close

१ करोडको सभाहल निर्माणमा चलखेल

अख्तियारले थाल्यो छानबिन

१ करोडको सभाहल निर्माणमा चलखेल

अख्तियारले थाल्यो छानबिन

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ दरवाङको छ्यारछ्यारेमा बहुउद्देश्यीय सभाहल निर्माणमा चलखेल भएको देखिएको छ ।

 

अस्वाभाविक लागत बनाएर डिजाइन, ठेक्का प्रक्रियामा मिलेमतो र भवन निर्माणमा अनियमितता गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालयमार्फत छानबिन सुरु गरेको छ ।

 

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले आयोगको निर्देशनअनुसार प्राविधिक सहितको टोली बनाएर छानबिन सुरु गरेको जानकारी दिए । 

 

‘छानबिन टोलीले भवनको नापजाँचका साथै सम्बन्धित कागजातको अध्ययन सुरु गरेको छ’, उनले भने, ‘कागजातको अध्ययन र नापचाजँपछि तयार पार्ने प्रतिवेदन प्रशासनमा आउनेछ । त्यसलाई रायसहित थप अनुसन्धानका लागि अख्तियारमा पठाउँछौँ ।’ 

 

टोलीमा प्राविधिक, प्रशासनिक र लेखासँग सम्बन्धित अधिकृत स्तरका कर्मचारी छन् । मालिका गाउँपालिकाको ६० र प्रदेश सरकारको ४० प्रतिशत लागत साझेदारीमा सभाहल निर्माण भएको हो । 

 

बागलुङको जयलक्ष्मी निर्माण सेवाले २०७६ १५ फागुन २०७६ मा १ करोड ४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । 

 

विद्युतीय माध्यमबाट आह्वान गरिएको ठेक्का प्रक्रियामा २ वटा फर्मले सहभागिता जनाएका थिए । १५ जेठ २०७८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको भवन गत पुसमै सकिएको छ ।

 

लक्ष्यभन्दा छिटो काम भएको सो सभाहलको डिजाइन, लागत अनुमान र ठेक्का प्रक्रियाका विषयमा दरवाङका बासिन्दाले शंकास्पद भएको प्रश्न उठाएका छन् । 


अस्वाभाविक लागत बनाएको, अनुकूलका ठेकेदारलाई काम लगाउन भवन डिभिजनका कर्मचारीले ठेक्का प्रक्रियामा मिलेमतो र चलखेल गरेको आरोप लागेको छ । १ सय ५० जना अट्ने क्षमताको सो सभाहलको लम्बाइ ७७ फिट ७ इन्च र चौडाइ ४२ फिट ३ इन्च छ । 

 

१ तले सभाहल भवनमा पिल्लर बनाइएको छैन । स्टेज, २ वटा चेन्जिङ रुम, ३ वटा शौचालय, पानी टंकी बनाइएको छ । टिनको छाना भएको भवनमा फलामका ट्रस राखिएको छ । ११ फिट अग्लो इँटाको पर्खाल लगाइएको भवनको भुइँ ढलान गरिएको छ भने ट्रसको उचाइ ५ फिट छ ।


रघुगंगा गाउँपालिकाले प्रदेश सरकारसँगको साझेदारीमा मौवाफाँटमा बनाउन लागेको सभाहलको डिजाइन भने मालिकाको भन्दा फरक छ । पिल्लर राखिने ३ तले भवनको भुइँ तलामा बन्ने सभाहलको ढलान, पहिलो तलामा कोठा पार्टेसन गरेर फिनिसिङ र तेस्रो तलामा पिलर उठाउन हिमालयन बिल्डर्स ललितपुरले ६७ लाख ७ हजार ५ सय २६ रुपैयाँमा ठेक्का लिएको छ । 

 

गाउँपालिकाकै प्राविधिकले डिजाइन तयार पारेको यो सभाहल भवनको लम्बाइ ४८ फिट र चौडाइ ३७ फिट रहेको छ ।

 

दरवाङको सभाहल निर्माणको डिजाइन र ठेक्का प्रक्रिया प्रदेश सरकारअन्तर्गत यो वर्षदेखि खारेज भएको घोषणा भवन डिभिजन कार्यालय बागलुङका कर्मचारीले गरेका थिए । गाउँपालिकाले सञ्चालन गर्ने योजनाको डिजाइन र ठेक्का प्रक्रियामा भवन डिभिजनका कर्मचारीको संलग्नता र सक्रियतालाई शंकाको रूपमा हेरिएको छ ।

 

गाउँपालिकाका लेखा अधिकृत फडिन्द्रप्रसाद आचार्यका अनुसार २० लाख रुपैयाँ पेस्की लगेका निर्माण व्यवसायीले दोस्रो चरणमा थप ३० लाख भुक्तानी लगेका छन् । अन्तिम बिल भुक्तानी गर्न कर्मचारीले आनाकानी गरेको ठेकेदार कम्पनीका प्रतिनिधि बाबुराम सापकोटाले बताए । 

 

सभाहलको ढोकामा प्रयोग भएका काठ बांगिएपछि प्राविधिकले फेर्न लगाएका थिए । सभाहल निर्माणमा आवश्यक बालुवा निर्माण स्थलकै प्रयोग गरिएको मजदुर नाइके छिरी शेर्पाले जानकारी दिए । डिजाइन र लागत अनुमानमा भने बाहिरबाट खरिद गर्ने उल्लेख छ । 

 

मालिकाका इञ्जिनियर नमनारायण ढुंगानाले आफू नियुक्त हुनुअघि नै भवन डिभिजनका प्राविधिकले गरेको डिजाइन र ठेक्कामा १५ प्रतिशत ओभरहेड, १० प्रतिशत नाफा र डेढ प्रतिशत जमानतसमेत जोडिएकाले लागत बढी देखिनु स्वाभाविक भएको प्रतिक्रिया दिए । 


मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले प्रदेश सरकारले तयार पारेको डिजाइनअनुसार भवन डिभिजनको प्राविधिक सहयोगमा ठेक्का लगाई पालिकाका प्राविधिकको निगरानीमा सभाहल निर्माण भएकाले शंका गर्नु नपर्ने दाबी गरे ।