close

नागरिक एपबाटै सामाजिक सुरक्षा कोषको सेवा

नागरिक एपबाटै सामाजिक सुरक्षा कोषको सेवा

Trulli
ADVERTISEMENT

काठमाडौं- सामाजिक सुरक्षा कोषले नागरिक एपमार्फत सेवा दिने भएको छ । सरकारले नागरिक एपमार्फत सेवा दिन थालेसँगै कोषले पनि एपमार्फत सेवा दिन थालेको हो ।

 

कोषको सेवालाई सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले नागरिक एप सञ्चालनमा ल्याइएको हो । ‘लाइन होइन, अनलाइनबाट २४ सै घन्टा सरल, सहज र प्रभावकारी सरकारी सेवाका लागि नागरिक एप’ नारासहित सरकारले प्रविधिको अधिकतम प्रयोग गरेर आम नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउन ११ माघदेखि नागरिक एप सार्वजनिक गरेको थियो ।


सो एपमार्फत मोबाइलबाटै सेवा दिन सकिने भएकाले एपको प्रयोगबाट समयको वचत हुने र सार्वजनिक बिदाको दिनमा पनि सेवा लिन सकिनेछ । कोषमा जम्मा भएको योगदान रकमलगायतका सबै विवरणको जानकारी लिन सबै योगदानकर्तालाई एप डाउनलोड गर्न कोषले आग्रह गरेको छ ।

 

कोषका अनुसार अहिलेसम्म १३ हजार १ सय ६६ रोजगारदातामार्फत १ लाख ८७ हजार ८ सय ५ श्रमिक कोषमा आबद्ध भइसकेका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रको पछिल्लो तथ्यांकअनुसार भने कोषमा आबद्ध भएका ४ सय ८१ जनाले सेवा लिन थालेका छन् ।


सरकारले प्रभाव गर्ने सेवालाई डिजिटलाइज्ड गरी एकीकृत प्लेटर्फममार्फत सेवा प्रवाह गर्ने लक्ष्यका साथ मोबाइलबाट हातहातमै नागरिक एपमार्फत सेवा प्राप्त गर्न सकिने व्यवस्था मिलाएको कोषले जनाएको छ ।


राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार अहिलेसम्म ४ लाख १८ हजार ८ सय ७० प्रयोगकर्ताले नागरिक एप डाउनलोड गरिसकेका छन् । यसमध्ये १ लाख २३ हजार ९ सय ५५ प्रयोगकर्ताले एप चलाउन थालिसकेका छन् भने २ लाख ९४ हजार ९ सय १५ प्रयोगकर्ताको प्रमाणीकरण हुन बाँकी छ ।


प्रयोगकर्तामध्ये सबैभन्दा बढी ९१ हजार १ सय ७२ जनाले नागरिकता अद्यावधिक गरिसकेका छन् भने ६० हजार ३ सय ९० ले प्यान नम्बर, ४६ हजार ९ सय २३ ले राहदानी, ४३ हजार ९ सय ६२ ले मतदाता परिचयपत्र अद्यावधिक गरिसकेको केन्द्रका सूचना अधिकारीसमेत रहेका सहायक निर्देशक रमेश पोखरेलले बताए ।


उनका अनुसार एसएलसी उत्तीर्ण २८ हजार ५ सय ३५, प्लस टु उत्तीर्ण प्रयोगकर्ता १५ हजार ७ सय ४२, सञ्चय कोषका प्रयोगकर्ता ६ हजार ३ सय ४, लोकसेवा आयोगका प्रयोगकर्ता १ सय १४ र नागरिक लगानी कोषका ५९ जना प्रयोगकर्ता एपमा आबद्ध भएका छन् ।

 

४ हजार १ सय १८ जना प्रयोगकर्ताले हेलो सरसरकार तथा अन्य गुनासो पनि गरेको केन्द्रले जनाएको छ ।