close

डम्बरी ओली अर्थात् ‘ढुंगाको काप’बाट निस्किएकी नेतृ 

डम्बरी ओली अर्थात् ‘ढुंगाको काप’बाट निस्किएकी नेतृ 

Trulli
ADVERTISEMENT

डडेल्धुरा- डडेल्धुरामा २ नगरपालिका र ५ गाउँपालिका गरी ७ वटा स्थानीय तह छन् । तीमध्येको एउटा हो, नवदुर्गा गाउँपालिका । स्थानीय तहमा निर्वाचित भएर कांग्रेस उम्मेदवार डम्बरी ओली अहिले गाउँपालिकाको उपाध्यक्षका रूपमा कार्यरत छन् । उनीमाथि जनतामाझ निर्वाचनको समय गरेको वाचा पूरा गर्नु र न्यायिक समिति संयोजकको चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने दायित्व ।


ओली स्थानीय तहको न्यायाधीश बनिसकेपछि सामान्य झैझगडा, घरेलु हिंसा, योजना विवाद, ज्याला मजदुरी नपाइएको गुनासो, जातीय विभेदजस्ता द्वन्द्व स्थानीय न्यायिक समितिमार्फत समाधान गरेको भन्दै अन्तर्राष्ट्रिय संस्था यूएनडीपीले नवदुर्गा गाउँपालिकाको न्यायिक समितिलाई जिल्लाकै उत्कृष्ट चयन गरेको थियो ।


को हुन् ओली ?

 

अमरगढी नगरपालिका वडा नम्बर ८ गैराल गाउँमा १९ पुस २०२८ मा ओलीको जन्म भएको थियो । उनका बुबा भारतको बम्बईमा नौकरी गर्थे । परिवारमा दोस्रो सन्तान उनले जन्मिँदै लैंगिक विभेद खेप्नुपर्‍यो । 

 

दिदी जन्मिएको १५ वर्षपछि ओलीको जन्म भएको थियो । घरमा लगातार २ छोरी भइसके पनि छोराको जन्म नहुँदा उनका आमाबुबा चिन्तित थिए । तर, उनी जन्मिएको १४ वर्षपछि आमाले छोरो पाइन् । त्यसको केही समयपछि अर्को छोरा पनि जन्मिए । 

 

‘बुबाआमाको बुढेसकाल लाग्ने बेला भाइहरू जन्मिएपछि परिवारमा निकै हर्ष छाएको अझै सम्झना छ,’ उनले भनिन् । पारिवारिक आर्थिक अवस्था निकै नाजुक थियो । बुबा बम्बई सहरबाट वर्षमा एक पटक मात्र घर फर्किन्थे । 

 

‘कुनै वर्ष त बुबा आफू नआएर रकम मात्रै घर पठाउनुहुन्थ्यो । बुबाले कमाएर ल्याउने सीमित रकमले वर्षभरिका लागि आवश्यक खाद्यान र लत्ताकपडा किन्थ्यौँ,’ ओलीले भनिन्, ‘हामीसँग खान मिल्ने जमिन त थियो तर हिउँदे खेती निकै कम फल्ने र बर्खामा धान खेतीका लागि सिँचाइको सुविधा नहुँदा उत्पादन न्यून हुन्थ्यो ।’

 

खेतबारीमा कठिन परिश्रम गरेर पनि वर्षभरि खान नपुग्ने भएकाले बुबा कामको खोजीमा भारत जानुपरेको उनको भनाइ छ । ओलीले बाल्यकालदेखि नै कठिन परिश्रम गर्दै आइन् । अर्काकोे घरमा जाने भएकाले होला, छोरीले सबै काम सिक्नुपर्छ र मिहिनेती बन्नुपर्छ भन्ने सोचले आमाले आफैंसँग काममा लैजाने गरेको स्मरण उनको छ ।


गाउँमा विद्यालय नहुँदा उनले १० वर्षको उमेर पुगेपछि मात्रै कखरा सिक्न पाइन् । गाउँबाट झन्डै १ घन्टा हिँडेर पहिलो दिन विद्यालय भर्ना भइन् । त्यसै समय उनले पढेर केही गर्छु भन्ने सोचेकी थिइन् रे !


आर्थिक अवस्था कमजोर भएकाले दिदीले कक्षा ५ पढेर विद्यालय छाडेको उनी बताउँछिन् । कक्षा १ मा भर्ना हुन जाँदा गाउँलेले छोरी पढाएर केही हुँदैन भन्दै सम्झाउन खोजे पनि आमाले कसैको कुरा नसुनेर उनलाई विद्यालय भर्ना गरेकी थिइन् ।


‘बुबाले भारतमा दुःख देखेर हुनुपर्छ, दिदी र मलाई विद्यालय पठाउनुभएको हो । आफू अशिक्षित भएकाले दुःख खेप्नुपरेको महसुस गर्दै आमाले पनि छोरीहरूलाई पढाउनुपर्छ भन्ने धारणा राख्नुहुन्थ्यो । १८ वर्षको उमेरमा कक्षा ८ मा पढ्थेँ,’ ओलीले भनिन् ।


माइतमा महिनावारी हुन नदिन बिहे 

 

त्यतिबेलाको समाजमा छोरीले माइतमा महिनावारी हुनु राम्रो होइन भन्ने अन्धविश्वास थियो । त्यसैले उनको पनि बुबाआमाले विवाह गरिदिए । 

 

‘विवाह रहरले गरेकी हुँ कसरी भन्नू ? मैले कक्षा १० पास भएपछि बिहे गर्छु भन्दा पनि आमाबुबाले ठूली भइसकेकी छोरी अन्माउन ढिलाइ गर्नुहुँदैन भन्दै जिद्धि गरेर विवाह गराइदिए,’ उनले भनिन्, ‘सोझो केटो र खानदानी इष्टमित्रबाट प्रस्ताव आएको भन्दै मेरो बिहे हतार-हतारमा गरिएको हो ।’

 

श्रीमान्को पनि आर्थिक अवस्था नाजुक थियो । सानैमा आमाबुबा दुवै गुमाएर टुहुरो बनेका उनका श्रीमान्को लालनपोषण अर्काको घरमा भएको थियो । बिहेपछि मात्रै उनीहरू आफ्नो घर सरेका थिए । 

 

विवाहपछि पनि उनले निकै संघर्ष गरिन् । विवाहपछि घरको सम्पूर्ण जिम्मेवारी आफ्नै काँधमा आएकाले पढाइलाई निरन्तरता दिन सकिनन् । श्रीमानले पढ् भने पनि घरायसी परिस्थिति बुझिसकेकाले उनको चाहना पूरा भएन ।

 

नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा

 

विद्यालयमा छँदै उनले २०४५ मा नेपाल विद्यार्थी संघको सदस्यता लिएकी थिइन् । उनका ठूलबुबाको छोरा दाजु डम्बरसिंह गैराल त्यतिबेला नेविसंघका डडेल्धुरा जिल्ला कार्यसमिति अध्यक्ष थिए । 

 

उनी नेविसंघ डडेल्धुराको संस्थापक अध्यक्ष भएकाले २०५४ को स्थानीय निर्वाचनमा अमरगढी नगरपालिकाको उपमेयर पदमा कांग्रेसबाट उम्मेदवार भएर विजयी भएका थिए । उनै दाजुले ओलीलाई राजनीतिक रूपमा चेतनशील बनाएर पार्टीमा अघि बढाउन अभिभाकत्व प्रदान गरे ।

 

‘भूमिगत रूपमा विद्यार्थी राजनीति गर्नुपथ्र्यो, त्यतिबेला । प्रहरीले थाहा पाए बहुदलवादी अराष्ट्रिय तत्त्व भनेर पक्राउ गथ्र्यो । त्यस्तो कठिन अवस्थामा मलाई दाजु गैरालले राजनीतितिर डो¥याउनुभयो,’ उनले भनिन् ।

 

श्रीमान्को साथ

 

दाजु डम्बरले घरमै पुगेर उनका श्रीमान्लाई पनि कांग्रेसको क्रियाशील सदस्यता दिएका थिए । त्यसपछि उनी घरायसी कामसँगै राजनीतिमा पनि होमिइन् । श्रीमान्ले सामाजिक कार्यमा सहभागिता जनाउन उत्प्रेरित गरे ।

 

देशमा प्रजातन्त्र आएपछि पनि पार्टीमा संगठित भएर काम गरिरहेकाले उनले २०५४ को स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट वडा सदस्य पदमा उम्मेवार भएर विजयी भइन् । स्थानीय निकायमा वडा सदस्यका हैसियतले ५ वर्षको कार्यकाल नसकिँदै नेकपा माओवादीका गतिविधि सुरु भए । 

 

२०४६ तिरै गाँउमा गठित महिला हिंसा निगरानी समूहको सदस्य भएर सामाजिक सेवा सुरु गरेकी उनले तत्कालीन कोटेली गाविस स्तरीय महिला सञ्जालको अध्यक्ष भएर काम गर्ने अवसर पनि पाइन् । 

 

घरेलु हिंसापीडित महिलाको हकहितका लागि आवाज उठाउनेदेखि महिलाको समग्र विकासका क्रियाकलापमा समेत अगुवाइ गर्न थालेकाले २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले उनलाई नवदुर्गा गाविसको उपाध्यक्ष पदको उम्मेदवार बनाएको थियो ।

 

उपाध्यक्ष पदको उम्मेदवारका थुप्रै आकांक्षीहरू देखिएका भए पनि आफ्नो पक्षमा बलियो जनमत भएकाले पार्टीले उम्मेदवार बनाएको उनले बताइन् । २०७४ को स्थानीय निर्वाचनमा पार्टीभित्रको आन्तरिक विग्रह र गुटबन्दीका कारण गाउँपालिकामा राम्रै पकड भए पनि कांग्रेसका अध्यक्ष र अधिकांश वडाध्यक्षका उम्मेदवारले पराजय भोगेका थिए । तर, ओली बलियो जनाधारकै कारण विजयी हुन सफल भइन् ।

 

भविष्यको योजना 


स्थानीय न्यायिक समितिले विभिन्न उजुरीलाई मेलमिलापको माध्यमबाट समाधान गर्ने प्रक्रिया र सफलतालाई मूल्यांकन गरी यूएनडीपीले नवदुर्गा गाउँपालिकाको न्यायिक समितिलाई उत्कृष्ट चयन गरेको उनले सुनाइन् । 

 

‘ग्रामीण क्षेत्रमा महिलाले घरेलु हिंसा भोगिरहनुपरेको छ । मदिरा सेवन गर्ने प्रवृत्तिका कारण समाजमा विभिन्न आपराधिक क्रियाकलाप बढिरहेका छन्,’ उनले भनिन्, ‘चालू आर्थिक वर्ष २०७७/७८ बाट नवदुर्गा गाँउपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।’ 

 

मदिरा निषेधित क्षेत्र घोषणापछि विगतजस्तो दिनहुँ महिला घरेलु हिंसाको मुद्दा लिएर न्यायिक समितिमा आउने क्रम केही कमी देखिएको उनी बताउँछिन् । न्यायिक समितिको नेतृत्व गरिरहेकाले १ जना कर्मचारी राखेर समितिका क्रियाकलापलाई व्यवस्थित बनाउने प्रयास गरिरहेको ओलीले सुनाइन् ।

 

‘न्यायिक समितिमा मुद्दा पर्नेबित्तिकै विभिन्न क्षेत्रबाट दबाब आउने गर्छन् । तर, वास्तविक पीडितले न्यायको अनुभूति गर्न पाउनुपर्छ भन्ने मान्यताका साथ काम गर्छु । न्यायिक समितिमा आउने अधिकांश मुद्दा समयमै फस्र्योट गर्ने गरेकी छु,’ उनले भनिन् ।

 

सामाजिक कार्यमा सक्रिय भएकैले पार्टीले गाउँपालिकाको उपाध्यक्षको जिम्मेवारी दिएको उनी ठान्छिन् । आगामी दिनमा पनि राजनीतिसँगै समाज सेवामा लागिरहने उनको योजना छ ।