close

मर्यादपुर नाकाः नेपालले खोल्यो, भारतले मानेन

मर्यादपुर नाकाः नेपालले खोल्यो, भारतले मानेन

Trulli
ADVERTISEMENT

रूपन्देही– कोरोना महामारीका बेला गरिएको बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाए भने व्यापारसमेत गर्न पाएनन् । लामो समयदेखि सीमानाका बन्द हुँदा सीमा क्षेत्रका व्यापारीले सीमानाका खोल्नुपर्ने माग गरिरहेका छन् ।


कोरोना कहरले व्यापार, व्यवसाय चौपट बनेपछि भारतसँग सीमा जोडिएको कपिलवस्तुको मर्यादपुरका व्यापारी र भारतीय सीमाका व्यापारीले नाका खोलाउन माग गरेका छन् । सीमानाका नखुल्दा पलायन हुनुपरेको स्थानीय व्यापारी राजमन मिश्रले बताए ।

 

‘लामो समयसम्म मर्यादपुरमा रहेको व्यापार, व्यवसाय कोरोना कहरले ठप्प भएपछि सो ठाउँबाट सरेर हाल तौलिहवामा सारेको छु’, उनले भने, ‘नाका बन्द हुँदा व्यापार चौपट भयो ।’

 

मर्यादपुर बजारको व्यापार कोरोनाअघि राम्रो चलेको थियो । सीमावर्ती बजार भएकाले भारतको सिद्धार्थनगर जिल्लाका ग्राहक नेपाली सामान किन्न आउने गरेका थिए । तर अहिले सीमानाका बन्द भएपछि व्यापार नभएपछि व्यवसायी संकटमा परेका छन् ।


गत चैतदेखि सीमानाका बन्द भएसँगै भारतीय ग्राहकमा निर्भर रहेको मर्यादपुर बजार पूर्ण रूपमा बन्द रहेको यशोधरा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष चन्द्रप्रकाश दुवेले बताए । उनले भने, ‘नेपाली सामग्री किन्न भारतको गोरखपुरबाट समेत ग्राहक आउने गरेका थिए । तर, कोरोनाको महामारीले नाका बन्द भएपछि ग्राहक आउन सकेका छैनन् ।’


नाका बन्द भएपछि मर्यादपुरमा ११ भन्दा बढी व्यापारीको व्यवसाय चौपट भएको छ । चैतदेखि नै पसल बन्द गरेर घरमा बस्नुपरेको होटल व्यापारी बालेदिन गुप्ताको गुनासो छ । उनले भने, ‘तयारी कपडा किन्न भारतीय ग्राहक आउँथे । खासगरी हिउँदको समय धेरै ग्राहक आउने गर्दथे तर अहिले नाकाबन्दले कोही आएका छैनन् ।’


अहिले सीमानाका बन्द भएपछि व्यवसाय पूरै खस्किएको छ । सीमानाका खुला भएको समय नेपाली भारतीय बजारमा जाने र भारतीय नेपाली बजारमा आउने गरेका छन् । तर, नाका बन्द भएपछि दुवैतिरको व्यापार व्यवसाय ठप्प छ ।


भारतीय व्यापारीको मुख्य बजार नेपालको क्षेत्र भएकाले खुनुवा बजारसमेत सुनसान बनेको भारतीय सञ्चारकर्मी अनिल श्रीवास्तवले बताए । उनले भने, ‘सीमावर्ती दुवै देशका व्यापारीलाई निकै समस्या छ । सीमानाका बन्द हुँदा व्यापार व्यवसाय चौपट भएको छ ।’


सीमानाका खोल्नुपर्ने माग गर्दै भारतीय व्यापारीले आन्दोलनसमेत गर्दै आएका छन् । केही दिनअघि उनीहरूले सीमा पुलमै धर्ना दिएर आन्दोलन गरेका थिए । मर्यादपुर नाका खोल्ने निर्णय नेपाल सरकारले गरे पनि भारतीय पक्षले सहमति जनाएको छैन ।


नेपाल सरकारले नाका खोलेको भए पनि भारतीय पक्ष भने नाका खोल्न सहमत नरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । उनले भने, ‘नाका खोल्ने विषयमा हामीले नेपाल सरकारको निर्णयसहित जानकारी गराइसकेका छौँ । नेपालले नाका खुला गरे पनि यसमा भारतीय पक्ष सहमत छैन ।’


लामो समयदेखि नाका बन्द हुँदा सीमावर्ती बजारका व्यापारी व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको बताउँछन् । यसअघि मर्यादपुर नाकामा अत्यावश्यक काम परेकाका लागि खेतबाटो हँुदै आउजाउ गर्न दिइएको थियो । अब भने नियमित रूपमा सञ्चालनमा आउने सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट मर्यादपुरका इन्चार्ज शंकरसिंह शिखले जानकारी दिए ।


कोरोनाको जोखिमबाट जोगिन स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाई सीमानाकामा आउजाउ गर्न दिइनेछ । भारत सरकार यसअघि पनि नाका खोल्न सहमत नदेखिएकाले नाका खुल्ने÷नखुल्ने टुंगो कहिले लाग्छ, यसै भन्न नसकिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

 

उनले भने, ‘नेपाल सरकारले गरेको निर्णयसहित भारतीय पक्षलाई पत्राचार गर्छौं । भारतले सहमति जनाएको दिनदेखि नाका नियमित सञ्चालनमा आउनेछ ।’ नाका पुनः सञ्चालनमा आएपछि सीमावर्ती बजारको व्यापारले गति लिने तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी बताउँछन् ।

 

उनले भने, ‘सीमा बन्द हुँदा खस्किएको व्यापार व्यवसाय नाका खोलेपछि सहज हुने विश्वासमा छौँ ।’ कोरोना महामारीका कारण ठप्प रहेको जिल्लाभित्रको व्यापार, व्यवसाय पछिल्लो समय चहलपहल विस्तारै बढ्दो छ । पछिल्ला केही महिनादेखि बन्दाबन्दी खुकुलो गर्दै व्यापार, व्यवसाय, यातायात खोल्ने सरकारको निर्णयपछि भने यहाँको बजार गुल्जार हुन थालेको हो ।

 

‘कोरोना कहरले घाटा बेहोरेका यहाँका व्यापारीको व्यापारिक कारोबार बल्ल ठीक ठाउँमा आउँदै छ’, उद्योग संघका अध्यक्ष कुर्मीले भने, ‘व्यापार, व्यवसायले पनि गति लिँदै गएको छ । हाल बजार क्षेत्रमा पनि किनमेल गर्नेको भीडभाड विस्तारै बढ्दै गएको छ ।’

 

सीमानाका सञ्चालनका बेला दुवै देशका नागरिक वारिपारि सामग्री किनमेल गर्न जाने गरेको यशोधरा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष चन्द्र प्रकाश दुवेले बताए ।