close

सुकुम्बासीलाई लालपुर्जा वितरण प्रक्रिया अघि वढाउन अर्थमन्त्रीको निर्देशन

सुकुम्बासीलाई लालपुर्जा वितरण प्रक्रिया अघि वढाउन अर्थमन्त्रीको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन भूमिसम्बन्धी समस्या समाधान आयोगलाई निर्देशन दिएका छन् ।

 

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले भूमिहीनलाई जग्गाधनीपुर्जा उपलब्ध गराउने कार्य सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै वास्तविक भूमिहीनको लागत संकलन गर्ने कार्य सम्पन्न गर्दै मापदण्डभित्र परेकालाई जग्गाधनीपुर्जा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

 

‘स्रोत र जनशक्ति अभाव हुन दिने छैनौँ’, अर्थमन्त्री पौडेलले भने, ‘काम र परिणाम पनि त्यहीअनुसार आउने गरी काम गर्नुस् ।’ आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले स्थानीय तहसँग पनि सहकार्य र समन्वय गर्दै काम गरेको जानकारी दिए । आयोगका पदाधिकारीले अहिलेसम्म गरेको कार्यप्रगति र भावी लक्ष्य अर्थमन्त्री पौडेलसमक्ष प्रस्तुत गरेका थिए ।

 

आयोगका अनुसार ७४ जिल्लाका ४ सय १ स्थानीय तहसँग भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र व्यवस्थित बसोबासी व्यवस्थापन कार्यका लागि समझदारी भइसकेको छ भने १४ वटा स्थानीय तहमा लगत संकलन कार्य जारी छ ।

 

२०७७ फागुनसम्म ७ सय ५३ स्थानीय तहसँग समझदारी गरी १ सय स्थानीय तहको लगत संकलन कार्य सम्पन्न गरी कम्तीमा ५ लाख परिवारको विवरण संकलन गरिनेछ । यस्तै, २०७८ असारसम्म १ सय स्थानीय तहको नापजाँच कार्य सम्पन्न गरी कम्तीमा ५० हजारलाई जग्गाधनीपुर्जा वितरण गरिनेछ ।