close

धारापानीमा बन्यो स्वास्थ्य चौकी 

धारापानीमा बन्यो स्वास्थ्य चौकी 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ७ धारापानीमा स्वास्थ्य चौकी स्थापना भएपछि स्थानीयमा खुसीयाली छाएको छ । 

 

साबिक ताकम गाविसको वडा नम्बर १ र २ नम्बर वडामा पर्ने धारापानीका बासिन्दालाई ताकममा रहेको वडास्तरीय स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक परेपछि नयाँ चौकी स्थापना भएको हो ।

 
धारापानीका किरन थापाले गाउँपालिकाले स्वास्थ्य चौकी स्थापना गरेपछि स्थानीयको स्वास्थ्य सेवामा सहज पुहँच पुगेको बताए ।

 

‘यसअघि सामान्य बिरामी हुँदा पनि करिब १ घन्टा हिँडेर ताकम अथवा दरवाङ पुग्नुपथ्र्यो,’ उनले भने, ‘स्वास्थ्य चौकी स्थापनापछि आधारभूत स्वास्थ्य सेवामा पहुँच पुगेको छ ।’

 

धारापानीमा गत साउनमा सुरु भएको सामुदायिक स्वास्थ्य इकाइलाई २०७७ पुस दोस्रो साता भएको विशेष गाउँसभाको निर्णयअनुसार स्वास्थ्य चौकीमा स्तरोन्नति गरिएको हो । 

 

सो गाउँसभाले ताकममा ५ शय्या क्षमताको अस्पताल बनाउने र धारापानीमा स्वास्थ्य चौकी सञ्चालन गर्ने निर्णय भएको थियो । 

 

किसानी माविमा एकीकरण भएको तत्कालीन धौलागिरि आधारभूत विद्यालयको भवनमा स्वास्थ्य चौकी स्थापना भएको हो । ३ मध्ये २ वटा कोठा स्वास्थ्य चौकीका लागि प्रयोग गरिएको छ । 

 

पुरानो भवन मर्मत गरिएको छ । स्वास्थ्य चौकीबाट धारापानीका ३ सय ५० घरधुरी लाभान्वित भएका छन् । १ जना अहेब र १ जना अनमीको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।

 

‘सेवाग्राहीको चाप र सेवाको प्रभावकारिता हेरेर थप जनशक्ति र पूर्वाधार व्यवस्थापन गर्छौं’, उनले भने, ‘गाउँसभाले गरेको निर्णय एक महिनामै कार्यान्वयन भएको छ ।’

 

स्वास्थ्य चौकीबाट स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधी वितरणका साथै स्वास्थ्य शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।

 

ताकममा अस्पताल भवन बनाउन यो वर्ष विनियोजित ७० लाख रुपैयाँ बजेटको पनि ठेक्का प्रक्रिया सुरु भएको छ ।