close

मकैको खोसेलाबाट घरायसी सामग्री बनाउन सिक्दै हलेसीका महिला

मकैको खोसेलाबाट घरायसी सामग्री बनाउन सिक्दै हलेसीका महिला

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गर्दै आम्दानी लिने लक्ष्यका साथ १ महिने तालिम सुरु गरेको छ ।


स्थानीय महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ अन्तर्गत खोस्टाबाट जुत्ता, चप्पल, लेडिज ह्यान्ड ब्याग, पिरा, ह्याट, पूजा सामग्री राख्ने ढाकीलगायत वस्तु उत्पादन गर्ने तालिम दिन सुरु गरेको हो । 


मकै खोसलेपछि गाईवस्तुलाई खुवाउन उपयोग भइरहेको खोस्टाबाट आकर्षक र उपयोगी सामग्री उत्पादन गरेर बिक्री गरेर आम्दानीको दिगो स्रोत बनाउन हलेसी तुवाचुङको वडा नम्बर ३ च्यास्मीटारमा आयोजना गरिएको तालिमको नगर प्रमुख इवन राईले उद्घाटन गरे ।


लघु उद्यमसम्बन्धी ८ दिनको तालिम दिएपछि उनीहरूलाई पुनः खोसेलाको सामग्री बनाउने सीप विकास तालिम दिन सुरु गरिएको हो । मकैको खोसेलाको सामग्री निर्माणका लागि काठमाडौंबाट ३ जना प्रशिक्षक ल्याइएको नगरपालिकाले जनाएको छ ।


दोस्रो चरणमा नगरपालिकाको वडा नम्बर ७ महादेवस्थानमा मकैको खोसेलाबाट सामग्री निर्माण गर्ने तालिम सञ्चालन गर्ने तयारी थालिएको नगरप्रमुख राईले बताए । 


त्रि-धार्मिक स्थल हलेसी आउने पर्यटक तथा दर्शनार्थीले हलेसीको चिनोका रूपमा खोस्टाको आकर्षक सामग्री खरिद गरेर लैजाने वातावरण बनाउने लक्ष्यका साथ महिलालाई तालिम दिन सुरु गरिएको हो । 


खेर गइरहेका खोस्टाबाट घरायसी सामग्री उत्पादन गर्दै साना उद्यमका रूपमा विकास गर्ने र स्थानीयको गरिबी निवारणमा टेवा पुर्‍याउने उद्देश्यले नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार खोसेलाको सामग्री उत्पादनसम्बन्धी लघु उद्यम विकास कार्यक्रम ल्याएको हो ।


नगरपालिकाका अनुसार तालिममा सहभागीले व्यक्तिगत वा सामूहिक रूपमा खोस्टाको सामग्री उत्पादन गर्नेछन् । खोस्टाबाट निर्माण गरिएका सामग्री छिमेकी चीनसम्म निर्यात गर्ने महत्त्वाकांक्षी लक्ष्य राखिएको छ । 


खोस्टाबाट उत्पादित सामग्रीको मूल्य नगरपालिकाले निर्धारण गरेर बजारीकरणमा सहयोग गर्नेछ । नगरपालिकाका सबै वडामा मकै खेती लगाइन्छ । कतिपयले पिरा, ढाकीजस्ता सामग्री बनाएर प्रयोग गर्ने गरेबाहेक मकैको खोसेला गाईवस्तुलाई खुवाउन मात्र प्रयोग हुँदै आएको छ ।


तर, खोस्टाबाट जुत्ता, चप्पल, झोला, ढाकी, पिराजस्ता सामग्री उत्पादन गर्न सके उद्यम विकासमा टेवा पुग्ने हलेसी तुवाचुङकी उपप्रमुख विमला राई बताउँछिन् ।


‘महिलालाई स्वरोजगार बनाउन थरीथरीका तालिम दिइयो । अहिले पनि विभिन्न खाले व्यावसायिक तालिम दिने गरिएको छ । तर, कसैलाई पनि दिगो र व्यावसायिक बनाउन सकिएन,’ उपप्रमुख राईले भनिन् ।


खोसेलाबाट सामग्री बनाउँदा कच्चा पदार्थको चिन्ता नहुने र सबैका घरमा मकैको खोस्टा पाइने हुँदा विकल्पका रूपमा यसलाई प्रयोग गरिएको उपप्रमुख राईको भनाइ छ ।