close

तुवाचुङका डाँडाभरि पर्यटकको ओइरो (भिडियाे खबर)

तुवाचुङका डाँडाभरि पर्यटकको ओइरो (भिडियाे खबर)

ADVERTISEMENT

खोटाङ- खोटाङको ऐतिहासिक तथा पर्यटकीय स्थल तुवाचुङ-जायजुमडाँडा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ महादेवस्थानमा रहेको तुवाचुङ-जायजुममा पछिल्लो समय स्वदेश तथा विदेशका पर्यटकको भीड लाग्न थालेको हो ।

 

किरात राईको उद्गमथलो मानिने तुवाचुङ-जायजुमडाँडामा विशेषगरी स्वदेश तथा विदेशका राई समुदाय बढी पुग्ने गरेका छन् । 

 

आफ्नो पुर्खा दिदी तायमा, बहिनी खियामा र भाइ रैछाकुलेले बसोबास गरेको, तान बुनेर कपडा लगाउने परम्परा बसाएको, खेतीपाती सुरु गरेकोलगायतका किंवदन्तीका आधारमा राई समुदायले खोटाङको तुवाचुङ-जायजुमलाई श्रद्धाको थलोका रूपमा लिने गरेका छन् । उभौली, उधौलीलगायत चाडवाडको समय नेपालसहित दार्जिलिङ, सिक्किम र भुटानसम्मका राई समुदाय तुवाचुङ-जायजुममा आउने गरेको स्थानीय मौलसरी राईले बताइन् ।

 

मध्यपहाडी लोकमार्गभन्दा केही माथि छ, तुवाचुङ-जायजुम । हलेसीबाट दिक्तेल यात्रा गर्ने क्रममा जोकोहीले तुवाचुङ-जायजुमडाँडालाई देख्न सक्छन् । सरासर हिँड्दा पनि करिब ५ देखि १० मिनेटमा डाँडा पार गर्न सकिन्छ । २०६३ अघिसम्म मलाथुम्की भनेर चिनिने तुवाचुङ-जायजुमको संरक्षण, संवर्द्धन र प्रचार-प्रसार सुरु भएपछि ऐतिहासिकताको आधारमा नाम परिवर्तन गरिएको हो ।

 

साथै, पर्यटन प्रवृद्धन गर्ने काम गरिँदै आएको छ । हाल तुवाचुङ-जायजुम प्राकृतिक, ऐतिहासिक अध्ययन, अवलोकन, पिकनिकलगायतका लागि प्रमुख गन्तव्य स्थलका रूपमा विकास भएको तुवाचुङ  जायमु संरक्षण समितिका अध्यक्ष राकेश राईले जानकारी दिए ।


किराती लोकोक्तिअनुसार तायामा, खियामा र रैछाकुलेले किरात राई सभ्यताको सुरुआत गरेको मानिन्छ । तुवाचुङ-जायजुममा तायामा र खियामाले ढुंगामाथि बसेर खाँडीको कपडा बुन्ने गरेको ठाउँलाई अहिले पनि तान बुन्ने ढुंगाले चिनिन्छ ।

 

ऐतिहासिक थलोको पर्यटन प्रवद्र्धनका लागि संरक्षण समिति र सरोकारवालासँग सहकार्य गरेर नगरपालिका अघि बढिरहेको हलेसी तुवाचुङ नगरप्रमुख इवन राईले जानकारी दिए ।


खुला चौर रहेको तुवाचुङ-जायजुममा गैर-किँरातकोे समेत बाक्लो उपस्थिति हुने गरेको छ । हालसम्म ६५ रोपनी जग्गा खरिद गरेर तुवाचुङ-जायजुमको नाममा ल्याउने, तायमा र खियामाले तान बुन्ने ढुंगा र रैछाकुले थानलाई ढुंगाको पर्खालले घेराबारा गर्ने, तुवाचुङ-जायजुम पुग्ने सडक निर्माण, धनुषवाण हान्न खोजिरहेको रैछाकुलेको प्रतिमा, कपाल मिलाउँदै गरेको दिदीबहिनी तायमा र खियामाको प्रतिमा स्थापनालगायतका संरचना निर्माण गरिएको छ ।