close

सिरिजंघामा किसान लक्षित वडैपिच्छे कार्यक्रम 

सिरिजंघामा किसान लक्षित वडैपिच्छे कार्यक्रम 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले वडैपिच्छे फरक-फरक प्रकृतिका किसान तथा पशुपालन लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

 

वडा नम्बर ७ खेवाङ र वडा नम्बर ८ याम्फुदिनका किसान तथा पशुपालकका लागि चौँरीपालन र प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले वडा नम्बर ३ सिकैचा र वडा नम्बर ६ मामाङ्खेमा बाख्रापालन कार्यक्रममार्फत किसानलाई अनुदान दिन लागेको हो ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले माटो र हावापानी सुहाउँदो खेती तथा पशुपालनका लागि वडागत रूपमा फरक-फरक प्रकृतिका कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको बताए ।

 

खेवाङ र याम्फुदिन चौँरीपालनका लागि ताप्लेजुङमै प्रसिद्ध छन् । अधिकांश क्षेत्र हिमाली भू-भागमा पर्ने भएकाले याम्फुदिन र खेवाङमा याक तथा चौँरीपालन हुँदै आएको छ ।

 

यस्तै डाले घाँसको प्रशस्त सम्भावना र घरपालुवा जनावरको मुख्य आहारा पाइने क्षेत्रको रूपमा रहेको सिकैचा र मामाङ्खेमा गाउँपालिकाले बाख्रापालन कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । 

 

गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ४ तेल्लोक, वडा नम्बर ५ पेदाङ, वडा नम्बर २ आम्बेगुदिन र वडा नम्बर १ सिनाममा धान तथा मकै बाली उत्पादन गर्ने किसानलाई सघाउ पुर्‍याउन पालिकाले यी बालीमा साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) मार्फत अनुदान कार्यक्रम अघि सारेको थियो । 

 

२ वटा पकेट कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको गाउँपालिकाले सिकैचा र मामाङ्खेका लागि प्रतिपकेट ७ लाख गरी १४ लाख रुपैयाँ अनुदान दिन लागेको जनाएको छ । यस्तो अनुदान लिन इच्छुक कृषक समूह, समिति, सहकारी संस्था र कृषि फर्मले ४ फागुन २०७७ भित्र गाउँ कार्यपालिकामा आवेदन दिनुपर्नेछ ।