएर छाडिएको छ ।’

 

शनिबार राती नै मापसे गरी बालुवा बोकेर ल्याएका १ जना ट्रयाक्टर चालक भने भागेको उनले जानकारी दिए । ‘साइट नछोड्ने, ट्राफिक नियमितविपरीत ओभरटेक गर्ने, कागजातबिनै गाडी हुइँक्याउने चालककै कारण दुर्घटना बढेका छन् । अर्कोतर्फ स्थानीयले सडकमै मनपरी रूपमा निर्माण सामग्री राख्दा सडक साँघुरिएर जोखिम बढेको छ’, प्रहरी निरीक्षक मगरले भने ।

 

प्रमुख जिल्ला अधिकारी थापाले रातीको समय ट्राफिक जाँच नहुने र चालकले लापरबाही गरेकै कारण दुर्घटनाको जोखिम बढेको बताए । ‘मापसे गरी सवारी चलाउने चालककै कारण ठूला दुर्घटना भएका छन् । जुम्लामा पनि यस्तो समस्या देखियो । अब नियमित चेकजाँचलाई कडा गर्नुको विकल्प छैन’, प्रजिअ थापाले भने ।

 

कर्णाली राजमार्गमा चालकको लापरबाही र निर्माण सामग्री मनपरी राख्दा दुर्घटना बढेको छ । चेकजाँचमा कडाइ र सडक अतिक्रमण गर्नेहरूलाई पनि नियमन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।


उनले भने, ‘आधा घन्टाको अन्तरालमा चेकजाँच गर्दा पाँचै जना भेटिए भने राती चलाउने धेरैजसो सवारी चालकले मदिरा सेवन गरी गाडी चलाएको देखियो’, प्रजिअ थापाले भने । 

 

मापसे उपकरणबिनाको जुम्ला

 

जुम्लामा मापसे गरेर सवारी चलाउने चालकको संख्या बढ्दै छ । रातीको समय मापसे गर्ने, गाडी कुदाउने गरेकै कारण दुर्घटनाको जोखिम बढेको छ । तर, जुम्लामा भने मापसे जाँच गर्ने उपकरण नभएको पाइएको छ ।

 

ट्राफिक कार्यालयका प्रहरी हवल्दार कुशराज शाहीका अनुसार मापसे गर्ने (बे्रथ लाइजर) उपकरण जुम्लामा छैन । चालकको लापरबाही बढेपछि अहिले ३ वटा उपकरण माग गरिएको उनले बताए । 

 

ट्राफिक कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको हालसम्म १४ वटा सवारी दुर्घटना भएका छन् । चालककै लापरबाहीका कारण बढी सवारी दुर्घटना भएको हवल्दार शाहीले सुनाए । उनका अनुसार १४ वटा दुर्घटनामा परी २७ जना घाइते र २ जनाको मृत्यु भएको छ ।

 

चालू आर्थिक वर्षको माघ दोस्रो सातासम्म कारबाही गरिएका ८ सय ३१ वटा सवारीबाट ८ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ ।