close

रघुगंगामा पहिलो पटक पुगे डाक्टर 

रघुगंगामा पहिलो पटक पुगे डाक्टर 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिकामा गाउँमै बसेर नियमित सेवा दिने गरी पहिलो पटक डाक्टर पुगेका छन् । पिप्लेमा स्थापना गरिएको कोरोना अस्पतालमा गाउँपालिकामै पहिलो पटक डाक्टर पुगेका हुन् ।

 

डा. सन्तोषकुमार बोहरालाई गाउँपालिकाले हालै कोरोना अस्पतालको चिकित्सकको रूपमा नियुक्त गरेको थियो । गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक टीकाबहादुर शाहीले गाउँमै बसेर सेवा दिने गरी पालिकामै पहिलो पटक चिकित्सक आएको बताए । पहिलो पटक गाउँपालिकामा डाक्टर आएकामा स्थानीय खुसी छन् ।

 

गाउँपालिकाले पिप्ले स्वास्थ्य चौकीको भवनमा स्थापना गरेको अस्थायी कोरोना अस्पतालमा १ चिकित्सक, २ नर्स र १ जना कार्यालय सहयोगी नियुक्त गरेको छ । कोरोनाका बिरामी नभएकाले चिकित्सक र नर्सलाई परिचालन गरेर स्वास्थ्य शिक्षा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको संयोजक शाहीले जानकारी दिए । 

 

विद्यालय र समुदायमा पुगेर कोरोना भाइरस, नसर्ने रोग र प्राथमिक उपचार विधिको विषयमा सन्देशमूलक कार्यक्रम सञ्चालन गरिएको छ । बेग, भगवति र पिप्लेका ४ वटा माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको छ । 

 

सबै वडामा चिकित्सकको उपस्थितिमा स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधी वितरण सेवासहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी छ । वडाका जनप्रतिनिधि, युवा क्लब, आमा समूहसँग सहकार्य गरेर शिविर र जनचेतनामूलक कार्यक्रम गर्न लागिएको हो । 


कोरोना अस्पताल सञ्चालन गर्न यसअघि मालिका, धवलागिरि र अन्नपूर्ण गाउँपालिकाले डाक्टर नियुक्त गरेका थिए । मंगलाले स्टाफ नर्स नियुक्त गरे पनि डाक्टर पाएको छैन । कोरोना अस्पताल स्थापना र सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै पालिकालाई १० लाख रुपैयाँ बजेट पठाएको थियो । 

 

आवश्यक मेडिकल बेड, बिस्तारा, अक्सिजनलगायत औजार र औषधीको समेत व्यवस्था गरिएको छ । ४ लाख ५० हजार तलब, ५० हजार औषधी र ५ लाख रुपैयाँको बेडसहितका सामग्री किन्न शीर्षकै तोकेर बजेट पठाइएको हो ।

 

यसैगरी रघुगंगाले बेनी अस्पताल परिसरमा नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले सञ्चालन गरेको रक्तसञ्चार गृहमा पालिकाबासीलाई निःशुल्क रक्त परीक्षणको व्यवस्था मिलाएको छ । 

 

रघुगंगाले रगत परीक्षण गर्दा लाग्ने शुल्क पालिकाले भुक्तानी गरिदिने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । यसका लागि रेडक्रस सोसाइटीलाई पालिकाले १ लाख रुपैयाँ उपलब्ध गराएको छ । 

 

यसैगरी रक्तअल्पताको समस्या कम गर्न म्याग्दीका सबै स्थानीय तहमा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत १० देखि १९ वर्ष उमेर किशोरीलाई आइरन फोलिक एसिड चक्की खुवाउने अभियान चलिरहेको छ ।